सहकारी लेखाप्रणाली पारदर्शी हुनुपर्छ

काठमाडौं, २८ चैत । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले बचत तथा ऋण सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन संस्थाको हिसाब-किताव र लेखाप्रणाली पारदर्शी बनाउनु पर्ने बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ -नेफस्कुन द्वारा राजधानीमा आयोजित बचत तथा ऋण सहकारी संस्था -साकोस) मा लेखा समितिको भूमिका विषयक गोष्ठीमा उनले सो कुरा बताएका हुन् । यसका निम्ति लेखासमितिले संस्थाका विभिन्न गतिविधिबारे जानकारी राख्नसके सहकारी दुर्घटनाबाट बच्न सकिने उनले बताए ।
सहकारी विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकालले बचत, ऋण सहकारीमा सुपरीवेक्षण समितिको भूमिका, आन्तरिक नियन्त्रण पद्धति र सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्दै सहकारी स्वनियमनमा चल्ने संस्था भएकाले बचत तथा ऋण सहकारीमा आन्तरिक नियन्त्रण पद्धति र सुशासन कायम गर्न सुपरीवेक्षण समितिको महत्त्वपूर्ण भूमिका रहने बताए ।
गोष्ठीमा विभिन्न जिल्लाका संघ/संस्थाका लेखासमिति संयोजक तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा नेफस्कुनका लेखा सुपरीवेक्षण समितिका संयोजक राजकुमार बरालले संस्थामा लेखा सुपरीवेक्षण समितिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव नेत्रप्रसाद न्यौपाने, निर्देशक विश्वमोहन आचार्य, नेपाल केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष गणेश बस्नेतले सहकारी संघ/संस्थालाई चुस्त गतिमा सञ्चालन तथा प्रभावकारी ढंगले सञ्चालन गर्न लेखाप्रणाली महत्त्वपूर्ण हुने धारणा राखे ।

६ सय सञ्चालनमा

बुटवलः रूपन्देहीमा ६ सय ३४ सहकारी संस्था सञ्चालनमा रहेका छन् । विभिन्न उद्देश्यले स्थापना भएका ती सहकारी संस्थाले चालु आव ०६८/६९  तीन अर्ब ५७ करोड सात लाख एक हजार रुपियाँ निक्षेप संकलन गरेका छन् ।
जिल्लामा रहेका सहकारीमा अहिलेको अवधिसम्म पाँच अर्ब २९ करोड ९१ लाख पाँच हजार ६ रुपियाँ लगानी गरी ७४ करोड सात लाख पाँच हजार आम्दानी गरेको डिभिजन सहकारी कार्यालय रूपन्देहीकी प्रमुख रमा आचार्यले बताइन् । ८२ हजार दुई सय ९२ पुरुष र ४१ हजार ९० महिला सदस्य संख्या रहेको रूपन्देहीमा ४६ करोड ४९ लाख ८७ हजार रुपियाँ सेयर पुँजी रहेको छ । जिल्ल्ाामा रहेका दुई सय ९२ बचत ऋण सहकारी संस्थाले दुई अर्ब २५ करोड १७ लाख ७३ हजार निक्षेप संकलन गरी तीन अर्ब १७ करोड ६६ लाख ९२ हजार रुपियाँ लगानी गरी १० करोड ५१ लाख ३६ हजार आम्दानी गरेका छन् ।
रूपन्देहीमा दुई सय ९२ बचत ऋण सहकारी संस्था, दुई सय ३४ बहुउद्देश्यीय सहकारी र ६८ दुग्ध सहकारी संस्था रहेका छन् । त्यसैगरी उपभोक्ता सहकारी आठ, विद्युत् सहकारी एक, यातायात सहकारी एक, छापाखाना सहकारी एक, कुखुरापालन सहकारी  एक, सूचना तथा सञ्चार सहकारी संस्था एक रहेका छन् । त्यस्तै स्वास्थ्य सहकारी संस्था दुई, मत्स्य उत्पादन सहकारी एक, औद्योगिक विकास एक, अन्य कृषि सहकारी २२ रहेका छन् भने जिल्ला सहकारी संघ एक र विषयगत संघ चार रहेका छन् । जिल्ल्ाामा रहेका सहकारीबाट नौ सय ८२ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया