इङ्ल्यान्ड शीर्षस्थानमै

कोलम्बो : ग्रेमस्वानले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि इङल्यान्डले श्रीलंकाविरुद्धको दुई टेस्ट म्याचको शंृखला १-१ ले बराबरी गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा आठ विकेटले विजयी हुँदै इङल्यान्डले टेस्ट वरीयतामा शीर्षस्थानलाई कायम राख्न पनि सफल भयो ।
अन्तिम दिन स्पिनर स्वानको उत्कृष्ट प्रदर्शनपछि श्रीलंकालाई २ सय ७८ रनमा समेटेको इङल्यान्डले प्राप्त ९४ रनको लक्ष्य दुई विकेटको क्षतिमा पूरा गर्‍यो । प्रारम्भिक ब्याट्सम्यान एन्ड्रयु स्ट्रस -०) र जोनाथन ट्रोट -५) ले दोहोरो अंकमा रन जोड्न नसके पनि एलेस्टर कुक -४९) र केभिन पिटरसन -४२) ले इङल्यान्डलाई फराकिलो जित दिलाएका हुन् । कुक र पिटरसनले तेस्रो विकेटका लागि अविजित ६६ रनको साझेदारी गरेका थिए । कुकले ६९ बलको सामना गर्ने क्रममा ६ चौका प्रहार गरे भने विस्फोटक ब्याटिङ गरेका पिटरसनले चार चौका र दुई छक्का प्रहार गरे ।
यसअघि २१८-६ को स्थितिबाट पाँचांै तथा अन्तिम दिनको खेल थालेको श्रीलंकाले थप ६० रन जोड्दा बाँकी सम्पूर्ण विकेट गुमायो । अघिल्लो दिन तीन विकेट लिएका स्वानले शनिबार थप तीन विकेट हात पारे । उनले अन्तिम दिन माहेला जयाबर्द्धनेलाई ६४ रनमा पवेलियन पठाए । अघिल्लो दिन ५५ रनमा खेलिरहेका जयाबर्द्धनेलाई स्वानले एलेस्टर कुकबाट क्याचआउट गराएका हुन् । त्यस्तै प्रसन्न जयाबर्द्धन -१) र सुरज रन्दिभ -०) लाई पनि स्वानले पवेलियन पठाएका हुन् ।
यसअघि दोस्रो पारीमा कुनै समय १०४-३ को स्थितिमा रहेको श्रीलंकालाई कमजोर बनाउने क्रममा चौथो दिन स्वानले तीन विकेट लिएका थिए । उनले महत्वपूर्ण साझेदारी गरिरहेका तिलकरत्ने दिल्सान -३५), कुमार संगकारा -२१) र थिलन सामराविरा -४७) लाई आउट गरेका थिए ।
यसअघि पहिलो पारीमा श्रीलंकालाई २ सय ७५ रनमा समेटेको इङल्यान्डले आफ्नो पारीमा केभिन पिटरसनको १ सय ५१ रनको योगदानपछि ४ सय ६० रन बनाएको थियो । दुवै म्याचमा शतक प्रहार गरेका श्रीलंकाका कप्तान जयाबर्द्धने म्यान अफ द सिरिज र केभिन पिटरसन म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया