चेन्नाईको दोस्रो हार

दिल्ली : पछिल्ला दुई संस्करणको विजेता चेन्नाई सुपर किङसले पाँचौं इन्डियन पि्रमियर लिग -आइपिएल) क्रिकेट प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । मंगलबार राति आफ्नो तेस्रो खेलमा दिल्ली डेयरडेभिल्सविरुद्ध उत्रिएको चेन्नाई आठ विकेटले पराजित भएको हो ।
सहज जित हात पार्ने क्रममा दिल्लीले सानदार बलिङ तथा फिल्डिङ गरेको थियो । टस जिती पहिला ब्याटिङ गरेको चेन्नाईले दिल्लीको कसिलो बलिङ-फिल्डिङसामु १ सय १० रन मात्र जोड्न सक्यो । चेन्नाईका चार खेलाडी रनआउट भएका थिए । मोर्न मोर्केलले दुई तथा युसफ पठान र उमेश यादवले समान एक विकेट हात पारे । चेन्नाईका लागि ड्वायन ब्राभोले सर्वाधिक २२ रन जोडे । इनिङको पहिलो बलमै मुरली विजयलाई गुमाए पनि सम्हालिएको चेन्नाईले सुस्त गतिमा रन जोडेको थियो ।
उक्त लक्ष्य दिल्लीले १३.२ ओभरमा पूरा गरेको थियो । दिल्लीका लागि केभिन पिटरसनले नटआउट ४३ र महेला जयवर्द्धनेले नटआउट २० रन जोडे । तेस्रो विकेटका लागि जयवर्द्धनेसँग अविजित ६१ रनको साझेदारी गरेका पिटरसनले २६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यानद्वय वीरेन्द्र सहवागले ३३ र नमन ओझाले १४ रनको योगदान गरे । पहिलो विकेटका लागि ओझासँग ३२ रनको साझेदारी गरेका सहवागले २६ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । दिल्लीको तीन खेलमा यो दोस्रो जित हो । पहिलो खेलमा मुम्बईसँग पराजित चेन्नाईले डेक्कन चार्जर्सलाई मात्र हराउन सकेको छ ।

प्रतिक्रिया