‘सरकार ढाल्न परामर्श जारी छ’

काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेस र एमालले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्तावमार्फत बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य नारायण खडका र एमाले सचिव शंकर पोखरेलले अविश्वासको प्रस्ताव ल्याउनका लागि एमाओवादीका उपाध्यक्ष मोहन वैद्य समूह र मधेसी मोर्चासँग छलफल भईरहेको बताए । उनीहरुले छलफलले छिट्टै एउटा आकार लिने बताएका छन् ।
एमाओवादीक पोलिटब्युरो सदस्य अग्नी सापकोटाले भने अविश्वास प्रस्तावल्याएर बर्तमान सरकार ढाल्न कांग्रेस र एमालेलाई चुनौती दिए । उनले भने, ‘यो सरकार चाहेरपनि कसैले ढाल्न सक्दैन । ’
सरकार बचाउनका लागि एमाओवादी र मधेसी मोर्चावीच सहमति भईसकेको दाबी गरे । उनले भने, ‘अविश्वास प्रस्तावका पक्षमा एमाओवादी सभासदले मतदान गरे कारबाही हुन्छ ।’
त्यसै गरेर सापकोटाले वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले चाहेरपनि बाबुराम भट्टराई नेतृत्वको सरकारलाई ‘रौं’ जतिपनि हल्लाउन नसक्ने दाबी गरे ।
कांग्रेस केन्द्रीय सदस्य खड्काले बाबुराम भट्टराई आफूलाई सत्तामा टिकाउने र सत्ताकब्जाको रणनीतिमा सकृय भएकाले बाध्य भएर अविश्वासको प्रस्ताव ल्याउन लागेको बताए । उनले अविश्वासको प्रस्तावका लागि आवश्यक बहुमत पुगेको दाबी गरेका छन् ।
एमाले सचिव शंकर पोखरेलले नयाँ संविधान जारि गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सरकार परिवर्तन बाध्यात्मक रहेको बताए ।
उनले भने, ‘अविश्वासको प्रस्तावल्याउनु भन्दा सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा दिए राम्रो ।’
सचिव पोखरेलले एमाओवादी भित्रको अनुचित झगडाले संविधान निर्र्माण, शासकीय स्वरुप र संघीयताको विषय सहमति बनाउन समस्या आएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकार परिवर्तन बेमौसमी बाजा भएको टिप्पणी गरे ।

प्रतिक्रिया