शान्ति प्रक्रिया टुङ्गो लाग्ने अवस्थामा पुगेको छ

रुकुम, २९ चैत । एमालेका अध्यक्ष झलनाथ खनालले हिजो भएको चारबुँदे सहमतिले शान्ति प्रक्रियाले नयाँ मोड लिएको बताएका छन् ।

रुकुम जिल्लाका राजनीतिक दलका नेता, नागरिक समाज र महिला प्रतिनिधिसँग शान्ति र संविधानको विषयमा सुझाव सङ्कलन गर्न टेलिफोन वार्ता गर्दै अध्यक्ष खनालले यस्तो बताएका हुन् ।

माओवादी लडाकूको शिविर र हतियार सरकार मातहतमा ल्याउनुले संविधान निर्माणको बाटो फराकिलो बनेको बताउँदै उनले सेना समायोजनका प्राविधिक विषयमा पनि चाँडै राजनीतिक सहमति हुने विश्वास व्यक्त गरे ।

नयाँ संविधानले सबैलाई समेटेर लैजाने बताउँदै खनालले समाजमा व्याप्त विभेद अन्त्य गर्नेमा ढुक्क हुन आग्रहसमेत गरेको उनको निजी सचिवालयले जनाएको छ ।

कसैको निर्देशन र चाहानामा भन्दा पनि नेपाली जनताको चाहानाअनुसार आफूहरुले नयाँ संविधान निर्माण गर्ने दृढता पनि उनले व्यक्त गर्नुभयो ।

टेलिफोन वार्तामा सहभागी राजनीतिक दलका नेता, नागरिक अगुवा र महिला प्रतिनिधिले समयमै संविधान जारी गर्न सुझाव दिएका थिए । नेपालको सन्दर्भमा मेल खाने शासन प्रणाली र सङ्घीयता बनाउँदा उपयुक्त हुने सुझाव पनि उनीहरुले दिएका छन् ।

टेलिफोन वार्ताका क्रममा एकीकृत माओवादी रुकुमका सेक्रेटरी रामशुर बुढा विरत, कांग्रेस रुकुमका सभापति मानबहादुर नेपाली र एमाले रुकुमका अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले अध्यक्ष खनाललाई सबै दल मिलेर जान सुझाव दिएका थिए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी आशा बुढा, नागरिक अगुवा मीनबहादुर पुन र महिला प्रतिनिधि देवी ओलीले पनि महिला मैत्री संविधान बनाउन आग्रह गरेकी थिईन ।

प्रतिक्रिया