ठूलो महत्वको सानो किताब

साहित्यका विधामध्ये एउटा विधालाई रोजेर म यस सन्दर्भमा आउन चाहन्छु । अर्थात्, कविताका पुस्तकमध्ये म आफूलाई मन परेको एउटा पुस्तकमा केन्द्रित हुन चाहन्छु । पुस्तकः घुम्ने मेचमाथि अन्धो मान्छे । कविः भूपी शेरचन ।
आधुनिक नेपाली कविताका समर्थ कविको हारमा भूपी शेरचनको नामलाई सबभन्दा माथिल्लो स्थानमा राख्न सकिन्छ । गोपालप्रसाद रिमालबाट सुरु भएको आधुनिक नेपाली गद्य कवितालाई भूपी शेरचनले उत्कर्षमा पुर्‍याएका हुन् । त्यस्तो उत्कर्षलाई हामी उनको कवितासंग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा देख्न सक्छौ । नेपाली जनमानसको प्रत्यक्ष सरोकारको विषयलाई भूपी शेरचनले आफ्नो कविताको विषय बनाएका छन् । ती विषयलाई सशक्त व्यङ्ग्यको कलात्मक प्रस्तुतिद्वारा आकर्षक वाणी दिएका छन् । ‘हामी’, ‘मैनवत्तीको शिखा’, ‘हो–चि मिन्हलाई चिठ्ठी’, ‘मेरो चोक’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘यो हल्लै हल्लाको देश हो’, ‘चीसो एस्टे«’, ‘घण्टाघर’ जस्ता भूपी शेरचनका कविता पढ्नासाथ हामीलाई भूपी शेरचनको रचनासंसारको विस्तृत सौन्दर्य थाहा हुन्छ ।
तीसको दशकतिर नेपाली कविताको एउटा धार लगभग अनेपाली शैलीमा आङ्खनै किसिमको उत्कृष्टताको यात्रा गर्न थालेको थियो । कला कलाका निम्ति भन्ने किसिमको मान्यताद्वारा परिचालित त्यस यात्राले नेपाली समाजको यथार्थ र मनोविज्ञानलाई त्यति महŒव दिएको थिएन । मोहन कोइराला, मदन रेग्मी, द्वारिका श्रेष्ठजस्ता स्वनामधन्य कविले कवितालाई दुरूह, दुर्बोध्य र विशेष योग्यता भएको पाठकले मात्र पढ्न सक्ने बनाइदिएका थिए । त्यसैले कविता पाठकबाट भागिरहेको थियो भने पाठक कवितादेखि तर्सिएर भागिरहेका थिए । यसरी नेपाली कवितालाई आम पाठकको सरोकार र रुचिक्षेत्रबाट अलग्याउने किसिमका कविताले तथाकथित आधुनिकताको विशेषण पाइरहेका बेला भूपी शेरचन नेपाली शैलीमा उत्कृष्टताको निर्माण गर्न एक्लो बृहस्पति बनेर लम्किरहेका थिए ।
भूपी शेरचनको कवितासंग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ले नबुझिने कविताबाट बिच्किएका पाठकलाई समेटेर कविताको परिसरतिर ल्याउने काम गरेको थियो । कविताका पाठकलाई बचाउने, उनीहरूको संवेदनशीलतालाई झंकृत पारेर कविताको सामथ्र्यप्रति आश्वस्त गराउने र कविताका पाठकहरू बढाएर प्रकारान्तरले नेपाली समाजको नैतिकनिष्ठा, अग्रगामी परिवर्तनप्रति नेपाली मानसको जागरण, मानवीय सत्ताका मूल्यबोधहरूप्रति उनीहरूको आशक्ति प्रवद्र्धन गर्ने काममा भूपी शेरचनले कवितामार्फत् मूल्यवान् योगदान गरेका छन् । त्यसकारण पनि भूपी शेरचन र उनको कवितासंग्रह घुम्ने मेचमाथि अन्धो मान्छे नेपाली साहित्यका आम पाठकका निम्ति निरन्तर सम्झनलायक नाम हुन् ।
नेपाली समाजका मानिसको साझा दुःखलाई भूपीले आफ्ना कविताबाट सशक्त प्रकारले अभिव्यक्ति दिएका थिए । आफ्नो समयको नेपाल र नेपाली समाजलाई भूपीले कवितामा प्रखर व्यङ्ग्यसहित तीव्रतापूर्वक वाणी दिएका छन् ।
वास्तवमा भूपी शेरचनले आधुनिक नेपाली कविताको मानक स्थापित गरिदिएका हुन् । कविता भनेको जनसाधारणको पहुचभित्र पर्नुपर्ने शैक्षिक सामग्री हो भन्ने ज्ञानलाई उनको कविताले आफ्नै लयमा प्रस्ट पारेको छ । गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ हुदै भूपी शेरचनसम्म आइपुग्दा स्वच्छन्द नेपाली कविताले एउटा ठूलो आधारस्तम्भ निर्माण गरेको छ । यस स्तम्भलाई अझ बलियो पार्ने काममा आज पनि थुप्रै नेपाली कवि प्रयत्नशील छन् ।
भूपी शेरचनका प्रभावशाली कविता पढेर प्रभावित भइसकेपछि उनलाई भेट्ने रहर जागेको थियो । तर, मेरो जीवनमा उनी त्यतिन्जेल अर्थात् विसं २०३४ सम्म भेटिएका थिएनन् । कुनै एउटा संयोग जुर्‍यो र एकदिन केही साथीसहित हामीले उनलाई भेट्ने अवसर पायौ“ । सुनिएजस्तै उनी विनम्र, व्यङ्ग्यचेतले भरिपूर्ण र मृदुभाषी रहेछन् । त्यस भेटपछि ममा उनीप्रति रहेको सम्मानभाव अझ बढेर गयो । दोस्रो भेट तत्कालीन प्रज्ञाप्रतिष्ठानमा भएको थियो । त्यतिखेर उनी प्राज्ञ थिए र त्यहाबाट निस्कने कविता पत्रिकाको सम्पादक पनि थिए । म कसैको हुलाकी बनेर उनलाई कविता पुर्‍याउन गएको थिए“ । तेस्रो भेट चावहिलकै एउटा साहित्यिक कार्यक्रममा भएको थियो । उनी अतिथिका रूपमा आइपुगेका थिए । सायद रमेश विकलले बोलाएर उनी त्यहा पुगेका थिए । त्यतिखेर मैले मधुरो स्वरमा मञ्चबाट भूपी शेरचनले बोलेको सुनेको थिए । कवितामा त्यति प्रखर र चर्को स्वरले बोल्ने मानिस जीवनमा निकै सानो स्वरमा प्रस्तुत भएको देखेपछि उनीप्रति ममा झन् आकर्षण बढेको थियो । र, चौथो भेटमा मैले उनीस“ग एउटा अन्तर्वार्ता गरेको थिए । त्यो अन्तर्वार्ता कवितासम्बन्धी उनको समझको दृष्टिले पठनीय बनेको थियो । अन्तिमपटक साथी विक्रम सुब्बा र मैले नक्साल, नारायण चौरस्थित उनकै घरमा भेटेका थियौ“ । त्यतिबेला उनी ओछ्यानमा पल्टिएर टेलिभिजनको पर्दामा आइरहेको क्रिकेटको खेल हेरिरहेका थिए । सिरानको छेउमा अक्सिजनको सिलिन्डर ठडिएको थियो । त्यसपछि मलाई लाग्यो, नेपाली साहित्यको यो महापुरुष विस्तारै ढल्न थालेको छ । नभन्दै त्यसको दुई महिनापछि भूपीको निधन भयो ।
भूपी शेरचनले कवितामा नेपाली जमिन र यसमा उभिएको संस्कृतिका जराहरूलाई त व्यक्त गरेका थिए नै, साथै उनले विश्व रंगमञ्चमा भइरहेको राजनीतिक गतिविधिमाथि पनि सजगतापूर्वक कलात्मक अभिव्यक्ति दिएका थिए । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भित्र समेटिएको ‘हो–चि मिन्हलाई चिठ्ठी’ शीर्षकको कविताले यस कुराको बलियो दृष्टान्त प्रक्षेपण गरेको छ । हेरौः
तिम्रो प्रत्येक बौद्ध विहारको विध्वंसमा
मैले आफ्नो स्वयंभूको ज्ञानचक्षुमा
आसु उर्लिएको देखेको छु
तिम्रो हनोईमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथि परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरू
मैले पनि जागरणका टे«न्चहरूमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरि मूढाहरू दन्किरहेको बेलामा ?
(घुम्ने मेचमाथि अन्धो मान्छे, पृष्ठः ३९)
भूपी शेरचनमाथि लामो अभिव्यक्ति गर्न सकिन्छ । तर, यहा म त्यसो गर्दिन । नेपाली साहित्यमा अहिले जति पनि समर्थ कविहरू आएका छन्, तिनको अग्रगामी यात्रामा भूपीका कविताले मार्गदर्शकको काम गरेका हुन् भन्ने प्रष्ट पार्न म यहा“ मलाई मन परेको पुस्तक ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को छोटो चिनारी दिने ध्येयमा सीमित भएको छु ।

प्रतिक्रिया