पन्ध्र वर्षपछि भेटियो बिरालो

बर्लिन, २५ चैत । जर्मनीको म्युनिख सहरमा पन्ध्र वर्षअघि हराएको घरपालुवा बिरालो फेला परेको छ । पोल्डी नाम गरेको बिरालो म्युनिखबाट तीस किलोमिटर परको जङ्गलमा फेला परेको हो । ज्यादै दुब्लो र कमजोर अवस्थामा बिरालो भेटिएको हो । किलियन सुटेल नाम गरेका एक किशोरले बिरालो फेला पारेका हुन् ।
सन् १९९६ मा उक्त बिरालो हराएको थियो । बिरालाको औसत आयु १५ वर्षभन्दा कम हुन्छ । त्यसैले बिरालो फेला पार्ने आशा घरमालिकले मारिसकेका थिए तर केही बिरालो भने तीस वर्षसम्म जीवित रहन्छन् ।
किलियनका बाबु बर्नार्डले एक अखबारसग भने, ‘मेरो छोराले फेला पार्दा बिरालो ज्यादै बूढो र कमजोर अवस्थामा थियो । उसका अगाडिका दात थिएनन् ।’ घरमा ल्याएको केही दिनपछि बिरालाको कानमा ट्याटु खोपिएको देखेपछि उनीहरुले म्युनिखमा रहेको जनावरगृहमा सम्पर्क राखे । जनावरगृहका अधिकारीले फाइल पल्टाएर हेर्दा बिरालोको ट्याटु १५ वर्षअघि हराएको पोल्डी नाम गरेको बिरालाको ट्याटुसग दुरुस्तै मिलेको थियो । फाइलबाट बिरालोधनीको ठेगाना पत्ता लगाउन जनवारगृहका अधिकारीले खबर गरेका थिए । बिरालालाई चाडै बिरालोधनीको जिम्मा लगाइने जनाइएको छ । (बिबिसी)

प्रतिक्रिया