घटेन निगमको घाटा

काठमाडौं, २७ चैत । नेपाल आयल निगमको मासिक घाटा एक अर्ब ५६ करोड पुगेको छ । भारतीय आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यअनुसार अपि्रल महिनामा निगमको घाटा बढेको हो ।
यसअघि निगमले गत १३ चैतमा पेट्रोलियमको मूल्यवृद्धि गरेपछि मासिक घाटा एक अर्ब दुई करोड ९९ लाख रुपियाँ रहेको जनाएको थियो । पछिल्लो महिना अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै भारतीय आयल कर्पोरेसनले समेत मूल्यवृद्धि गरेपछि घाटा बढेको हो । अहिले पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ६५ पैसा, मट्टीतेलमा प्रतिलिटर ६७ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १५ रुपियाँ ८८ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ रुपियाँ २२ पैसा नाफा रहेको निगमले जनाएको छ । तर, डिजलमा प्रतिलिटर १२ रुपियाँ ६३ पैसा घाटा रहेको उसको भनाइ छ ।
यस्तै, एल्पी ग्यसमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँ घाटा रहेको निगम प्रवक्ता मुकुन्द ढुंगेलले बताए । अघिल्लो महिना एल्पी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ६३ रुपियाँ घाटा रहेको थियो । गत १३ चैतमा भएको मूल्यवृद्धिको समयमा निगमले ग्यासमा मूल्य समायोजन गरेको थिएन । निगमका अनुसार भारतीय आयल कर्पोरेसनको नयाँ मूल्यसूचीअनुसार अहिले डिजेलमा ८२ करोड ११ लाख ८० हजार नौ सय ६३  र एल्पी ग्यासमा ९६ करोड २४ लाख २९ हजार चार सय २९ रुपियाँ कुल घाटा छ । गत फेब्रुअरीमा निगमलाई डिजलमा ६४ करोड ७९ लाख ११ हजार नौ सय २१ र ग्यासमा ५४ करोड ५१ लाख ३६ हजार पाँच सय ७१ रुपियाँ घाटा थियो ।
यस्तै, यो महिना पेट्रोलमा दुई करोड ८० लाख ४७ हजार सात रुपियाँ, मट्टीतेलमा चार करोड २० हजार नौ सय २५, आन्तररिक हवाई इन्धनमा चार करोड ७६ लाख ४४ हजार आठ सय २३ र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा १४ करोड ८५ लाख ४१ हजार नौ सय ७६ रुपियाँ कुल नाफा रहेको जनाएको छ ।
निगमले रक्सौलबाट खरिद गरेको मूल्यमा सरकारी राजस्व, मूल्य अभिवृद्धि कर, निगमको ऋण खर्च, ढुवानी भाडा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, डिलर कमिसन, डिलर खर्च आदि जोडेर नाफाघाटा देखाउने गरेको निगम प्रवक्ता मुकुन्द ढुंगेलले बताए । निगमको प्रशासनिक सुधार र प्राविधिक चुहावट नियन्त्रण हुन नसक्दा मासिक घाटा बढ्दै गएको छ ।
निगमका अनुसार अहिले १७ हजार किलो लिटर पेट्रोल, ६ हजार पाँच सय किलो लिटर डिजेल, ६ हजार किलो लिटर मट्टीतेल, तीन हजार किलो लिटर आन्तरिक हवाई इन्धन, सात हजार अन्तर्राष्ट्रिय हवाई इन्धन र १२ लाख सिलिन्डर एल्पी ग्यास मासिक खपत छ । तर, केही दिनदेखी एल्पी ग्यासको आयातमा कटौती भएकाले बजारमा ग्यास अभाव भने हटेको छैन । सरकारले उपभोक्तालाई सहुलियत दिन उपभोक्ता कार्ड वितरण गरी आपूर्तीसमेत सहज बनाउने बताए पनि अझैसम्म अभाव हटेको छैन ।

प्रतिक्रिया