अझै भएन नर्सिङ पढाइ

चितवन, २३ चैत । शुल्क विवाद नटुंगिदा आशा नर्सिङ कलेजमा पढाइ सुचारु भएको छैन ।
नर्सिङ कलेजले चर्को शुल्क लिएको भन्दै छात्राहरूले २८ फागुनदेखि आन्दोलन गरेका थिए । १४ चैतमा भएको वार्तापछि शुल्क घटाउने सहमति भए पनि आशाले सहमति पालना नगरेपछि पढाइ रोकिएको हो तर आशाका सञ्चालक नारायणसिंह कुवरले तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिइएको तीन लाख ९४ हजार चार सय ९५ रुपिया घटाउन नमानेपछि कलेज सञ्चालनमा आउन नसकेको हो । १४ चैतमा भएको वार्तामा शुल्क घटाएर तीन लाख ७५ हजार रुपिया लिने सहमति भएको थियो । आशाका सञ्चालकले शुल्क घटाउन नमान्दा एक महिनादेखि पढाइ रोकिएको भन्दै अभिभावकले पढाइ सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेर जिल्ला प्रशासन कार्यालयमा बिहीबार ज्ञापन–पत्र बुझाएका छन् ।
सञ्चालक कुवरसग अनुरोध गर्दा शुल्क घटाएर पढाइ सञ्चालन गर्न नमानेकाले प्रशासन गुहार्नुपरेको अभिभावक महेन्द्रराज खनालले बताए । चितवनका सहायक सिडिओ लक्ष्मीप्रसाद शर्माले अभिभावकको ज्ञापन–पत्र बुझ्दै यथाशीघ्र कलेज सञ्चालन गर्ने वातावरण बनाउन पहल गरिने बताए ।
आशामा तेस्रो वर्षमा ४० छात्रा अध्ययनरत छन् । अस्पताल सञ्चालक नारायणसिंह कुवरले अभिभावकसग पहिलो वर्षमा नै तीन लाख ९४ हजार चार सय ४५ रुपिया लिने सहमति भएकाले रकम घटाएर पढाउन नसक्ने बताए । ‘कलेजको भौतिक संरचना पनि हेर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि शुल्कको कुरा आउछ ।’
चितवनमा सिटिइभिटीअन्तर्गतका दसवटा नर्सिङ कलेज सञ्चालनमा छन् । यसअघि सिटिइभिटीले शुल्क नतोक्दा नर्सिङ कलेजले आफूखुसी शुल्क लिदै आएका थिए । विद्यार्थीको आन्दोलनपछि भएको वार्तामा पहिलो वर्ष अध्ययनरतलाई सिटिइभिटीले तोकेको तीन लाख ९६ हजार तीन सय २० रुपिया, दोस्रो वर्षकालाई चार लाख ३६ हजार रुपिया र तेस्रो वर्षकालाई तीन लाख ७५ हजार रुपिया एकमुष्ट लिने सहमति भएको थियो ।

प्रतिक्रिया