बैद्य पक्षद्धारा आफ्नै कार्यालयमा तोडफोड

कैलाली, २६ चैत । एनेकपा (माओवादी)को बैद्य पक्षका कार्यकर्ताहरुले आज धनगढीस्थित जिल्ला पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका सम्पूर्ण कागजात जलाएका छन् ।

उनीहरुले कार्यालयमा रहेका दुईवटा कम्प्युटर, प्रिन्टर, फ्याक्स लगायत सामाग्री आफूस“गै लिएर गएका छन् ।

२०÷२५ जनाको समूहमा आएका उनीहरुले बुद्ध चौकस्थित रहेको कार्यालयको ताला फोडी कार्यालय भित्र रहेका सम्पूर्ण कागजात सडकमा ल्याएर जलाएका हुन् ।

सोही समूहले क्याम्पस रोडस्थित नगर पार्टी कार्यालयको कागजात समेत नियन्त्रणमा लिएर तालाबन्दी गरेका छन् ।

संस्थापन पक्ष सत्ता लिप्समा फसेको, क्रान्तिकारी धार छोडेको, जनभावना विपरित काम तथा सन्धीसम्झौता गरेको भन्दै बैद्य पक्षले कार्यालयमा तोडफोड गरेको बताएका छन् ।

पार्टीको आर्थिक हिसावकिताव सार्वजनिक गर्नुपर्ने पनि उनीहरुले माग गरेका छन् ।

एमाओवादीका जिल्ला ईञ्चार्ज हरि ज्ञवालीको नेतृत्वमा गएका उनीहरुले करिब आधा घण्टासम्म कार्यालयमा बसेर कागजात जलाउनुका साथै अन्य भौतिक सामाग्री लिएर गएको प्रत्यक्षदर्शीले बताए ।

प्रहरी टोली घटनास्थलमा भएपनि उनीहरुले कुनै प्रतिक्रिया नजनाएको कार्यालय सचिव शशी सुवेदीले बताए ।

सुवेदीले पार्टी कार्यालय तोडफोड गरेको बताउदै क्षतिको विवरण भने प्रहरीको टोली आएर मुचुल्का गरेपछि मात्र थाहा हुने बताए ।

यसैवीच, जिल्ला पार्टी कार्यालय र नगर पार्टी कार्यालय तोडफोड गरी सम्पूर्ण कागजात बैद्य पक्षले नियन्त्रणमा लिएर जलाएपछि आजै दुबै पक्षबीच झडप भएको छ ।

झडपमा संस्थापन पक्षका तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा गणेश भण्डारी, शेर थापा र धिरज नेपाल रहेका छन् । तीनैजनाको सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि घर फर्केको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

संस्थापन पक्षका तीनवटा मोटरसाइकल पनि बैद्य पक्षकाले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका मोटरसाइकलमा से २ प २६६७, से २ प ५२९६ र से २ प ६९१२ रहेका छन् ।

संस्थापन पक्षका नेता कार्यकर्ताहरु भाला, रड, खुकुरी लगायतका हतियार लिएर आफूहरुलाई आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको बैद्य पक्षको दाबी छ ।

हिजो पनि संस्थापन पक्ष र बैद्य पक्ष कार्यकर्ता बीच मजदूर भलाई कोषको रकमलाई लिएर झडप भएको थियो । उनीहरुले भारतबाट भित्रिने मालबाहक ट्रकबाट धनगढीको मिलन चौकमा ढाट राखेरप्रति ट्रक एकसय रुपिया“ उठाउदै आएका छन् ।

 

यसैबीच भोलि २७ गते देखि डोटीमा सेती र महकाली जिल्लाका कार्यकर्ताको पार्टी प्रशिक्षणमा सहभागी नहुन बैद्य पक्षका नेताहरुले आह्वान गरेका छन् ।

सेती र महाकाली जिल्लाबाट जिल्ला कमिटी, राज्य कमिटी, जनबर्गिय संगठनका प्रमुखलाई उक्त प्रशिक्षणमा बोलाइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अथिती रहने प्रशिक्षणको कुनै औचित्य नै नभएको भन्दै बैद्य समुहले सहभागी नहुन आग्रह गरेको हो ।

पार्टी गम्भीर मोडमा आईपुगेका बेला अध्यक्षले पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा गुटबन्दीमा लागेको बैद्य पक्षको आरोप छ ।

प्रतिक्रिया