सहरीकरणले व्यवसायी बनायो

०५८ सालमा नेपालमा द्वन्द्वको चरम अवस्था थियो । त्यस समयमा मुलुकका विभिन्न क्षेत्रका मानिस राजधानीलाई आफ्नो बस्नेथलो बनाउन कस्सिएर लागेका थिए । मुलुकमा चर्किएको द्वन्द्वसँगै राजधानीकेन्दि्रत बसाइँ सराइले व्यवस्थित सहरीकरणमा समस्या त पार्ने नै भो । त्यसमा पनि राजधानी -काठमाडौं) को सहरीकरण व्यवस्थापन दिनदिनै समस्याका रूपमा बढ्दै गइरहेको थियो ।
यसलाई व्यवस्थापन गर्न राज्यले समेत त्यति वास्ता नगरेकाले निजी क्षेत्रबाटै हुने प्रयासको खाँचो पनि थियो । त्यसबेला वकालत पेसामा रहेका भेषराज लोहनीलाई पनि राजधानीको अव्यवस्थित बसाइँ र बढ्दो सहरीकरणले छोएछ । समाजका हरेक गतिविधिलाई नजिकबाट नियाल्ने युवा भएकाले पनि उनको ध्यान व्यवस्थित सहरीकरणतिर गएछ । समाजका मध्यमवर्गीय जनतालाई लक्षित गरेर आवास योजना निर्माण गर्नसके बढ्दो सहरीकरण व्यवस्थापनमा सहजता हुने देखेपछि करिब ६ वर्षदेखि वकालत पेसामा रहेका उनलाई व्यवस्थित सहरीकरणका लागि ठूला आवास योजना निर्माण गर्ने सोच आएछ ।
अरूभन्दा फरक खालको व्यवसाय भएकाले पनि हाउजिङ क्षेत्रमा जोखिम र अवसर दुवै देखेका उनले जसरी भए पनि आफ्नो योजना सुरु गर्ने निर्णय गरे । तर, आवास योजना निर्माणका लागि लगानी जुटाउने विषय भने त्यति सहज थिएन । काठमाडौंको बसाइलाई व्यवस्थित गर्न सकिने र यसका लागि आवास योजना निर्माणमा लाग्ने सोच लिएर घर परिवारको सल्लाह लिन उनी त्यसपछि पुख्र्यौली घर झापा हानिएछन् । जागिरे पृष्ठभूमिमा हुर्किएका उनले हाउजिङ व्यवसायमा लाग्ने सल्लाह भने पाएनन् । तर पनि करिब २० लाख रुपियाँ जुटाएर उनी यो व्यवसायमा होमिए ।
आफ्नो परिवार जागिरे पृष्ठभूमिकै भए पनि त्यसतिर उनको रुचि रहेनछ । पत्रकारिता, शिक्षण र वकालत पेसाको अनुभव सम्हालेका उनले आफूलाई सफल हाउजिङ व्यवसायीका रूपमा स्थापित गर्ने योजना नै अघि सारे । परिवारको जेठो छोरो भएकाले पारिवारिक जिम्मेवारी उनीमाथि छँदै थियो । तर, पनि स्वतन्त्ररूपमा व्यवसाय गर्ने सोच भने उनले त्यागेनन् । ‘सुरुमा कृषि क्षेत्रमा लगानी गरेर कृषि व्यावसायिकीकरण गर्ने योजनासमेत बनाएको उनी सम्झन्छन् । त्यसमा समेत परिवार विशेष गरी बाबाले नमानेपछि फेरी हाउजिङ व्यवसायमै आफ्नो ध्यान खिचिएको उनी बाताउँछन् । ठूलो लगानी, मेहनत र जोखिमसमेत ठूलै हुने यो व्यवसायका सुरुका दिन भने उनका लागि निक्कै चुनौतीपूर्ण थिए । त्यसो त पैतृक सम्पत्ति धितो राखेर सुरु गरेको व्यवसायमा असफल भए के होला भन्ने डरसमेत उनमा नपलाएको होइन । तर, आफ्नो लगनशीलता, इमान्दारिता, मेहनत र सामूहिक भावनाले त्यो अवस्था भने आएनछ । सीमित स्रोत र साधनबाट ठूलो योजनामा हात हालेका उनी परिस्थितिसँग जुध्नसक्ने युवा भएकाले पनि असफल हुन नपरेको उनी बताउँछन् । २० लाख रुपियाँ लागनीबाट सुरु गरेको उनको व्यवसायमा अहिले २५ करोडभन्दा बढीको लगानी भइसकेको छ । अहिले उनको भक्तपुरको बालकोटस्थित रोज भिलेज र काठमाडौंको मूलपानी -८ स्थित गि्रन हिल सिटी आवास योजना निर्माण चरणमा छन् ।
मुलुकका ४५ लाख घरधुरी जनता अव्यवस्थित बसोवास गरिरहेको उनको बुझाइ छ । यसको व्यवस्थापनका लागि आवास योजना नै विकल्पक रूपमा देख्छन् उनी । व्यवस्थित आवास योजना निर्माण भएमा खेतीयोग्य जमिनको बचाउ हुने र आवश्यक खाद्यान्न उत्पादन गर्न सकिनेसमेत उनको बुझाइ छ । त्यसो त मध्यम र निम्न वर्गीय जनताको समेत पहुँच पुग्ने खालको आवास योजना निर्माण उनको लक्ष्य छ । सरकारले बनाउने रणनीति र योजनासमेत दीर्घकालीन हुनुपर्ने उनी बताउँछन् । यो आवास योजनामा दीर्घकालीन सोचको खाँचो रहेकाले पनि सरकारको रणनीतिक योजना महत्त्वपूर्ण हुने लोहनीको भनाइ छ ।
प्रस्तुतिः किरण ढकाल

प्रतिक्रिया