कुलेखानीको ताला खुल्यो

काठमाडौं ,२३ चैत । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीलाई सरुवा गरेपछि आयोजनाको कार्यालयमा लगाइएको ताला बिहीबार खुलेको छ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसीले प्राधिकरणले गरेको कर्मचारी सरुवा हाललाई स्थगन गरेपछि १५ दिनपछि ताला खुलेको हो । गत ७ र ८ चैतमा कुलेखानीका ४९ कर्मचारी सरुवा गरेपछि प्राधिकरण कर्मचारी युनियन र कर्मचारी संघमा आबद्ध कर्मचारीले ९ चैतमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए । ऊर्जा मन्त्रालय र प्राधिकरणले कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्दै वार्तामा बस्ने र भएका सरुवा तत्काललाई कार्यन्वयन नगर्ने पत्र पाएपछि आन्दोलनरत मजदुरले बिहीबार ताला खोलेका हुन् ।
आयोजनामै तालाबन्दी गरेपछि आयोजनाको काम ठप्प भएको थियो । सोका कारण आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोलाई भुक्तानी दिने लगायतका समेत समस्या उत्पन्न देखिएको थियो ।  ‘कर्मचारीको सरुवा कार्यावन्यन नगर्ने भएपछि आन्दोलन स्थगन भएको छ, यसले अब कुलेखानी जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढ्छ ’ आयोजनाका प्रशासकीय अधिकृत रामप्रसाद गौतमले भने ।
यसअघि पनि सिनो हाइड्रोसग विभिन्न माग राखेर मजदुरले आन्दोलन गरेपछि फागुन अन्तिम सातादेखि सुरु हुने भनिएको निर्माण विवाद समाधान गरेर चैतको पहिलो साता मात्र सुरु भएको थियो । विवादका कारण गत २५ पुसदेखि निर्माण रोकिएको आयोजना सुरु गर्न ठेकेदार चिनिया“ कम्पनी सिनो हाइड्रो र प्राधिकरणबीच ३० महिनाभित्र आयोजना निर्माण पुरा गर्ने सहमति भएको हो ।  आयोजनाको निर्माणमा बाधा व्यवधान नआएमा समयमै सिध्याउने सिनो हाइड्रोले बताउदै आएको छ । सन् २००८ मा मकवानपुर जिल्लाको भैंसेमा निर्माण सुरु भएको १४ किलोवाट क्षमताको सो आयोजना तीन वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य राखी सुरु गरिए पनि पूरा हुन सकेको छैन ।

प्रतिक्रिया