संगठन विस्तार गर्न बल्ल मिल्यो समय

काठमाडौं, २० चैत । सत्तासमिकरण र आन्तरिक बिवादका कारण बारम्बार चर्चामा रहने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई संगठन सुदृढीकरणमा दबाव परेपछि प्रशिक्षणका कार्यक्रम सार्वजनिक गरेको छ ।

फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय गच्छेदारले संगठन सुदृढीकरणका लागि चैतको अन्तिम सातादेखि बैशाखको दोस्रो सातासम्म बिभिन्न कार्यक्रम गर्ने बताए ।

कार्यक्रम अन्तर्गत लोकतान्त्रिक फोरमले चैत २५ गतेदेखि बैशाख १५ गते सम्म बिभिन्न जिल्लाहरुमा कार्यकर्ता प्रशिक्षणको कार्यक्रम राखेको छ । कार्यकर्ता प्रशिक्षका क्रममा शान्ति संविधान तथा संघीय राज्यका बिषयमा पार्टीले लिएको रणनीति जानकारी गराईने छ ।

पहिचान सहितको मधेस प्रदेशको माग गरेका अध्यक्ष गच्छेदारले माग पुरा नभए बैशाखदेखि कठोर कदम चाल्ने चेतावनी दिए । यद्यपि कस्तोखालको कठोर कदम हो त्यस बारेमा भने उनले केही बताएनन् । उनले भने, ‘पछि देखिहाल्नु हुन्छ नी, हाम्रो कठोर कदम कस्तो हुन्छ ।’

राष्ट्रिय सहमतिको सरकारका पक्षमा रहेको बताएका गच्छेदारले सरकार गठनका क्रममा भएको चार बुँदे सहमति कार्यान्वयन भईरहेको दाबी गरे । उनले भने, ‘नेपाली सेनामा मधेसी युवाको सामूहिक प्रवेशका लागि काम भईरहेको छ ।’

प्रतिक्रिया