भो राजनीति !

दस वर्षे ‘जनयुद्ध’ को नाममा धेरैको ‘भाग्य’ लेखिदिए प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईहरूले । सुर्खेत, दशरथपुरका धनसिंह बुढा ‘सन्जोक’ र जाजरकोट दहगाउँकी करिश्मा बुढा ‘अनिमा’ को ‘भाग्य’ पनि यिनै नेताले लेखेका हुन् । २०५२ साल फागुन १ बाट सुरु भएको माओवादी युद्धका लागि भन्दै सन्जोक २०६० साल वैशाख १० गते १८ वर्षको उमेरमा घर छाडेर हिँडेका थिए, बन्दुकेहरूको करबलमा । सुन्दर भविष्यको सपना देखेर अनिमा १६ वर्षको उमेरमा २०५९ फागुनमा युद्धमा लागेकी थिइन् । तर, उनलाई पनि थाहा थिएन- किन सञ्चालन भयो जनयुद्ध ? किन मारिन्छन् मान्छे ? जंगल पसेपछि मात्रै थाहा पाइन्- उम्कने उपाय छैन, अब जे छ, यसैबाट गर्नु छ ।
डकुमेन्ट्री ‘गुरिल्ला कपल’ले भाग्य रेखा किरिङमिरिङ भएका यस्तै छापामारको कथा भन्छ । यी दुई युवालाई मुख्य पात्र बनाइएकोे वृत्तचित्र मंगलबार काठमाडौंमा प्रदर्शनी गरियो । रामप्रसाद बन्जाडे निर्माता रहेको वृत्तचित्रको लेखन तथा निर्देशन गरे, पत्रकार नेत्र पन्थीले ।
प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्री बनाउने छापामार आफूचाहिँ कसरी कुनै वादका नाममा जीवनका इन्द्रधनुषी रंगहरूबाट भुइँमा पछारिए ? यसको वृत्तान्त वर्णन डकुमेन्ट्रीले मौलिक ढंगले गर्छ । ‘गुरिल्ला’ ले पार्टीको नारालाई आफ्ना पाखुरा दिए, आफ्नो मात्रै होइन, देशको भविष्य चम्काउने आशाले । विगतमा जुन ‘सपनाको संसार’ निर्माण गर्न उनीहरू लडे, अहिले त्यो एकरत्ति पनि प्राप्त भएको छैन । सोच्दा हुन्- हाम्रा पाखुराले नेताहरूको सपनालाई पो रंगीन बनाएछन्, आफ्ना सपनाचाहिँ रङ उडेर ब्ल्याक एन्ड ह्वाइट बनिसकेछन् ।’ वृत्तचित्रले यसै भन्छ, सन्जोक र अनिमाका भोगाइ सापटी लिएर ।
हातमा दुई लाख ५० हजारको चेक र सानी छोरीलाई काखी च्यापेर घर फर्केकी अनिमाको अबको सपना के होला ? भन्छिन्- ‘भो अब राजनीति गर्दिनँ ।’ विगतले उनलाई घाँटी थिच्न आउँछ हरपल । आफ्नै हातको कुचीले देशको रङ पोतिन् तर, आफ्नै जिन्दगीको ठेगान छैन ।
०००
फरकफरक परिवेश र क्षेत्रबाट युद्धमा जोडिएका अनिमा र सन्जोक एउटै मोर्चामा लड्छन् । थाहै नपाई प्रेमको टुसो पलाउँछ । र, ०६३ मा जनवादी विवाह गर्छन् । शान्तिप्रक्रियासँगै राजनीतिक सहमतिअनुसार अस्थायी शिविरमा आइपुग्छन् । त्यहीँ छोरी जन्माउँछन् । पाँच वर्षसम्म त्यहीँ बस्छन् । अब उनीहरूको भाग्य प्रचण्डको मात्र होइन, अरू दलका नेताका सनकका अगाडि पनि निरीह भएर रहेको