सिरियाका विद्रोहीलाई तलब दिइने

इस्तानबुल, २० चैत । सिरियाका विपक्षीहरूको समूह ‘सिरियन नेसनल काउन्सिल’ले सिरियाली राष्ट्रपति बासर अल असदको शासन अन्त्यको माग गर्दै संघर्षरत विद्रोहीहरूलाई तलब उपलब्ध गराउने जनाएको छ । टर्कीमा भएको ‘सिरियाली जनताका साथीहरू’ नामक सम्मेलनपछि काउन्सिलले यस्तो घोषणा गरेको बिबिसीले सोमबार जनाएको छ । सिरियाका भगौडा सुरक्षाकर्मीहरूलाई पनि रकम उपलब्ध गराइने जानकारी काउन्सिलले दिएको छ ।
सिरियाका विद्रोही लडाकुलाई दिने रकम खाडी राष्ट्रले काउन्सिललाई उपलब्ध गराउनेछन् । सम्मेलनले काउन्सिललाई ‘सिरियाको वैधानिक शासक’को मान्यतासमेत दिएको छ ।
सम्मेलनमा पश्चिमी र अरबजगत्का करिब ७० वटा राष्ट्रका विदेशमन्त्रीले सहभागिता जनाएका थिए । सम्मेलनमा सहभागिता जनाउनेलाई सिरियाली सरकारले ‘सिरियाका शत्रु’ किटान गरेको छ ।
काउन्सिल अध्यक्ष बुर्हान घालियोनले ‘फ्रि सिरियन आर्मी’ का सम्पूर्ण अधिकारी, सैनिक र अन्य सदस्यलाई काउन्सिलले तलबभत्ता उपलब्ध गराउने जानकारी दिए । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ‘माफी र सुस्तता’ का दिन सकिएको बताउ“दै राष्ट्रपति असदलाई अविलम्ब पदत्याग गर्न चेतावनी दिइन् ।
सम्मेलनमा साउदी अरबलगायत केही राष्ट्रले सिरियामा शासन परिवर्तन गराउन विद्रोही लडाकुलाई हतियार उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । तर, यसरी हतियार उपलब्ध गराए सिरियामा गृहयुद्ध चर्किने भन्दै अमेरिका, टर्कीलगायत राष्ट्रले यसको विरोध गरेका थिए ।
सिरियामा शासन परिवर्तनका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब बढाइरह“दा सिरियाली सरकारले भने विद्रोह अन्त्य हुन लागेको दाबी गरेको छ । सिरियाली विदेश मन्त्रालयका प्रवक्ता जिहाद अल–माकदिसीले सिरियाली टेलिभिजनस“ग ‘राज्यलाई अपदस्थ गर्ने लडाइ“ समाप्त’ भएको बताए । एक वर्षभन्दा अघिदेखि सिरियामा राष्ट्रपति असदको शासनविरोधी प्रदर्शन जारी छ । यस क्रममा नौ हजारभन्दा बढीको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया