मत-विमत

सपनाजस्तै विपना

सौर्य अनलाइन २०६८ चैत २८ गते २:३२ मा प्रकाशित

‘तपाईंलाई सम्पादक बनाउने भएका छौँ,’ अक्षेश्वर गिरीले एक पेग स्वाट्ट पारेपछि मुख बिगार्दै भने, ‘साथीहरू पनि तपाइँलाई राजी छन् ।’ आँचल होटलको एउटा कुनामा सहरका होटल व्यवसायीले राखेको प्रस्तावले सम्पादकमा नाम छापिने दिन नजिक आउँदै थियो ।
‘चिन्तै लिन पर्दैन,’ उनले भने, ‘सहरमा सबै होटलका साथीहरू छन् ।’ हामीले जग्गाको कारोबार गरेका छौँ । उनले थपे, ‘होटलमा नाफैनाफा छ । तपाईं सम्पादक भइदिनोस् मात्रै, हामी तपाईंलाई निर्देशक, सम्पादक र २० प्रतिशत सेयर पनि हालिदिन्छौँ । अक्षेश्वरको प्रस्तावले अक्षी चनाखा भए । मनमा केही शंका, केही खुसी । नुनको धुलोमा गाजर चोपेर चपाउनै लाग्दा उनको मोबाइलमा घन्टी बज्यो । ‘हेलो, म यहीं छु आँचलमा । क्याबिन नम्बर ७ ।’ गिरीले लामो कुरा गरेनन् । केहीबेरमै सहरमा चर्चित क्लब मायाममता समूहका अध्यक्ष सदन स्याङ्तन आइपुगे । उनी समाजसेवी युवा । समूहले सहरमा सरसफाइदेखि थुप्रै सामाजिक काममा हात हालेको छ । टोलमा भुस्याहा कुकुर मार्ने, खानेपानीको सुविधा, शौचालय सबै यही समूहले ठेक्का पाउँछ । शौचालयमै कलेज गर्ल बलात्कृत भएको, खानेपानी नआए पनि उपभोक्ताले बिल तिर्नुपरेको, थुप्रै समस्या आए पनि अचेल छापिन्न ।
भित्री रूपमा होटलमा गाउँका युवती ल्याएर वेश्यावृत्ति गराउनेदेखि गाईको पैसा उठाउने, ठेक्कापट्टामा हप्ता असुल्ने काम गरेका स्याङ्तन सहरमा होनहार युवा नेतामा गनिन्छन् । उनको नराम्रो समाचार नआओस् भनेर बेलाबखत पत्रकार भेटघाट भइरहन्छ । उनी पत्रकारलाई नगद पैसा दिएर प्रभावमा पार्दैनन् । चतुर छन्, त्यसैले पत्रकारको भावना र आशय बुझ्छन्, बजारका व्यापारीलाई फोन नम्बर उपलब्ध गराउँछन् । व्यापारी नै फोन गरेर पत्रकारलाई स्याङ्तन दाइका तर्फबाट सानो उपहार भनेर पार्सल गराउन लाज मान्दैनन् । ‘वैशाख १ गतेदेखि पत्रिका आउने भयो त ?’ स्याङ्तनले सेकुवाको टुक्रो चपाउँदै गिरीलाई सोधे । ‘तिमीले पैसा हालेनौ, मसँग पनि नगद छैन,’ गिरीले भने, ‘प्रेस भन्सारमा अडि्करहेको छ । ल्याउनलाई पैसा जुटेको छैन ।’ स्याङ्तन कडि्कए, ‘अनि त्यो होटलमा वेश्यावृत्ति गरेर कमाएको पैसा कहाँ उड्यो त ? कि खरानी भयो ?’ ‘हाम्रा पनि बालबच्चा छन्, तिनका पनि मुख छन् । तिमी मात्र हौ र ? अरुलाई पनि मुखमा बुजो लाउनैपर्‍यो,’ गिरीले थपे, ‘नत्र ऊ सम्पादकजीहरू होटलको नामै फेर्नुपर्ने गरी समाचार लेखिदिन्छन् । त्यसपछि पुलिस र नेतालाई चन्दा दिँदैमा हैरान ।’
