नरम भयो इरान

तेहरान, २७ चैत । इरानमा जारी परमाणु कार्यक्रमबारे शक्तिराष्ट्रहरूबीच छलफल हुनुअघि इरानले पश्चिमी राष्ट्रप्रति नरम हुने संकेत गरेको छ । टर्किस सहर इस्तानबुलमा शक्तिराष्ट्रबीच इरानमा जारी परमाणु कार्यक्रमबारे शुक्रबार छलफल हुँदै छ ।
इरानका परमाणु प्रमुख फिरिदोन अब्बासीले २० प्रतिशत प्रशोधित युरेनियम उत्पादन बन्द गर्न आफूहरू तयार रहेको बताएर नरम हुने संकेत गरेका हुन् । २० प्रतिशत प्रशोधित युरेनियम हतियार बनाउन प्रयोग हुन्छ । यस्तो युरेनियम आफैमा हतियार भएको परमाणुविद् बताउँछन् । तर, आमविनाशकारी परमाणु हतियार बनाउन ९० प्रतिशत प्रशोधित युरेनियम आवश्यक पर्छ ।
२० प्रतिशत प्रशोधित युरेनियम उत्पादन गर्न इरान अग्रसर भएपछि अमेरिका, युरोपेली संघसँग आबद्ध राष्ट्रलगायत पश्चिमी जगत्ले केही महिनाअघि इरानविरुद्ध नाकाबन्दी लगाएको थियो । इरानको पारमाणविक तथा वित्तीय क्षेत्रलाई लक्षित गरी नाकाबन्दी लगाइएको थियो । युरोपेली संघसँग आबद्ध राष्ट्रले इरानबाट कच्चा तेल आयात रोक्ने निर्णयसमेत गरेका थिए । चीन, भारत, जापानलगायत इरानी तेलमाथि बढी निर्भर रहने राष्ट्रलाई इरानी तेलको विकल्प खोज्न दबाब दिएर अमेरिकाले इरानलाई टाट पल्टाउने प्रयास गरिरहेको छ ।
इरानविरुद्ध झन् कठोर हुने संकेत पश्चिमी जगत्ले गरेपछि इरानले नरम हुने छाँटकाँट देखाएको हो । परमाणु प्रमुख अब्बासीले निम्नस्तरसम्म युरेनियम प्रशोधन गरी ऊर्जा उत्पादन गर्न आफूहरू तयार रहेको आइतबार एक टेलिभिजनसँग बताएका हुन् । यसअघि इरानले पश्चिमी दबाबमा परेर परमाणु प्रशोधन कार्य नरोकिने बताउँदै आएको थियो । युरेनियम प्रशोधन गरेर आमविनाशकारी परमाणु हतियार उत्पादन गर्न इरान लागिपरेको आरोप अमेरिकालगायत पश्चिमी राष्ट्रले लगाउँदै आएका छन् । तर, इरानले भने ऊर्जा उत्पादनतर्फ परमाणु कार्यक्रम लक्षित रहेको दाबी गर्दै आएको छ । -एजेन्सी

प्रतिक्रिया