विश्वकै दोस्रो अग्लो ‘हेड’ भएको आयोजना अध्ययनमा ढिलासुस्ती

काठमाडौं, २२ चैत । विश्वकै दोस्रो तथा नेपालको सबैभन्दा अग्लो ‘हेड’ भएको उत्तरगंगा जलविद्युत् आयोजनाको अध्ययनमा ढिलासुस्ती भएको छ ।
सन् २००४ मा सम्भाव्यताको पूर्वअध्ययन गरिसकेको सो आयोजनाको अध्ययन चालु आवमा नेपाल विद्युत् प्राधिकरणद्वारा सुरु गरिएको हो । करिब नौ करोड रुपिया लाग्ने अध्ययनका लागि सरकारले दुई करोड रुपियामात्र छुट्याएपछि अध्ययनमा ढिलासुस्ती देखिएको हो । ‘नौ करोड रुपिया अध्ययनका लागि लाग्छ, अहिले जम्मा दुई करोड छुट्याइएको छ, बजेट पर्याप्त नभए आयोजना अध्ययनमा ढिलाइ हुन सक्छ,’ उत्तरगंगा जलविद्युत् आयोजनाका प्रबन्धक पूर्णकुमार थिकेले भने । प्राधिकरणका अनुसार तीन सय मेगावाटको सो आयोजनाको अध्ययन गर्न अझै तीन वर्ष लाग्नेछ ।
बाग्लुङका सभासद् एवं पूर्व ऊर्जाराज्यमन्त्री रामजी शर्माका अनुसार आयोजनास्थल अमेरिकाको एक जलविद्युत् आयोजनापछिको सबैभन्दा अग्लो ‘हेड’ मानिएको जलविद्युत् आयोजना हो । यसको हेड एक हजार तीन सय ५६ मिटर छ । प्राधिकरणले अहिलेसम्म अध्ययन गरेका जलाशययुक्त आयोजनामध्ये सबैभन्दा आकर्षक आयोजनाका रूपमा उत्तरगंगालाई लिइने गरिन्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पानीको उच्च रेगुलेसन ८५ प्रतिशत भएकाले सुख्खा याममा समेत २४ घण्टा नै तीन सय मेगावाट उत्पादन गर्न सक्ने, सेन्टिमेन्ट लोड कम भएकाले सबैभन्दा बढी आयु हुने र विद्युत् गृहमा पहुच मार्ग पुगिसकेको एकमात्र आयोजना हो ।
आयोजना निर्माणका लागि कम जोखिम मोल्नुपर्ने आयोजनाभित्र पनि यो आयोजना पर्छ । प्राधिकरणका अनुसार उत्तरगंगा आयोजना निर्माण गर्दा अति कम ६५० हेक्टरमात्र जमिन डुबानमा पर्ने, ५२५ घरधुरीमात्र पुनस्र्थापित गर्नुपर्ने, सन् २००४ मा भएको सम्भाव्यताको पूर्वअध्ययन अनुसार अति कम प्रतियुनिट ५.४८ पैसा युएस सेन्ट पर्ने आयोजनामध्येको एक हो ।
‘लोडसेडिङको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त र आकर्षित आयोजना भए पनि सरकारले अध्ययनका लागि आवश्यक बजेट नछुट्याएर बेवास्ता गरेको छ,’ प्राधिकरणका एक अधिकारीले थपे, ‘उत्तरगंगा आयोजनाका लागि तुरुन्तै विदेशी परामर्शदाता नियुक्त गरेर सरकारले निर्माणका लागि पहल गर्नुपर्छ ।’ सन् २००४ का अध्ययनले ५० अर्ब लाग्ने अनुमान गरे पनि अहिले करिब ८० अर्ब लाग्ने अनुमान छ । ‘प्राधिकरण महंगा आयोजनामा बढी कमिसन पाउने भएर हो कि किन हो, त्यतातिर बढी सक्रिय हुन्छ,’ पूर्वराज्यमन्त्री शर्माले भने, ‘सस्तो आयोजनाभित्र पर्ने उत्तरगंगालाई खासै चासो दिएको छैन, अध्ययनमै समय खर्चिरहेको छ ।’ उनका अनुसार विकास समितिमार्फत स्वदेशकै लगानीमा आयोजना अघि बढाउन सक्ने अवस्था छ भने स्वदेशी लगानीकर्ताहरू पनि इच्छुक छन् ।
सरकारको बेवास्ता र कम बजेटका कारण आकर्षक उत्तरगंगा जलविद्युत् आयोजना अध्ययनमै ढिलासुस्ती भएको बाग्लुङ क्षेत्रका बासिन्दाको आरोप छ । उनीहरू प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलेदेखि जनमोर्चा नेपालको नेता चित्रबहादुर केसीको ढोका घच्घच्याउन समेत पुगे । बाग्लुङकै नेता भएर उनीहरूले कुनै वास्ता नगरेको आरोप स्थानीयवासीको छ । ‘हामीले त बारम्बार अध्ययन छिटो गरेर बनाऊ भनेर सरकारलाई घच्घचाइरहेका छा“ै, तर बजेट कम दिएर सरकारले नै बेवास्ता र आयोजनामा लापरबाही गरिरहेको छ,’ बाग्लुङका सभासद् नरबहादुर पुनले भने । आयोजनालाई अघि बढाउनका लागि सार्थक प्रयास गर्न नसकेको पूर्व सांसद् बलावती शर्मा स्विकार्छिन् । ‘हामीले पहल गरेका त हा, तर त्यसलाई अगाडि बढाउन सार्थक पहल पुगेन,’ उनले थपिन्, ‘अब प्रधानमन्त्रीकहा“ गएर दबाब पनि दिन्छा र स्थानीयवासीलाई पनि सजग बनाउछौ ।’
ढोरपाटन, जलजलालगायतका पर्यटकीय क्षेत्रसमेत रहेको उत्तरगंगा आयोजनालाई विद्युत् पर्यटकीय क्षेत्र बनाउने सम्भावना पनि देखिएको छ । विश्वकै दोस्रो अग्लो हेड भएको आयोजना भएकाले यो हेर्नका लागि धेरै पर्यटक आउन सक्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सदस्य मोहनराज पन्त बताउ“छन् । ‘वरिपरि ढोरपाटन, जलजलालगायतका क्षेत्र पनि छन्, उत्तरगंगा जलविद्युत् आयोजना निर्माण क्षेत्र पनि आकर्षक छ र अग्लो हेड भएको आयोजना भएकाले यसलाई हाइड्रो टुरिज्जम आयोजनाका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने । प्राकृतिक सुन्दरताको हिसाबले उक्त आयोजना विश्वकै सबैभन्दा राम्रो आयोजना हुन सक्ने विश्वास उनको छ । सबै कारणले उत्तरगंगा आयोजना देशका लागि उपयुक्त भएकाले पर्याप्त बजेट दिएर आयोजनालाई विश्वकै उदाहरणीय बनाउनुपर्ने माग स्थानीयवासीको छ ।

प्रतिक्रिया