गिरी र स्याङ्तन झोक्काझोक्कीमा लागे । ‘मलाई अरु कुरा थाहा छैन, पत्रिकाको निर्देशकमा मेरो नाम आउनुपर्छ,’ स्याङ्तनले झपारे । ‘निर्देशकमात्र किन अध्यक्ष र सम्पादक पनि मै भन्न,’ रक्सीले चुरचुर गिरी जंगिए, ‘सुकोसेन्टी हाल्नु छैन, निर्देशक, त्यो पनि दैनिक पत्रिकाको ।’ गिरी र स्याङ्तनका कुराले उनीहरूको भित्री असलियत प्रस्ट हुँदै थियो । ‘बढ्ता बोल्छस् ?’ स्याङ्तनले हेल्मेटले गिरीलाई हिर्काए । ‘ए, तँ होटल व्यवसायी, दलका अन्नदाता, प्रहरीका नियमित आम्दानी, ब्लांक चेकलाई हात हाल्ने । आज तँलाई ठीक पार्छु,’ गिरी कोट फुकालेर फाल्दै कडि्कए, ‘ए ढकाल, काउन्टरमा भएको खुकुरी निकाल् ।’
‘खुकुरी मैसँग छ नि,’ स्याङ्तनले निकालेर छप्काउन थाले । बीचमा छेक्ने र भाग्ने गर्दागर्दै गिरी उम्किए । ‘तैँ होइन, हाम्रो नराम्रो लेख्ने ?’, एकपटक टाउकामा हानेको याद छ । पानी मागेँ कि ? सहरमा पत्रकार हत्या भएको ठूलो हल्ला छ । गिरी समातिएका छन् । स्याङ्तन फरार छन् । हेडलाइनमा आएका छन्, प्रकाशक समातिए । सम्पादकको हत्या । निर्देशक भनिने होटलको १३ सय पनि नतिरी फरार । बालबच्चा कोरामा रुँदै छन् ।
प्रधानमन्त्री भन्दै थिए, ‘म पनि पत्रकार हत्याले मर्माहत छु । मैले तत्काल १० लाख रुपियाँ दिन निर्देश गरेको छु ।’ बाँचुन्जेल तलब र सुविधाका कुरा नगर्नेहरू प्रधानमन्त्रीसँग चिया खाएर बसेका छन् । परिवार बिलखबन्दमा । १३ दिनपछि बाहुनलाई टीको लगाएर दिन फुट्या’ कौडी छैन । प्रहरीले स्याङ्तनलाई समातेको छैन । गिरीबाट बकाएको छैन । मर्नेका परिवारलाई पैसा छर्केर मार्नेलाई जोगाउने कानुनका विरुद्ध लेख्दालेख्दै मारिनु नौलो थिएन । पत्रकार नेताले प्रधानमन्त्रीलाई भने, ‘उनलाई सहिद बनाउनुपर्‍यो ।’ प्रधानमन्त्रीले भने, ‘अहिले १० लाख रुपियाँ दिइएको छ । पछि बालबच्चालाई पढाउन मद्दत गरौंला ।’ पत्रकारले पत्रकार मारिनु हुन्न र मारिएपछि अरुजस्तै पातलो भए पनि ‘सहिद’ घोषणा गर्नुपर्छ भन्ने जिकिर गरे । प्रमले ‘गिरीले सम्पादक त बनाएनन्, हामी कसरी सहिद बनाम्’ भनेर लाचारी प्रकट गरे । यस्ता अराजकलाई सहिद बनाउनु हुन्न भनेर जिल्ला पार्टीबाट निवेदन परेको छ । प्रमको कुरा सुनेर पत्रकार भाउन्न भए ।
झल्याँस्स बिउँझँदा फरक दृश्य थिएन । थिए उही कुरा, जुलुस, आँसु र बजारमा नयाँ निस्कन लागेका पत्रिका र लगानीकर्ताको चरित्र चर्चा । फलाना घडेरी दलाल, फलाना रक्तचन्दन तस्कर, फलाना त ब्राउन सुगर र नक्कली भारुको कारोबारी । सबका मिडिया आउँदै रे । नाम चलेका पत्रकार सम्पादक हुँदै । सपनामा पनि सहिद हुन मुस्किल एउटा छुच्चो देखिने लाचारी पात्रका पेसामा किन पत्रकारिता दरिँदै छ । टाउको बिहानैदेखि दुखेको छ । नदुखोस कसरी, महिना जो मर्दै छ र पैसाको खाँचो पर्दै गएपछि घरमा किचकिच बढ्दै छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय