अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईको पुत्ला दहन

काठमाडौँ, माओवादी लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाइएको विरोधमा बुधबार साँझ एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षले देशका विभिन्न क्षेत्रमा मसाल जुलुस निकालेको छ । उनीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला समेत जनाएका छन् । यसअघि बिहान उनीहरूले एक घन्टा चक्काजाम गरेका थिए । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रशासनले मसाल जुलुस प्रदर्शनमा रोक लगाउन निर्देशन दिएपछि बुधबार मसाल खोसिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहले बताए । मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र वैद्य पक्षका कार्यकर्ताबीच न्युरोड, भूगोल पार्क, केशरमहल आसपासका क्षेत्रमा झडपसमेत भएको थियो । झडपका क्रममा प्रहरीतर्फ पाँच र प्रदर्शनकारीतर्फ १२ गरी १७ जना घाइते भएका छन् ।
प्रहरी जवान गोविन्द मुखियाको टाउकामा गम्भीर चोट लागेको छ । घाइतेहरूको वीर अस्पतालमा उपचार गरिएको छ । हवल्दार मुखियालाई भने थप उपचारका लागि महाराजगन्जस्थित प्रहरी अस्पताल लगिएको छ । घाइतेमध्ये आठजनाको टाउको फुटेको अस्पतालले जानकारी दियो ।
प्रहरीले रोके पनि जुलुस रत्नपार्कबाट बागबजार हुँदै पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्न पुगेका एमाओवादी महासचिव रामबहाुदर थापाले पार्टीले गरेको निर्णय आत्मसमर्पणवादी भएको बताए । उनले राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाए ।
विशेष समितिले मंगलबार लडाकु रहेका शिविर र हतियारलगायतका सामग्री नेपाली सेनालाई जिम्मा लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया