ज्ञानेन्द्रलाई राजा नबनाउन ठूलै दबाब थियो

मानिसको जीवनका विरोधाभास पनि कस्ता  कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता भनिन्छ र राजतन्त्रलाई सामन्तवादको प्रतीक । जीवनको विरोधाभास केलाउदै जाने हो भने यस्तो देख्न सकिएला कि, चिसो पानीको कुण्डमा भयानक आगलागी  वा मानिसले आफ्ना स्वार्थलाई दर्शनको लेपन लगाउदै गयो भने त्यसलाई दर्शनाच्युत भन्ने वा नया दार्शनिक ? व्यक्ति स्वयंले आफूलाई नया दृष्टिकोणको व्याख्याता त भन्ला, त्यो बेग्लै कुरा हो तर कुनै बेला एक मात्र नेपाल कम्युनिस्ट पार्टीको महासचिव भइसकेका डा. केशरजंग रायमाझी राजाका पनि अनन्य भक्त हुन्, राजतन्त्रको छत्रछायामा कम्युनिस्ट पार्टी चलाउनुलाई महान् चिनिया’ सांस्कृतिक क्रान्ति’का नायक माओत्सेतुङले दिएको सल्लाहकै उपज भन्छन् उनी । र, कम्युनिस्ट पार्टीले गणतन्त्रका लागि लामो समय सडक आन्दोलन चर्काइरहेका बेला राजपरिषद्को सभापति रहेका नेपाल कम्युनिस्ट पार्टीका उनै भूतपूर्व महासचिव केशरजंग रायमाझीले दीपेन्द्र र ज्ञानेन्द्रलाई लगातार राजा घोषणा गरे । १९ जेठ २०५८ को दरबार हत्याकाण्ड र ज्ञानेन्द्र अनि उनका भतिजा दीपेन्द्रलाई राजा घोषणा गर्दा उनको स्मृति-

‘दरबारमा गोली चल्यो, तुरुन्त मिलिट्री हस्पिटल जानू भन्ने खबर छ’, नारायणहिटी दरबारभित्रैको नम्बरबाट फोन आयो । खबरको बीभत्सताले कसले फोन गरेको हो पनि मैले छुट्याउन सकिनँ । कपालको फेददेखि पैतालासम्म एक किसिमको सनसनाहट पैदा भयो । उत्तेजना र चिन्ताको राँको एकैपटक आँखाबाट भित्र पसेजस्तो भयो । बहादुर भवनस्थित राजपरिषद्को क्वार्टरमा खाना खाएर सुत्ने तरखर गर्दै थिएँ । महाराजधिराज वीरेन्द्र सरकारलाई नभेटेको झन्डै एक हप्ता बितेको थियो । मनमनै सोच्दै थिएँ ‘भोलि भेट्छु र आफ्ना केही योजना सुनाउँछु ।’ एक हप्ताअघि भेट हुँदा छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धका विषयमा सरकारले मसँग कुरा गर्न चाहिबक्सेको थियो । मनमा यही विषयमा कुरा खेल्दै थिए । तर, दरबारबाट आएको त्यो फोनले म छाँगाबाट खसेझैँ भएँ । वीरेन्द्र सरकारसँगको पहिलो भेट र संगतका सबै घटना दृश्य बनेर दिमागमा दौडिन थाले ।
जेठ १९ गते राति पौने १० बजे, त्यो दिन अंग्रेजी महिना जुन १ तारेख, शुक्रबार थियो । शुक्रबार दरबारमा हुने पारिवारिक जमघटको परम्परा थियो । सम्झेँ ‘अबेरसम्म पार्टी चल्यो र त्यसमै धेरै वादविवाद भयो कि !’ म सैनिक अस्पताल जान तयार भएर निस्केँ । बहादुर भवनदेखि छाउनीसम्म पुग्दा बाटामा पनि मनमा अनेक तर्कना खेल्दै थिए । दरबारमा गोली चल्यो मात्रै भनेको फोनमा सुनेको थिएँ, अरू के भयो, न उताबाट फोन गर्नेले स्पष्ट भन्यो न मैले नै सोध्न सकेँ । उसले केवल भनेको थियो, ‘दरबारमा गोली चल्यो, तुरुन्त मिलिट्री हस्पिटल जानू भन्ने खबर छ हजुर ।’ मैले भनेँ, ‘महाराजधिराज सरकारले बक्सेको हो ?’ मेरो प्रश्न सुन्न नपाउँदै उताबाट आएको वाक्य पूरा भएन, ‘महाराज धिराज त…!’ १० बजेतिर म सैनिक अस्पताल छाउनी पुगेँ । हात जोड्दै भित्र पसेँ र भनेँ ‘महाराजधिराज खोइ, महाराजधिराज खोइ !’ त्यहाँ राजपरिवारको कोही मान्छे पनि देखिनँ । पूरै अँध्यारोजस्तो लाग्यो, मैले केही देखिनँ । महाराजधिराज खोइ भनेर दुई-तीनपटक सोधेपछि एकजना त्यहीँ उभिएको मान्छेले भुइँतिर देखाउँदै भन्यो, ‘ऊ क्या त !’ यसो हेरेँ महाराजधिराज वीरेन्द्र त लम्पसार परेको, सेतो कपडा ओढाइएको, मुख बाएको र आँखा ट्वाल्ल हेरेको अवस्थामा देखेँ । टाउकामा सेतो ब्यान्डेज लगाइएको थियो, सेतो ब्यान्डेजमा अलिअलि रगतको रातो दाग ! मैले त्यो दृश्य हेर्नै सकिनँ । उता तलतिर हेर्छु बडामहारानी ऐश्वर्य पनि लम्पसार गरेर ढलिबक्सेको, अर्कातिर नीराजन सरकार र श्रुति पनि । मुटुदेखि गाँठो परेर घाँटीसम्म बटारिँदै आएको हिक्का मैले थाम्नै सकिनँ । म डाँको छोडेर रुन पुगेछु ।
म रोएको देखेपछि प्रधानसेनापति प्रज्ज्वलशमशेर राणाले मेरो पाखुरा समातेर सम्हाले । ‘हजुरले पनि यसो गरेपछि अरूको के हालत हुन्छ’ भनेर उनी मलाई सम्झाउन खोज्दै थिए । सम्हालिन मलाई अझै गाह्रो पर्‍यो । ‘चिफसाप यो के भएको हो ?’ मैले चिच्याउँदै उनलाई सोधेँ, उनी बोलेनन् । प्रधानसेनापतिलाई मैले अझै सोधेँ ‘ज्ञानेन्द्र सरकार खोइ ?’ उनले पोखराबाट प्लेन नआएको र सवारी हुँदै गरेको सुनाए । प्रधानसेनापतिसँग मैले कुरा गर्दै गर्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल र सभामुख तारानाथ रानाभाट आइपुग्नुभयो । उहाँहरू पनि सबै मुक, सबै आश्चर्यमा । कोही केही बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । यो कसरी भयो भनेर जिज्ञासा राख्नुबाहेक कसैले पनि केही कुरा गर्न सकेनन् । त्यो रात मैले लामो समय छट्पटाएरै सैनिक अस्पतालमा बिताएँ । बिहानीपख हुन लागेपछि म क्वार्टरमा आएँ । राजपरिषद्को सभापति पनि भएकाले मैले जति पीडा र दुःख हुँदा पनि सयंम हुनुपर्ने र सम्हालिनु पर्ने थियो । क्वार्टरमा आएर पनि म बस्न सकिनँ । रातभरि रोएर आँसुका धर्सा परेको अनुहार चिसो पानीले पखालेँ र ६ बजेतिर म फेरि गएँ छाउनी अस्पताल । त्यहाँ म पुगेपछि अधिकाराजकुमार ज्ञानेन्द्र सरकारको पनि सवारी भयो । चिन्ता, शोक र वेदनाले गलित मन ज्ञानेन्द्र सरकारलाई देखेपछि अलि शान्त भयो ।
आफू राजपरिषद्को सभापति भएकाले पनि मैले त्यो वीभत्स र अन्योलपूर्ण अवस्थामा निकास दिन सक्रियता देखाउनु पर्ने थियो । त्यसैले मैले भोलिपल्टै राजपरिषद्को बैठक डाकेँ । अघिल्लो रात ९ . १५ बजे श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेव सरकारको निधन भएको र सोही रात ९ ः २५ बजे श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहसहित राजपरिवारका अन्य सदस्यको स्वर्गारोहण भएको प्रमाणपत्र डाक्टरले मेरो हातमा दिए । अस्पतालले दिएको स्वर्गारोहणको प्रमाणपत्र नै मैले परिषद् बैठकमा सुनाएँ । महाराजधिराज वीरेन्द्र र बडामहारानी ऐश्वर्यका साथै अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिको निधन भइसकेको थियो । युवराजधिराज दीपेन्द्र जीवित रहे पनि अचेत अवस्थामा होइबक्सन्थ्यो । यस्तो कठिन अवस्थामा निर्णयमा पुग्न हामीलाई धेरै अप्ठेरो परेको थियो । मैले राजपरिषद्को बैठकमा अचेत अवस्थामा रहेका युवराजधिराज दीपेन्द्रलाई महाराजधिराज घोषणा गर्ने प्रस्ताव राखेँ । राजपरम्परा प्रचलित ऐन र संविधानअनुरूप हामीसँग अर्काे विकल्प पनि त थिएन । प्यारा राजारानीको स्वर्गारोहण भएका बेला युवराजधिराज पनि अचेत अवस्थामा रहिबक्सेकाले राजपरम्पराअनुरूप नै राज्यसहायक पनि घोषणा गर्नुपर्ने अवस्था थियो । मैले त्यही बैठकमा युवराजधिराज दीपेन्द्रलाई राजा घोषणा गर्ने र ‘मौसुफ अशक्तावस्थामा रहेकाले मौसुफका नजिकका नातेदार स्वर्गीय महाराजधिराज वीरेन्द्रका माइला भाइ अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक’ घोषणा गर्ने प्रस्ताव एकैपटक राखेँ । त्यतिखेर कसैले खासै विमति राखेको मैले पाइनँ । राजपरिषद्को बैठकले यस्तो घोषणा गरेपछि राजपरिवारका सदस्यको शवयात्रा र दाहसंस्कार गरियो ।
इतिहासको संकटपूर्ण कालखण्डमा मैले राजपरिषद्को सभापतिका रूपमा जस्तै संकट परे पनि राजपरम्पराअनुरूप निर्णय लिनैपर्ने बाध्यता र चुनौती थियो । राजदरबारमा भएको त्यत्रो त्रासदीपूर्ण दुर्घटनाका विषयमा समयमै यथार्थ सूचना नभएकाले जनतामा असन्तोष रहेको मैले पनि महसुस गरेको थिएँ । तर, परिस्थिति यति कठोर र निर्दयी बन्दै गएको थियो कि म आफैँले गहिरो शोकबीच दुई दिनको अन्तरमा दुई-दुईवटा राजा घोषणा गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्‍यो । दीपेन्द्रलाई राजा घोषणा गरेको पर्सिपल्टै जेठ २२ गते बिहान ३.४५ बजे दीपेन्द्र सरकार स्वर्गारोहण भएको प्रमाणपत्र त्यस दिन बिहानै डाक्टरले मेरो हातमा थमाइदिए । त्यसपछि मैले फेरि राजपरिषद्को बैठक बोलाएँ ।
दीपेन्द्र सरकारको स्वर्गारोहण भएपछिको राजपरिषद् बैठकमा मैले ज्ञानेन्द्रलाई राजा घोषणा गर्ने प्रस्ताव राखेँ । राजप्रतिनिधि परिषद्मा सदस्य रहँदा मैले ज्ञानेन्द्रको क्षमता, व्यवहार र रुचिलाई राम्रोसँग चिन्ने अवसर पाएको थिएँ । वीरेन्द्र सरकारले पनि आफूले महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्दा अधिराजकुमार ज्ञानेन्द्र सरकारसँग सरसल्लाह र परामर्श लिइबक्सन्थ्यो । त्यस्तो बेला ज्ञानेन्द्र सरकारले दिएका महत्त्वपूर्ण र गहन सुझाबहरू मलाई पहिल्यैदेखि गहन र महत्त्वपूर्ण लाग्थे । मैले ज्ञानेन्द्र सरकारलाई राजा घोषणा गर्ने प्रस्ताव राखेपछि परिषद् बैठकमा केहीले विरोध गरे । ज्ञानेन्द्रलाई राजा नबनाएर अर्काे कसैलाई बनाउ“m भन्दा पनि ‘यस्तो नगरौँ अब मुलुकमा गणतन्त्र ल्याउनुपर्छ भन्ने’ कोणबाट कुराहरू आइरहेको मैले थाहा पाएको थिएँ ।
राजपरिषद्मा कसले त्यस्तो प्रस्ताव ल्याएको थियो भन्ने कुरा अहिले म भन्न चाहन्नँ तर ज्ञानेन्द्र सरकारलाई राजा नबनाउन ठूलै अभ्यास भएको रहेछ भन्ने कुरा मैले पछि आएपछि मात्र थाहा पाएँ । राजपरिषद्मा राजाले छानेका मात्र मान्छे हुन्छन् भन्ने पनि होइन, संवैधानिक रूपमा व्यवस्था गरिएका पदेन सदस्य पनि धेरै हुन्थे । कसको मत कस्तो थियो भन्नु अहिले उपयुक्त हुँदैन तर ज्ञानेन्द्रलाई राजा बनाउन नहुने कुरा त्यस बैठकमा उठेको थियो । महाराज दीपेन्द्रका नजिकका नातेदार नै ज्ञानेन्द्र सरकार भएको कुरा राखेर मौसुफ सरकारलाई नै महाराजधिराज घोषणा गर्ने प्रस्ताव राखेपछि पक्ष र विपक्षमा मतदान नै गर्नुपर्ने अवस्था उत्पन्न भयो । विरोधको स्वर सानो थियो, झन्डै ८५ प्रतिशतभन्दा बढी सदस्यहरूले ज्ञानेन्द्र सरकारलाई नै राजा बनाउने मौखिक मत व्यक्त गरेपछि मैले प्रचलित राजपरम्पराअनुसार ज्ञानेन्द्र सरकारलाई नेपाल अधिराज्यको महाराजधिराज घोषणा गरेँ । ज्ञानेन्द्रलाई राजा नबनाउन मलाई केही भारतीयले भेटेर दबाब पनि दिएका थिए । दरबारमा त्यस्तो दुर्घटना भएदेखि नै मलाई भेट्न खोज्ने र दबाब दिन खोज्नेको एउटा समूह नै क्रियाशील थियो ।
मानिसलाई समय र इतिहासले कर्तव्य र जिम्मेवारी दिएको हुन्छ । आफ्नो परिभाषित कर्तव्यबाट जो च्यूत हुन्छ उसलाई इमानदार भन्न सकिँदैन । आफ्ना निजी आकांक्षा र अभिलाषा त सबैका हुन्छन् तर आफ्ना आकांक्षा गौण र इतिहास, समाज र राज्यले सुम्पेको कर्तव्य पूरा गर्नु नै मान्छेको इमानदारी हो । राजा घोषणा गर्ने परिभाषित जिम्मेवारी राजपरिषद्को नेतृत्वमा रहेकाले मेरो थियो । मैले आफूमा भएको शक्तिको दुरुपयोग गरेर दायाँ-बायाँ सोच्नसम्म पनि अपराध ठानेँ । कम्युनिस्ट पार्टीको राजनीतिक पृष्ठभूमिबाट हुर्केको र प्रजातान्त्रिक संस्कारले नै राजनीतिलाई स्वच्छ बनाउन सकिन्छ भन्ने मेरो आफ्नो मान्यता थियो । नेपालको राजनीतिक स्थायित्वका लागि पनि राजसंस्था आवश्यक छ भन्ने कुरा मैले कम्युनिस्ट पार्टीको महासचिव भएकै बेला पनि चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङ र रूसी कम्युनिस्ट पार्टीका नेता ख्रुस्चेभसँग पनि राखेको थिएँ । मेरो राजनीतिक सुझबुझलाई माओ स्वयंले प्रशंसा गरेपछि झन् नेपालको सन्दर्भमा राजतन्त्रसहितको प्रजातन्त्र आवश्यक भनेर म लागेको हुँ । त्यसैले कम्युनिस्ट पार्टीको नेतृत्वको लामो पृष्ठभूमि भएरै पनि मैले इमानदारीसाथ मुलुकमा दुईवटा राजा घोषणा गर्ने जिम्मेवारी निर्वाह गरेँ ।
प्रस्तुतिः रामशरण बजगाईं

प्रतिक्रिया