राजनीतिको बेपार अपार

राजनीतिको बेपार अपारसिल्लीहरू मिलेपछि खिल्लीको बेपार हुन्छ भनेर उहिल्यै गुरुले भन्या हुन् । घरजग्गाको कारोबारमा लागेर चिल्लीबिल्ली भएपछि माल अड्डाका मनुवासग मिलेर घमानसिंह घर्ती आजकल नया बेपारको सोचमा लाग्या छन् । बैंकको भाखा टारेर पाखोमा माखो झारेर कतिन्जेल बस्ने । सरकारको सहयोग मागु, नेताको छोरो परिएन । त्यो पनि लर्तरो कुरालाई हो र भन्या– हिमालबाट संविधान र शान्ति ल्याउने । चण्ड–मुण्डका झुन्ड बोकेर हिजो नरसंहारका माध्यमद्वारा सत्ता परिवर्तनको मार्गमा लागेका बाबु महाराज अहिले भत्ता प्राप्ति र लाजिम्पाट दरबारको सर्वहारा क्रान्तिमा दिलोज्यानले लागेका बेलामा नवयुवराजको उत्पत्ति भएपछि करोड घटीका कुरा हुने त प्रश्नै उठेन । हिमालका कीर्तिमानी आरोहीहरूले सुक्को नपाएको भन्दै विपक्षीका विद्यार्थी नेता तोडफोडमा उत्रेर पो मर्का पर्‍यो त ।
टाउकामा रुमाल टागेर, बाउराम काकासग मागेर दुई करोड रूप्पै बल्ल झार्‍याथ्यो, त्यै पनि देखिसहेनन् बा । आतमा दात भएका भनेकाहरू यस्तै हुन् । लाजिम्पाटको नया निवासबारे पनि कम्ता खैरो खन्या होइनन् । उहिल्यै कता हो– स्व. गिर्जाबाबुले भन्थे रे, यस्ता विरोधले मेरो रौं पनि हल्लिदैन । सबैभन्दा धनी पाटी हाम्रै हो क्यार । आय–व्ययका कुरा कस्ले पो लेखाजोखा गर्ने र । नेता भए’छि नाता हुन्छन्, नाता भए’छि खाता हुन्छन् । नाताको कुरै यस्तो, बाउराम काकाले पनि मानसीलाई क्रिकेट संघमा त्यसै लग्या हुन् र ? फुटबलमा गोल गर्ने र क्रिकेटमा विकेट झार्ने विषयको अन्तर उनलाई थाहा छैन भन्नेहरू शान्ति प्रक्रिया विरोधी हुन् । हातामा पाएको कुरा कसले पो पातामा पोख्छ र भन्या । पाएसम्म सबैले आफ्नै खातामा जम्मा गर्ने हो क्यार । पञ्चायतकालमा पञ्च र मण्डलेहरूले राजाको गाता लगाएर आफ्नो खाता खोलेकै हुन् । बहुदलीय प्रजातन्त्रकालमा कहिले कांग्रेसले त कहिले एमालेले सिंहदरबार हातामै नाताका लागि खाता खोलेका हुन् । अहिले गणतन्त्रमा गन बोक्नेले मन लगाएरै मातालाई खुसी तुल्याउन लडाकुका नाममा खाता खोल्दा कसलाई केको टनटन । देशलाई ठेस पारेर केश कोर्दै राजनीतिका नया“ खेलाडी बन्न आएका मधेसवादीका खाता हेर्ने हो भने धेरैका मुख राता होलान् । तेलको खेलमा झेल गरेर कसले कति कमाए, विचरो अख्तियारलाई के थाहा ? मधेसवादी नेताजीहरूको सैया तोलाको सुनको सम्पत्ति दाइजोमा आउछ रे, पहडियासगै बिहे गरेको किन नहोस् ।
सुडानमा स्वाट्ट पारेर चिरिच्याट्ट भएर हिडेका नेताजीहरू चोखै साबित भए पनि पुलिसका धेरै हाकिमहरू आफ्नै हिरासतको हातामा अहिले दिन काट्दै छन् । नेताहरूको महात्म्य सोच्दै घमानेले आफैलाई सान्त्वना दियो– दिन भन्ने कुरा कल्लाई लाग्दैन र । हामीलाई त बैंकको रिनमात्रै त लाग्या हो नि । रिनको कुराले छिनछिनै टाउको दुख्न थालेपछि केही न केही विकल्प त सोच्नै परो । खुल्लामञ्चको सु–स कक्षमा केही बेर चिन्तन गर्दागर्दै घमानेलाई महाज्ञान प्राप्त भयो– जे भए पनि पार्टीमा लागेर नेता नबनी हुने रै’नछ । अहिलेको लाभको बेपार त पार्टी–बेपार पो रै’छ त । यही टुडीखेलमा २० हजार कार्यकर्ता भरिएपछि एमालेका नेतालाई पनि ओहो हामी त साच्चै ठूलो पार्टी पो रैछां त भन्ने बोध भएझैं घमान पनि हिजो घ.ज.द गर्दा आठ–दसजनालाई भन्ने डान्सबार र दोहोरो सा“झमा गलगिद्र खुवाउने मान्छे पो त, चानचुन कहा हो र भन्ने अभिमानले मख्ख पर्दै बाहिर निस्के ।
‘काली कुत्तीम, महा उत्तिम, खैरी कुत्तीम् तथैव चः’ भनेझैं घमान पनि अहिले मधेसवादी पार्टीकै भए पनि नेता बन्ने प्रयासमा लाग्या छन् । चार–चार जना मिल्दै पार्टी खोल्दै गरेका संसदका दलहरूलाई नेता चाहिया छ रे । कतै तपाईंको पार्टीलाई पनि खोट विनाका नेता चाहिएको छ भने खैरो कोट लिएर पिपलबोटतिर आउनुस्, राजा टाउके नोट बोकेर घमानसिंह तपाईंलाई नै पर्खिबस्या छन् ।
नोटका कुरामा संसदभित्र चोट लाग्ने गरी हान्ने कि पार्टी फोड्नु पहिले नै आफूतिर तान्ने त्यो भने बेग्लै कुरा । तपाईंको पार्टी सत्तामा पुग्यो भने यिनलाई मन्त्री पनि दिनु पर्दैन, राजाको पालामा बनाइएका रूपज्योति नामका बेपारीले आफ्नो कर मिनाहा गराएझै, तुल्सी गिरीले ऋणमाफ गराएझैं घरजग्गा कारोबारमा यिनले सातवटा बैंक ठगेर लिएको ऋण मात्रै माफ गराइदिए पुग्छ । त्यसबापतको कमिसन पार्टीलाई पक्का । भएन त दुवै हातमा लड्डु ।

प्रतिक्रिया