प्याराग्लाइडिङ उडान अवैध

काठमाडौं, २७ चैत । पर्यटकीय नगरी पोखरामा निकै फस्टाएको हवाई खेल प्याराग्लाइडिङ मुलुकका अन्य भागमा पनि विस्तार हुन थालेको छ । तर, अनुमति नलिएका कैयौं पाइलटले अवैधरूपमा प्याराग्लाइडिङ गराउँदा सुरक्षा खतरा भने बढेको छ ।
विदेशी पर्यटकका लागि नेपालमा ठूलै आकर्षण मानिने प्याराग्लाइडिङको अनुगमन शून्य बराबर छ । यसको नियमन गर्ने मुख्य निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ५६ अमेरिकी डलर राजस्व लिएर १५ दिनको उडान अनुमति दिने गरेको छ । तर, प्रभावकारी अनुगमन नहुँदा विनाअनुमति प्याराग्लाइडिङ गराउने क्रम रोकिएको छैन । यसका कारण बेलाबेला गम्भीर दुर्घटनासमेत हुने गरेका छन् ।
३० कात्तिक ०६७ मा पोखराको सराङकोटबाट प्याराग्लाइडिङमा उडेका ७१ वषर्ीय मलेसियाली नागरिक कि पेङ क्वानको शव पढेलीखोरमा प्राप्त भएको थियो । २५ कात्तिक ०६७ मा २८ बर्षीया स्विस नागरिक रोचट बेनेट दुर्घटनामा घाइते भएर अस्पतालको आइसियुमा भर्ना भए । १३ फागुन ०६६ मा ३८ बर्षीया रसियन ग्लाइडर अलेक्जेन्डर किडिस्किर्नको ढिक्कीडाँडामा दुर्घटना भएर मृत्यु भयो । २२ पुस ०६६ मा २६ वषर्ीय जर्मन नागरिक क्रिस्टोफ एन्डरसन साट्टलर फेवातालमा खसे । उनको ६ दिनपछि शव प्राप्त भयो । बाहिर नआउने सानातिना दुर्घटना बारम्बार भइरहने बताइन्छ । अधिकांश दुर्घटना प्राधिकरणको अनुमतिविना गरिने सोलो फ्लाइटमा हुन्छन् । प्याराग्लाइडिङमा पाइलट एक्लै उड्नुलाई सोलो र एक यात्रुसहित दुई जनाको उडानलाई टेन्डम फ्लाइट भनिन्छ ।
प्राधिकरणले सराङकोटमा प्याराग्लाइडिङका लागि तीन उडानस्थल तोकेको छ । तर, विदेशबाटै ग्लाइडर बोकेर पर्यटक भिसामा आउने प्याराग्लाइडरहरूले जहाँतहाँबाट सोलो फ्लाइट गर्ने गरेका छन् । अनुमति नलिने पाइलटले उड्ने र ओर्लने स्थान, मौसमको अवस्था, स्वास्थ्य, तौललगायतका परीक्षणसमेत गरेका हुँदैनन् ।
नेपालमा प्याराग्लाइडिङ हुन थालेको डेढ दशक बितिसके पनि सरकारले अहिलेसम्म यसका लागि कुनै नीतिनियम बनाएको छैन । सरकारी नीति स्पष्ट नभएका कारणविना अनुमति प्याराग्लाइडिङ गराउनु परिरहेको सञ्चालकहरूको भनाइ छ । नेपाल एयर स्पोर्टस् एसोसिएसनका अध्यक्ष राजेश बम्जन सरकारले प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएर पनि स्पष्ट नियम बनाउन नसकेको बताउँछन् ।
सरकारले नेपाल पर्यटन वर्ष ०११ सँगै हवाई खेलकुदको विकासका लागि छुट्टै नीति बनाउने घोषणा गरेको थियो । यसका लागि गत वैशाखभित्र नै नियमावली तयार गर्ने गरी ०६७ माघमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालको संयोजकत्वमा समिति गठन गरिएको थियो । तीन महिनाभित्र काम पूरा गर्ने भनिए पनि अहिलेसम्म नियमावलीको खाका आउन सकेको छैन ।
