तपस्वीको नाम, बाराको बदनाम !

अविकसित समाजका आफ्नैखाले समस्या हुन्छन् । त्यस्तो समाजले रहस्यहरू बुन्छ, तिलस्मी कथाहरू बनाउँछ र हलचल उत्पन्न गरेजस्तो गर्छ । ०६१ जेठ २ गतेदेखि निराहार तपस्या गरेर बसेका भनिएका ‘लिटिल बुद्ध’ अर्थात् रामबहादुर बम्जनलाई हेर्न रतनपुरीको जंगलमा बिसौंपटक गइएको थियो र हल्ल् भएअनुसार हेर्न जानु स्वाभाविकै थियो । त्यति बेलासम्म उनलाई कुनै सञ्चारकर्मीले भेटेका थिएनन् । हेटौँडाबाट प्रकाशित एक समाचारपत्रले सुनेको भरमा यी बालतपस्वीबारे समाचार लेखेको थियो । उता सिमरा बजारमा उनका जेठा दाजु गंगा भाइको दैवी शक्तिका बारेमा प्रचार गर्न व्यग्रतापूर्वक पत्रकारहरूको खोजीमा थिए । हामी त्यहाँ पुग्दा सुनसान वनमा उनी एक्लै एउटा सानो कुटीमा विराजमान थिए ।
दाजु गंगाले बोलाएपछि कुटीबाहिर निस्केका रामबहादुर भगवा वस्त्रमा नसम्हालेर अलपत्र परेको केशमा थिए । उनी हामीबीच आधा मिनेट तर नबोलीकनै उभिए । त्यसपछि फरक्क फर्केर कुटी प्रवेश गरी अन्तध्र्यान भए । हामीले त्यस कुटीको परिवेश नियाल्ने विचार गर्‍यौँ । वरिपरि खोल्सामा बिस्कुट र चाउचाउका खोल प्रशस्तै भेटिएका थिए । त्यसयता बाराकै बगिया खोलामा थुप्रै पानी बगिसके र बम्जन चर्चाको चुलीमै छन् । आठ वर्ष बितिसकेछ । म ती दिनतर्फ र्फकंदैछु ।
०००
हामीले रतनपुरीका जनतालाई रामबहादुर बम्जनजस्तो एउटा १६ वर्षे ठिटोको निराहार तपस्याको रहस्यबारे सोध्दा स्पष्ट ढंगले बताउन आनाकानी गरिरहेका थिए । ‘खै थाहा छैन’ भन्ने जवाफ नदिएर पन्छन खोज्नेहरू आज ‘बोधी श्रवण धर्म संघ’को नाममा संस्था खोलेर त्यसको हर्ताकर्ता भएका रहेछन् । त्यति बेला उनको अर्का दाजु दिलबहादुरले समेत उनको तपस्या र निराहारलाई विश्वास गरेका थिएनन्, न त गाउँलेले । उनका दौँतरीले समेत ‘रामबहादुरको चमत्कारी जंगलबास’लाई विश्वास गर्न सकेका थिएनन् । सायद, उनीहरू सोचिरहेका थिए, ‘यो ठिटोको यस्तो के चाला हो ?’ केहीले त उनलाई मनोरोगीसमेत भनेका थिए ।
तर, बिस्तारै उनको बस्ने क्षेत्र पनि फराकिलो र व्यवस्थित देखिँदै गयो । सामान्यरूपमा काठले बारेको ठाउँ तारबारले घेरियो । वरिपरि ध्वजापताका र तोरण देखिन थाले । धूपदीपका सुगन्धले जंगल मुग्ध हुन थाल्यो । वरिपरि पसल खुले । जंगलका रूख विस्तारै काटिँदै गयो । बुट्यानहरू मासिए । गाडी, ट्याक्सी, मोटरसाइकलजस्ता आयातीत यातायात र घोडाको चहलपहलमा वृद्धि भयो । चन्दा र भेटी ओइरिन थाल्यो अनि स्वयंसेवकका लागि थरीथरीका व्यञ्जन पाक्ने मेस सुरु भयो । र, हामीले पनि दुई-चारपटक मेसको खानाको स्वाद लिन पायौँ । हेर्दाहेर्दै दिउँसोसमेेत हिँड्न डर लाग्ने त्यो विशाल जंगल गुलजार बन्यो र बम्जन बिक्ने वस्तु बने ।
०००
कात्तिकको महिना । वरिपरि नयाँ हल्ला आँधीझैँ फैलियो -रात्रिकालमा तपस्वीको शरीरमा ज्योति चम्कन्छ । मानिसहरूले सोधेर हैरान पार्न थाले । हल्लाको रहस्य पत्ता लगाउन हामीले त्यो ज्योति हेर्नैपर्ने ठहरियो । राति नौ बजेतिर पत्रकार र अधिकारकर्मी गरी करिब बीस जनाको दल रतनपुरीको जंगलतिर लाग्यो । रातको समय, बम्जनका स्वयंसेवक रूप धारण गरेका अनुयायी सेनाबाहेक सुनसान जंगलमा अरू कोही थिएनन् । स्वयंसेवकहरूको बोल्न नपाइने सर्तमा हामी उनीहरूले खटाएको ठाउँमा चुपचाप बस्यौँ । तर, रामबहादुरको शरीरमा कहीँकतै बत्ती बलेको देखिएन । उनका सेनाले भने आज तपस्वीलाई सर्पले टोकेको छ त्यसैले उनको शरीरमा बत्ती बल्दैन भन्ने दाबी गरे । हामी रित्तो हात र्फकनु पर्ने भयो । रातको एघार बजेपछि हामी फर्कियौँ ।