छ । माओवादी सेनाको पुनर्वर्गीकरण गरिन्छ, सन्जोकले समायोजन र अनिमालेे स्वैच्छिक अवकाश रोज्छन् । विद्रोहमा लागेको १० वर्षपछि चेक लिएर श्रीमान्को घर फर्किन्छिन्, नयाँ जीवन सुरु गर्छु भन्छिन् । तर, कसरी सुरु गर्लिन् ? के छन् हँ, योजना ? अहँ ! केही पनि छैन । कागजको खाली क्यानभास छ र त्यहाँ छन् सपनाका रङ । मरिसकेका सपना । सन्जोक भने राष्ट्रिय सेना हुने अपेक्षामा छन् ।  डकुमेन्ट्रीको मुख्य कथा यत्ति हो ।
गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक र संविधानसभाका लागि छापामारको हात रह्यो, त्यो स्वविवेकप्रेरित थियो/थिएन अर्को कुरा । तर, छापामारको लक्ष्य पूरा नभएकोे निष्कर्ष वृत्तचित्रको छ । हिजो देखिएका सुन्दर सपना आज धूलिसात छन् । डकुमेन्ट्री छापामारले जीवनमा भोग्नुपर्ने दुःख र उकुसमुकुस लाग्ने घटनाको बकपत्र हो भन्दा अत्युक्ति नहोला । कुनै दिन आफ्नो हातमा परेको चेक आफैँले अभिभावक मानेकाहरूले ‘क्रूरता’पूर्वक थुत्लान् भन्ने सायदै सोचेका थिए गुरिल्लाहरूले । त्यसैले त उनीहरूसँग दुखेसा, गुनासा र सुस्केरा मात्रै छन् ।
माओवादी सशस्त्र विद्रोहका कैयौँ आयाममध्ये केही किताबमा लिपिबद्ध भएर सार्वजनिक भए तर लेखिन नपाएका आयाम डकुमेन्ट्रीमा कैद भएका छन् । अनि छन्, छापामारका सपना-जपना, उनीहरूका परिवारमा देखिएका डर, माओवादी नेता, गरिब-उपेक्षित, दलित-जनजाति, माओवादी सेनाबारे राजनीतिक दल र स्वयं माओवादीभित्रका विवाद । साथमा छन्, उनीहरूलाई नेताले देखाएका आश्वासन, जसको अपूर्णताले युद्धमोर्चामा छापामारले गरेको परिश्रमलाई नै गिज्याइरहेझैँ लाग्छ । डकुमेन्ट्रीको दृश्य-सम्पादन सुरेन्द्र दाहाल र छायांकन पशुपति बुढाथोकीले गरेका छन् । नेत्र पन्थीको सुन्दर स्त्रिmप्ट र निर्देशनले यी छापामारको प्रेम र शिविर-जीवनलाई जीवन्त ढंगले पर्दामा उतारेको छ । केही दृश्य र आवाज हुनुपर्नेजति ‘क्लियर’ नलाग्नुलाई डकुमेन्ट्रीको प्राविधिक कमजोरी मान्न सकिन्छ ।
दशक लामो द्वन्द्वमा होमिँदा सबै कुरा गुमाए गुरिल्लाहरूले । राजनीति र युद्धका साँघुरा, अँध्यारा र भिडभाडयुक्त गल्लीमा हराउँदा पनि अनिमा र सन्जोकसँग प्रश्न त ज्यूँका त्यूँ छन्- मानिसले आफ्नो भाग्य चयन गर्छ अथवा भाग्यले मानिसलाई चयन गर्छ ? क्रान्तिले बोकेको लक्ष्य अहिले कहाँ अलमलिएछ ? छापामारकै विषयमा पार्टीभित्र किन विवाद ? ज्यानको बाजी लगाएर युद्धको रापमा होमिएका  अनिमाहरूमा राजनीतिप्रतिको वितृष्णा किन ?

प्रतिक्रिया