युभेन्ट्सको अपराजित यात्रा जारी

मिलान, २० चैत । साविक विजेता एसी मिलानलाई कडा चुनौती प्रस्तुत गर्ने क्रममा युभेन्ट्सले इटालियन सेरी ए फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार एसएस सी नेपोलीलाई ३-० ले हराउँदै युभेन्ट्सले जारी संस्करणमा अपराजित यात्रालाई ३०आंै खेलसम्म ल्याइपुर्‍यायो । कुनै खेल नहारे पनि युभेन्ट्स शीर्षस्थानमा भने छैन । शीर्षस्थानको एसी मिलानभन्दा सो टोली दुई अंकले पछि छ ।
३० खेलपछि ६२ अंक जोड्ने क्रममा युभेन्ट्सले १४ खेलमा बराबरीको नतिजा निकाल्यो । समान खेलपछि ६४ अंक भएको एसी मिलानले १९ जित, सात बराबरी र चार हारको नतिजा निकालेको छ ।
प्रभावशाली प्रदर्शनलाई कायम राख्ने क्रममा युभेन्ट्सले नेपोलीविरुद्ध दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै तीनवटै गोल गरेको थियो । ५३औं मिनेटमा लिओनार्दो बुनुक्सीले अग्रता दिलाएको खेलमा युभेन्ट्सका लागि ७५औं मिनेटमा अतुरो भिदाल र ८३औं मिनेटमा फाबिओ क्वाग्लिआरेल्लाले थप गोल गरे । नेपोलीका जुआन कामिलो जुनिगाले ८६औं मिनेटमा रातो कार्ड पाएका थिए । हारपछि ३० खेलवाट ४८ अंकमै सीमित बन्न पुगेको नेपोली लिगको चौथो स्थानमा छ । अन्य खेलमा युडिनिजले पराजय व्यहोर्दा पूर्वविजेता इन्टरमिलानले कठिन खेलमा जेनोआविरुद्ध ५-४ ले जित निकाल्यो । ४८ अंकसहित पाँचौं स्थानमा रहेको युडिनिजले सिएनासँग १-० ले हार व्यहोरेको हो । ७०औं मिनेटमा माटिआ डेस्ट्रोले सिएनाका लागि विजयी गोल गरेका हुन् ।
३-० ले पछि परेको स्थिति उल्टाएर जेनेआ खेलमा फर्किएपछि खेलमा नाटकीय स्थिति देखापरेको थियो । यस खेलमा चार गोल पेनाल्टीबाट भएका थिए जसमध्ये तीन गोल जेनोआको नाममा रहयो । ३८औं मिनेटसम्म ३-० ले अघि रहेको इन्टर ५९औं मिनेटमा आइपुग्दा ३-२ मा पुग्यो । ७४औं मिनेटमा पेनाल्टीमार्फत माउरो जारेटले गोल गरी इन्टरलाई ४-२ ले अगाडि बढाए । तर ७९औं नेटमा इन्टरका गोलकिपर जुलिओ सिजरले नै रातो कार्ड पाएपछि प्राप्त पेनाल्टीमा गोल गरी जेनोआले गोलअन्तर घटाएको थियो । ८४औं मिनेटमा डिबक्सभित्र फल गरेपछि जेनोआका फर्नान्डो बेलस्चीलाई रातो कार्डसँगै इन्टरले पेनाल्टी पनि पायो । त्यसमा गोल गरी इन्टरका डिएगो मिलितोले हयाटि्रक पूरा गरेका थिए । जितपछि ३० खेलबाट ४४ अंक जोडेको इन्टर सातां स्थानमा छ ।

प्रतिक्रिया