बम्जनलाई सर्पले टोकेको हल्ल्को सत्यापन गर्न भोलिपल्ट बिहानै हाम्रो अन्वेषण दल रतनपुरीतर्फ लाग्यो । जंगलमा तपस्वीको दर्शन गर्न हजारौँ मान्छे जम्मा भएका थिए । तपस्वीका सेनाले उनलाई सर्पले टोकेको हुनाले आराम गर्न रूखमा अदृश्य भएको सूचना दिए । हामीले उनीहरूलाई पर्दा खोल्न भन्यौँ र पर्दा नखोले हामी आफैँले पर्दा खोल्नेसमेत बतायौँ । उनका दाजु गंगाले आफ्नै मातृभाषामा केही भनेको दस मिनेटभित्र पर्दा खुल्यो । तपस्वी एकदम तनक्क परेका, भर्खर सुतेर उठेका जस्तो देखिएका थिए ।
एकदिन विश्वको चर्चित टिभी च्यानल डिस्कभरीको टोली रतनपुरीको जंगल पुग्यो । टोलीका सदस्यहरू सात दिनसम्म अहोरात्र त्यहाँको दृश्य खिचेर लाने र तपस्वीले कुनै खाद्य लिए नलिएको पुष्टि गर्ने बताइरहेका थिए तर बम्जनका स्वयंसेवकहरू छायांकन गर्न अस्वीकार गरिरहेका थिए । सबैका मनमा स्वाभाविकरूपमा आशंका उत्पन्न भयो, यसरी छायांकन गर्न अस्वीकार गर्नाका पछाडि अर्कै नियत हुनुपर्छ । मन लागेको बेला आफ्ना सहयोगीसित प्रेमसँग बोल्ने उनलाई दृश्य खिच्दा तपस्यामा अवरोध उत्पन्न हुन्छ भन्नु कुनै तर्कसंगत थिएन । कोदालो खनेका भए वा हलो जोतेर अएको भए पो उनलाई आरमको जरुरी हुन्थ्यो दिनभरि रूखको फेदामा आँखा चिम्लेर बस्दा पनि उनले खोेजेको आरामको रहस्य के थियो ? त्यति बेला हाम्रो पनि स्वार्थ थियो । उनको निराहार पुष्टि भएमा विश्वभर बाराको नाम गौरवशाली हुनेछ तर हाम्रो स्वार्थ पूरा हुन पाएन ।
उनका बारे महिनैपिच्छे नयाँनयाँ हल्ला हुँदै गयो । बारा, पर्साका पत्रकारको काम त्यस दिनदेखि आजसम्म उनका राम्रा वा नराम्रा कुरा लेख्न र छयांकन गर्नमै सीमित रह्यो । कैयौँ दिन त हामीले बिहानैदेखि साँझसम्मै आफूलाई आधुनिक बुद्ध घोषणा गर्ने युवकको अघि रमिता हेरेरै बितायौैँ, रतनपुरी जंगलमा । हामीलाई त उनका सहयोगी र समितिले भनेअनुसार ‘उनी साँच्चै निराहार बस्छन् कि बस्दैनन् ?’ भन्ने सत्यको खोजी गर्नु थियो । मान्छेहरूलाई ठूलो भ्रम थियो र हामीसँग सोध्थे-‘तपाईंहरूलाई त सबै थाहा होला, खास सत्य
के हो ?’ मानौँ कि हामी महात्मा हौँ । त्यहीबीच एक दिन फर्पिङ गुम्बाबाट नेपालकै ठूला बौद्धिक गुरु रतनपुरी आउने कुराले हामीलाई त्यहाँ जान उत्साही बनायो । त्यस दिन त्यहाँ दर्शकको व्यापक भिड थियो । गुरु तिब्बती हुनाले नेपाली बुझ्दैनथे । दोभाषेको सहयोगमा उनलाई सोधियो-‘तपस्वी निराहार छन् कि छैनन् ?’ उनको जवाफ थियो-‘भगवान् गौतम बुद्धले पनि दिनमा एकपटक खान्थे तपस्या गर्दा ।’ सायद उनको नाम रोम्पोछे हुनुपर्छ -ठ्याक्कै सम्झनामा छैन) । ती तिब्बती गुरु पनि बम्जनको ‘निराहार तपस्या’ बारे प्रस्ट हुन सकेनन् ।
आफूलाई बुद्धको अवतार भन्ने, आफ्नी आमालाई समेत हात हाल्ने र कहिले केटीसँग जंगलमा लठारिँदै हिँड्ने, कहिले हतियार बोकेर हिँड्ने, कहिले आफ्नै भक्त विदेशी पाहुनाको अपहरण गर्ने, कहिले पत्रकार कुट्ने रामबहादुरकी आफ्नै आमाले उप्रान्त आफ्नो नाम छोरा रामबहादुरसँग नजोड्न भन्दै छिन्, तब किन रामबहादुरलाई बाराको नामसँग जोडेर सिंगै जिल्लाको बदनाम गर्ने ?

प्रतिक्रिया