ठगीका सबै उजुरी न्यायाधीकरणमा

काठमाडौं, १८ चैत । वैदेशिक रोजगारीका नाममा भएका ठगी सम्बन्धी सबै उजुरी अनुसन्धानपछि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर हुने भएको छ । वैदेशिक रोजगार विभागले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न उजुरीका सबै मुद्दा न्यायिक निकाय न्यायाधीकरणमा दायर गर्न लागेको हो ।
यसले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनी तथा एजेन्टलाई कारबाही प्रक्रिया प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने विभागले जनाएको छ । पीडितले दायर गरेका उजुरीका आधारमा अनुसन्धान गरी ठगी भएको प्रमाणित देखिएमा मुद्दा अन्तिम फैसलाका लागि न्यायाधीकरणमा पठाइने वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले बताए ।
विभागमा दायर भएका उजुरीका आधारमा अनुसन्धान गरी न्यायाधीकरणमा मुद्दा लैजाने उनले बताए । न्यायिक अधिकार अदालतलाई मात्र हुने भएकाले सबै मुद्दा न्यायाधीकरणमा पठाउन लागेको उनको भनाइ छ ।
अधिकांश म्यानपावर एजेन्सीका उजुरी न्यायाधीकरणसम्म मुद्दा दायर नभई विभागमा नै मिल्ने गरेका छन् । करोडौं रकम ठगी गरी फरार अवस्थामा रहेका म्यानपावर एजेन्सीको मात्र मुद्दा न्यायाधीकरणमा दायर हुदै आएको छ । न्यायाधीकरणका अनुसार म्यानपावरका ठुल्ठूला ठगी र एजेन्टको ठगीमात्र मुद्दा आउने गर्दछ । गत आर्थिक वर्षमा विभागमा दायर भएका १२ सय एक उजुरीमध्ये ९४ मुद्दामात्र न्यायाधीकरणमा दर्ता भएको थियो ।
यस्तै चालु आवको फागुन मसान्तसम्म एक हजार दुई सय ८५ वटा ठगी उजुरी विभागमा दर्ता भएका छन् । ती उजुरीमा ७६ करोड ३७ लाख ६६ हजार दुई सय ८८ बिगो दाबी भएको विभागले जनाएको छ । यसमध्ये एक सय दुईवटा मात्र अदालतमा मुद्दा दायर भएका छन् । चालु आवको फागुन महिनामा मात्र सात करोड ७७ लाख चार हजार सात सय ५१ रुपिया बिगो दाबीसहित एक सय ५९ वटा ठगी उजुरी विभागमा परेका छन् । विभिन्न मुलुकमा रोजगारीमा पठाउने भन्दै म्यानपावर कम्पनी र एजेन्टका नाममा भएको ठगीलाई लिएर विभागमा उजुरी परेको छ ।
व्यक्तिगत ठगीका घटनालाई लिएर फागुनमा ९९ उजुरी परेका छन् भने ६ करोड ७७ लाख ९५ हजार आठ सय एक रुपिया बिगो दाबी भएको छ । यस्तै, संस्थागतरूपमा ९९ लाख आठ हजार नौ सय ५० रुपिया ठगी भएको विभागले जनाएको छ ।
फागुनमा ठगी घटनालाई लिएर ११ वटा व्यक्तिगत उजुरी अदालतमा दर्ता भएको विभागको तथ्यांक छ । म्यानपावर एजेन्सी र एजेन्टले कामदारसग तोकिएको भन्दाबढी रकम लिने, सम्झौताबमोजिम पारिश्रमिक, सेवा, सुविधा नपाउने र स्वदेश तथा विदेशमा अलपत्र गरेका उजुरी विभागमा दायर भएका छन् । तर, विभागले म्यानपावर एजेन्सीलाई कारबाही नगर्नाका साथै त्यही मिलाउने काम गर्दै आएको थियो । कामदारले साहुसग ऋण लिएर लामो समयदेखि  म्यानपावर एजेन्सी र एजेन्टलाई बुझाइएको हुन्छ । तर, ठगीपछि पनि उनीहरूले कामदारलाई त्यति नै रकम फिर्ता गरे कारबाही हदैन ।
विभागका महानिर्देशक भट्टराईले उजुरीमा अनुसन्धान गरी सत्यता पाएमा ठगीगर्ने व्यक्तिले कामदारलाई रकम फिर्ता गर्नुका साथै जरिवाना पनि गर्न थालिसकेको बताए । न्यायाधीकरणले ठगीगरेकै सत्य प्रमाणित भए ५० प्रतिशत हर्जानासहित फैसला गर्दछ । उजुरीका आधारमा म्यानपावर एजेन्सीका सञ्चालक तथा एजेन्टलाई २४ घण्टे पुर्जी काटेर पीडितलाई छिटोभन्दा छिटो क्षतिपूर्ति दिने व्यवस्था गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया