शब्दैभरि महिलालाई चेतना

यो धर्ती यो आकाश आधा हिस्सा हाम्रै हो
आफ्नो हक लिनलाई अघि बढ्ने हो
मधु गुरुङले यी शब्द सिर्जना गर्नुपछाडि नेपाली महिलाको पीडाले उनलाई धेरै पटक झक्झक्याएका छन् । चालीस वर्षअगाडि झापाको शनिश्चरेमा पहिलोचोटि धर्ती टेकिन् मधुले । महिला भएकै कारण भोग्नुपर्ने सामाजिक दमन मुख बाएर उनलाई पनि झम्टिन बसिरहेकै थियो, अरू महिलालाई जस्तै । बालापन तिनै अप्ठ्यारा भोगाइमा रुमल्लियो । कमजोर बाल हृदयले यति कठोर पीडानुभूति गरेछ कि उन्मुक्तिको विकल्प एउटै ठम्याएछ- सबै खालका सामाजिक असमानताविरुद्ध लड्नु ।
त्यसको हतियार उनले माथिको गीतमा उल्लेख भएजस्ता शब्दलाई बनाइन् । समान किसिमले बाँच्न पाउने अधिकारप्राप्तिका लागि महिलालाई झक्झक्याउन यो गीत लेखेर संगीत भरिन् अनि आफ्नै आवाजमा गाउँबेंेसी थर्काइन् । लोकतन्त्रको आगमनपछि नयाँ दिन आयो एल्बममा उनले समेटेको यो गीतले महिलाका माझमा राम्रै प्रभाव जमायो । संगीतले जुनसुकै वर्ग अनि उमेरका मानिसको हृदयलाई सोझै समात्न सक्ने मनोवैज्ञानिक शक्ति बुझेकी उनले यसैमार्फत अघि बढ्ने योजना बनाइन् । हार्मोनियम अनि मादलसँग सात सुरको संयोजनबाट महिलालाई घच्घच्याउने अनि पुरुषलाई खबरदारी गर्नमा निरन्तर लागिपरिन् ।
झ्वाट्ट सुन्दा कुनै राजनीतिक दलले जनतालाई आकर्षण गर्न सांस्कृतिक कार्यक्रममा बजाउनेजस्ता पनि लाग्छन् उनका गीत । अधिकारप्राप्तिको आन्दोलन पनि राजनीतिक आवरण बोकेरै सडकमा तातिरहेको हुन्छ तर, मधु राजनीतिज्ञ होइनन्, न त कार्यकर्ता । किन आइनन् त उनी राजनीतिमा ? कि गीतमार्फतै राजनीति गरिरहेकी छन् ? प्रतिवाद गरिन्- ‘राजनीति किन गर्नुपर्‍यो मैले ? नेताको पाँच घन्टाको प्रशिक्षणभन्दा मेरो पाँच मिनेटको गीतले मान्छेलाई छुन सक्छ, मन परिवर्तन गराउन सक्छ ।’ तर पनि गायनमार्फत सामाजिक रूपान्तरण गर्ने उनको रुचि आफैंमा एउटा अभियानजस्तो लाग्छ । गायक लक्ष्मण रायमाझी उनलाई सघाइरहेछन् ।
पञ्चायतको विरोधमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा रुचिपूर्वक सहभागी हुन्थिन् रे उनी । रूपान्तरणमुखी गीत गाउन थालेको २३ वर्ष पुगेछ । पञ्चायत रहुन्जेल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सामाजिक विभेदविरुद्ध सांगीतिक विरोध गरिछन् । पछि उनलाई आफ्नै किसिमले स्वच्छन्द भएर अभियानमा लाग्न मन लागेछ । भन्छिन्- ‘म कसैसँग पनि आबद्ध छैन, आफ्नै हिसाबले गायनमा सक्रिय छु ।’
ए साथी, ए सुकुम्बासी कति खान्छौ दौराको फेर थापी । पहिलोपटक उनी यो गीतमा नाचेकी थिइन् रे । ‘तर मलाई यसको अर्थै थाहा थिएन, जब थाहा पाएँ निकै खुसी लाग्यो’- भनिन् ।
बाउको बोली साङ्लोजस्तो दाइको बोली हत्कडी
घरमै कैदी भए अघि बढ्ने कसरी ?
यो गीतमा मधुले तिनै महिलाको पीडा गाएकी छन्, जो परिवारभित्रै पनि स्वतन्त्रतापूर्वक बाँच्न पाइरहेका छैनन् । वेग भाग-१ मा संगृहीत गीतका शब्द उनका पनि व्यक्तिगत भोगाइ हुन् रे ! सुनाइन्- ‘जतिसुकै आदर्शका कुरा गरे पनि नेपाली महिलाको नियति यही नै थियो, अझै यस्तै नै छ ।’ महिलालाई अधिकार दिनु पुरुषलाई दास बनाउनु हो भन्ने प्रवृत्ति हाबी रहेको उनले ठहर्‍याएकी रहिछन् । भन्छिन्- ‘अझै पनि महिलाहरू अगाडि बढेको देख्न सक्दैनन् पुरुषहरू ।’
केही गर्न खोज्ने महिलालाई जहाँ पनि चुनौती छ । मधुले समातेको कलाकारिता पनि त्यसबाट अछुतो छैन । चुनौती फेस गर्न डराएर र्फकनेमा पर्दिनन् मधु । निकै दृढ छिन् आफ्नो यात्रामा । भन्छिन्- ‘चुनौती फेस गर्न मुख्य कुरा त आफ्नो इच्छाशक्ति हुनुपर्‍यो ।’ उनका अनुसार अधिकांश कलाकारमा सामाजिक जिम्मेवारीबोध हुँदैन । ‘अरू भएनन् भनेर म आफ्नो जिम्मेवारी भुल्न सक्दिनँ, मैले भोगेको समाजले मलाई यस्तै प्रेरणा दिएको छ’ -उनीचाहिँ यसो भन्छिन् ।

प्रतिक्रिया