हाल हवाई खेलसम्बन्धी सबै गतिविधि नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्दै आएको छ । यसम्बन्धी छुट्टै निकाय गठन गर्नुपर्ने माग व्यवसायीहरूको छ । अन्य मुलुकमा हवाई खेलकुद हेर्ने छुट्टै निकाय हुन्छ । नेपालमा व्यावसायिक प्याराग्लाइडिङ उडान गराउन नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स लिनुपर्छ ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य डाँडाडाँडामा प्याराग्लाइडिङ उड्न थालेकाले मन्त्रालय र प्राधिकरणले अनुगमन गर्न सक्ने अवस्था नै नरहेको बताउँछन् । विमानस्थल नभएको ठाउँमा प्राधिकरणको उपस्थिति नहुने भएकोले प्याराग्लाइडिङ अनुगमनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने उनको भनाइ छ ।
प्याराग्लाइडिङमा पछिल्लो केही समय विभिन्न कीर्तिमान बनाउनेसमेत होड चलेको छ । कीर्तिमानका नाममा पोखराको सराङकोट प्याराग्लाइडिङले दुई वर्ष ११ महिनाको बालकलाई प्याराग्लाइडिङ गराएको थियो । त्यस्तै ८४ वर्षका वृद्धले पनि प्याराग्लाइडिङ गरेर कीर्तिमान राखेका छन् । सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने कीर्तिमान पनि कायम भइसकेको छ ।
प्याराग्लाइडिङका क्रममा मृत्यु हुने गरेको, तालमा खसेको, रूखमा अड्केकाजस्ता समाचारहरू आउन थालेपछि नागरिक उड्डयन कार्यालय पोखराले बारम्बार प्याराग्लाइडिङ कम्पनीहरूलाई सुरक्षाको विषयमा गम्भीर हुन आग्रह गर्दै आएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । पोखराबाहेक पर्वत, भेडेटार, दाङ, अर्घाखाँची, स्याङजा, बुटवल, बन्दीपुर, पाल्पा, इलाम, चितवन, धुलीखेललगायतका थुप्रै जिल्लामा प्याराग्लाइडिङ सुरु भइसकेको छ । पोखरामा मात्र १६ वटा कम्पनीले अनुमति पाइसकेको र ४ वटा पाइपलाइनमा रहेको पर्यटन मन्त्रालयले जनाएको छ । पोखरा विमानस्थल कार्यालयले थप भार धान्न नसक्ने जानकारी गराएपछि मन्त्रालयले थप कम्पनीलाई अनुमति नदिने सैद्धान्तिक निर्णय गरेको छ ।
प्याराग्लाइडिङ कम्पनी खोल्न पर्यटन मन्त्रालयमा एक करोड रुपियाँ चुक्ता पुँजीसहित पाँच लाख रुपियाँ धरौटी राख्नुपर्ने प्रावधान छ । त्यस्तै, इजाजत शुल्कबापत ५० हजार र निवेदन दस्तुर पाँच हजार रुपियाँ बुझाउनुपर्छ । नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेसन सर्टिफिकेट -एओसीका लागि १२ सय ५० अमेरिकी डलर र नवीकरण शुल्कबापत हरेक वर्ष दुई सय ५० डलर लाग्ने व्यवस्था छ ।
मनोरञ्जनका लागि गरिने एउटा साहसिक हवाई खेल हो प्याराग्लाइडिङ । यो हावाको गतिबाट चल्छ । फेबि्रकको एउटा ठूलो पखेटामुनि बसेर हावाको मद्दतबाट उड्नु नै प्याराग्लाइडिङ हो । यसमा कुनै पनि इन्जिन जडान गरिएको हँुदैन । विना कुनै इन्जिन उड्ने भएकाले उडान भर्नका लागि डाँडाबाट फाल हाल्नुपर्छ । चालकले पखेटामुनिका डोरीहरू तान्दै, छोड्दै यसलाई नियन्त्रण गर्ने गरिन्छ । हावा कम चल्ने भएकाले असार, साउन र भदौ भने प्याराग्लाइडिङका लागि अफसिजन हो ।

प्रतिक्रिया