निर्वाचनको तयारीमा आयोग

काठमाडौं, ३० चैत । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी आर्थिक वर्षको चैत मसान्ससम्म एक दुईवटा निर्वाचन गर्नुपर्ने बाध्यता आएको बताएका छन् ।

उनले आयोग अब निर्वाचनको तयारीमा उत्रिसकेको जानकारी दिएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा उप्रेतिले निर्वाचनको पूर्वाधार मतदाता भएकाले उनीहरूले निर्भिकरुपमा निष्पक्ष र स्वतन्त्र ढङ्गले मतदान गर्ने अधिकार सुनिश्चित गर्न आयोग लागि परेको बताए ।

उनले आगामी निर्वाचन अत्याधुनिक प्रविधि युक्त बनाई ७५ जिल्लाको दर्गम गाउँसम्म पुर्‍याई निष्पक्ष र समयमै परिणाम पाउनका लागि देशव्यापी विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तयारीमा आयोग लागिपरेको जानकारी दिए ।

यसैवीच, निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको पहिलो चरणमा एक करोड दुईलाख ३१ हजार नागरिकको नामावली दर्ता भएको जनाएको छ ।

मतदाता नामावली संकलनमा धेरै महिला रहेको जानकारी दिईएको छ । जस अनुसार ५३ प्रतिशत महिला र पुरुष ४३ प्रतिशतको मतदाता नामावली सङ्कलन     भएको आयोगले जनाएको छ ।

कुल दुई करोड ६६ लाख जनसङ्ख्याको सरदर ५५ प्रतिशत मतदाता रहेको निर्वाचन आयोगको आँकलन छ । अझै ३० देखि ३५ लाख नागरिक विभिन्न कारणबाट मतदाता दर्ता गराउन चुकेका छन् ।

मतदाता नामावली दर्ता गर्न छुटेका नागरिकका लागि ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा निरन्तर दर्ता चालु रहेको तथा अहिले बाँके जिल्लाबाहेक ७४ जिल्लामा रुजु कार्य समाप्त भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै निर्वाचन आयोगले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०६९ वैशाख ३ गतेदेखि ७५ वटै जिल्लाका गाविस र नगरपालिकाका वडामा छुटेका दर्ता गर्ने, दर्ता भएको विवरणमा त्रुटी सच्याउने, दावी विरोध गर्ने अवसर दिने  तथा सच्याउने लगायतका सबै काम असार मसान्तसम्म सक्ने आयोगको तयारी छ ।

प्रतिक्रिया