शेर्पासँग पुलिस पराजित

विराटनगर, १८ चैत । उद्घाटन खेलमा नेपाल पुलिसको चुनौती १-० ले समाप्त पार्दै यति हिमालयन शेर्पा विराटनगरमा शनिबारदेखि सुरु रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पुलिसको कठिन चुनौतीलाई पन्छाउने क्रममा हिमालयनका लागि गणेश खड्काले निणर्यक गोल गरे ।
स्थानीय सहिद रंगशालामा भएको खेलमा १२आंै मिनेटमै खड्काले विजयी गोल गरेका थिए । क्रसमार्फत आएको बललाई खड्काले गरेको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले असफल बनाउन सकेनन् । सुरुआतदेखि नै आक्रामक बनेको हिमालयनले पुलिसलाई खेलभर दबाब दियो । पुलिसका भन्दा होचा तर छरिता यतिका खेलाडीले पटक-पटक थप गोल गर्ने प्रयास गरेका थिए । उनीहरूको आक्रमणले अनुभवी पुलिसका गोलकिपर रितेशलाई पटक-पटक दबाबमा राख्यो  ।
ए क गोल खाएपछि घाइते भएको पुलिसले मध्यान्तरपछि आफ्नोे खेल रणनीतिमा परिवर्तन गरी निरन्तर पोलमा प्रहार गरेको थियो तर पटक-पटकको प्रयास खेर गयो । सबैको ध्यान तान्न सफल पुलिसका जुमानु राई पटक-पटक चुके । उनीसहित पुलिसका खेलाडीले पटक-पटक गरेको प्रहार यतिका गोलकिपर विकेशले सहजै बचाएर विपक्षी खेलाडीलाई निराश पारेका थिए ।
करिब एक दर्जन गोलका अवसर सृजना गरे पनि पुलिसलाई हिमालयनको बलियो ‘डिफेन्स लाइनअप’ ले पटक-पटक निराश पारेको थियो । हिमालयनका गोलरक्षक विकेश कुठुको प्रदर्शन पनि सराहनीय रहयो । पूर्वार्द्धको ३९आंै मिनेटमा पुलिसका दुई खेलाडीले अनमार्क गरेको बल पनि गोलमा परिणत हुन सकेन । खेल सकिनु ४ मिनेटअघि पुलिसका पर्वत पाण्डेले एकैचाटी दुईपटक कर्नरकिक प्रहार गरे पनि गोल हुन सकेन । थपिएको ३ मिनेट इन्जुरी समयमा पनि पुलिसले पटक-पटक गोल गर्ने प्रयास गरे पनि सफल भएन ।
लामो अन्तरालपछि सञ्चालन भएको विराट गोल्डकप हेर्ने हजारांै दर्शक भेला भएका थिए । भरिभराउ रंगशालामा राष्ट्रिय लिगविजेता र उपविजेता टिमको प्रतिस्पर्धात्मक खेलले दर्शक रोमाञ्चित भएका थिए । प्रतियोगिताको पहिलो खेलका म्यान अफ द म्याच हिमालयनका सरोज दाहाल भए । उनलाई पूर्वअन्तर्राष्ट्रिय खेलाडी अमरबहादुर थापाले नगद ५ हजार रुपिया र ट्रफी दिएर सम्मान गरे । सरोजले पटक-पटक पुलिसका खेलाडीले गरेको प्रहारलाई बचाउ गरेका थिए । पहिले महेन्द्र गोल्डकपका नामले सञ्चालन हूदै आएको यो गोल्डकप ९ वर्षपछि नाम परिवर्तन गरेर विराट गोल्डकप नामाकरण गरी सञ्चालन हुन थालेको हो ।

प्रतिक्रिया