‘अदालतले ढुंगेललाई पक्रन भनेको छैन’

काठमाडौं, गृह मन्त्रालयका सहप्रवक्ता एकमणि नेपालले एमाओवादी सभासद् बालकृष्ण ढुंगेललाई पक्रनका लागि सर्वोच्च अदालतले गृहलाई आदेश नदिएको जिकिर गरेका छन् । सोमबार सञ्चार मन्त्रालयमा आयोजित विभिन्न मन्त्रालयको प्रगति विवरण सार्वजनिक पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीले पनि पत्रपत्रिकामा आएको समाचारकै आधारमा भन्ने हो ।’
उनले भने, ‘सर्वोच्चले गृहलाई फलानो व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर भनेर लिखित दियो भने प्रहरी लगाएर नियन्त्रणमा लिन्छौं ।’ तर, नियन्त्रणमा लिन भने केही दिन लाग्न सक्ने उनको भनाइ छ । ‘पत्रपत्रिकामा आएको समाचारलाई नै आधार बनाएर मान्छे खोज्दै हिडिदैन,’ उनले भने, ‘सर्वोच्चले कसैलाई समाउन भन्छ भने त्यो मान्छे अवश्य प्रहरीको नियन्त्रणमा पर्छ ।’
ओखलढुंगाका व्यापारी उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले सभासद् ढुंगेललाई दोषी ठहर्‍याई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको एक वर्षभन्दा बढी हुन लागेको छ तैपनि उनलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । (सौस)

प्रतिक्रिया