खोइ सुरक्षा ?

राज्यले चौथो अंगका रूपमा अंगीकार गरेको सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको शृंखलाबद्ध हत्या भइरहेको छ । पछिल्लोपटक झापाका पत्रकार यादव पौडेल मारिएका छन् । समाचार सम्प्रेषण गरेकै कारण पत्रकारले भोग्नुपरेको ज्यादतीको पराकाष्ठाका रूपमा पौडेलको हत्यालाई लिइनुपर्छ । उनको झापाको मुख्य बजार बिर्तामोडमा बीभत्स हत्या हुदासमेत हत्यारा पत्ता लाग्न सकेको छैन । यस्ता जघन्य घटना हुदा पनि प्रधानमन्त्री र गृहमन्त्री दुःख मात्रै व्यक्त गरेर आफ्नो दायित्वबाट पन्छिएका छन् । हत्यारा पत्ता लगाएर तुरुन्त कारबाही गर्नुपर्ने वा दायित्व निर्वाह गर्न नसकेकामा राजीनामा दिनुपर्नेहरू नै दुःख व्यक्त गरेर पन्छिनु दुर्भाग्य हो । सरकारले सुुरक्षास्थिति मजबुत बनाएर आफ्ना नगरिकको बा“च्न पाउने अधिकारको प्रत्याभूति दिनैपर्छ ।
२०५९ साल मंसिर २५ गतेदेखि लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको मेरुदण्डका रूपमा रहेको सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको शृंखलाबद्ध हत्या हुन थालेको हो । अम्बिका तिमल्सिनादेखि वीरेन्द्र साह र जेपी जोशीदेखि यादव पौडेलसम्म आइपुग्दा थुप्रै पत्रकारले ज्यान गुमाइसकेका छन् । धम्की, कुटपिट र हत्याका घटना भए पनि अपराधीले दण्ड पाएका छैनन् । चिनिएका अपराधीलाई पनि सरकारले सजाय दिएको छैन, बरु प्रकाश ठकुरीलाई बेपत्ता पार्नेहरूको मुद्दा फिर्ता लिन सरकारले पटकपटक प्रयास गरेको छ । दण्डहीनतालाई प्रश्रयदिने सरकारकै कारण प्रत्येक पत्रकारले असुरक्षा भोग्नुपरेको हो ।
सरकार नै लाचार र निकम्मा बन्दै अपराधीलाई नै संरक्षण गर्न पुग्यो भने त्यो राज्य स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको विरोधी बन्न पुग्छ । वर्तमान सरकारले पत्रकार साहका हत्यारा चिनेर पनि कारबाही नगरेकाले अपराधीहरूमा उत्साह थपिएको हो । कञ्चनपुरका पत्रकार ठकुरी बेपत्ता छन् र उनलाई बेपत्ता पार्नेहरू ऐसआरामको जिन्दगी बिताइरहेका छन् । सरकार नै अपराधीको मुक्तिदाता भएको छ । सरकारले आफूलाई सुशासन र कानुनी राज्यको हिमायती ठान्छ भने अपराधीलाई कारबाही गरेर देखाउन सक्नु पर्छ । सरकारी उदासीनता र धेरै हदमा सरकारकै कारण अहिले मुलुकमा दण्डहीनता मौलाएको छ । सजाय नहुने भएपछि अपराधी स्वतन्त्ररूपमा हिडिरहेका छन् । सुरक्षा निकाय मूकदर्शकझै“ भएका छन् र तिनको अक्षमताले अपराधी बलिया भइरहेका छन् ।
कलमजीवी पत्रकारको लगातार हत्या हुदा पनि सरकार गम्भीर नबनेपछि परिस्थिति झन् जटिल बन्दै गएको छ । तसर्थ, वर्तमान सरकारले पत्रकार पौडेल हत्याकाण्डलाई गम्भीरतापूर्वक लिएर अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्छ । यस मुलुकमा पत्रकारमाथि मात्र खतरा आइलागेको ठानिनु हुदैन । पत्रकारहरूको शृंखलाबद्ध हत्यामार्फत लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारमाथि नै हमला भएको बुझिनुपर्छ । तसर्थ सरकारले तुरुन्त हत्यारा पक्राउ गरेर हदैसम्मको दण्डदिने व्यवस्था गरोस् र उप्रान्त यस्ता घटना नदोहरिने वातावरण बनाउन लागिपरोस् ।

प्रतिक्रिया