पेट्रोलियम पदार्थमा कालोबजारी

विराटनगर, १८ वैशाख । सरकारले मागअनुसार पेट्रोलियम पदार्थको आपूर्ति गर्न नसक्दा पूर्वमा कालोबजारी बढेको छ । पेट्रोल र मट्टीतेलका तुलनामा डिजेलमा कालोबजारी चरम रूपमा रहेको स्थानीयवासीले बताए ।
निगमबाट ८७ रुपियाँ ५० पैसा प्रतिलिटर खरिद गरेको डिजेल पम्पले एक सय पाँच देखि आठ रुपियाँसम्ममा बिक्री गर्नेगरेका छन् । सरकारले भारतीय आयल निगमलाई बक्यौता तिर्न नसक्दा तेल आयातमा कटौती भएको हो । नेपाल आयाल निगमले भारतीय आयललाई एक अर्ब ५० करोड रुपियाँ तिर्न बाँकी छ ।
निगमको क्षेत्रीय कार्यालय विराटनगरका अनुसार हाल भारतको बरौनीबाट दैनिक तीन लाख लिटर मात्रै इन्धन आयात भइरहेको छ । जसमा डिजल एक लाख २० हजार लिटर रहेको छ । क्षेत्रीयप्रमुख दीपक बरालका अनुसार दैनिक पाँच लाख लिटर आयात भए मात्रै अभाव कम हुन्छ । पूर्वमा दैनिक सात लाख लिटर डिजल, पेट्रोल र अन्य इन्धनको माग छ ।
लोडसेडिङले गर्दा सुनसरी मोरङ औधोगिक करिडोरका साढे पाँच सय उद्योग जेनेरेटरका भरमा रहेका छन् । डिजेल अभावले कालोबजारी बढेपछि उद्योगीहरू मारमा परेको उनीहरूले बताए । उद्योग संगठन मोरङका ऊर्जा समिति संयोजक राकेश सुरानाले लोडसेडिङका कारण उद्योगहरूले दैनिक ३० हजार लिटर डिजेल खपत गर्ने गरेको बताए । कालोबजारीले सीमित व्यापारिलाई मात्र फाइदा भइरहेको उनी बताउँछन् ।
डिजेलको अभाव उच्च भएपछि विराटनगर–५ कञ्चनबारीमा रहेको क्षेत्रीय कार्यालयमा पम्पवालाहरूले प्रतिपम्म १२ देखि २० हजार लिटर तेल माग्दै आएका छन् तर निगमले प्रतिपम्प तीन हजार लिटर मात्रै दिइरहेको क्षेत्रीय प्रमुख बरालले बताए । डिजेलको अभाव उच्च भएपछि भारतबाट डिजेल अवैध रूपमा भित्र्याएर कालोबजारी गर्ने गरिएको छ । भारतको जोगवनी, बथनाहा क्षेत्रमा डिजल प्रतिलिटर ४८ रुपियाँ भारुमा पाइने डिजल नेपाल भित्र्याएर कालोबजारीमा बिक्री गरिन्छ ।
निगमका क्षेत्रीय प्रमुख बरालले आयात कटौती भएकाले आफूसँग डिजल र पेट्रोल कत्ति पनि मौज्दात नभएको बताए । उनले समयमै तेलको अयात नबढेमा कालोबजारी झन् तीव्र हुनसक्ने धारणा राखे । पूर्वमा चार सय ४९ वटा पम्प र अन्य डिपोमार्फत इन्धन बिक्री हुने गर्छ । यस क्षेत्रमा दैनिक एक लाख लिटर पेट्रोल, चार लाख लिटर डिजल र ६० हजार लिटर मट्टीतेलको माग छ ।

तेल कम आएपछि डिपोप्रमुखलाई ज्ञापनपत्र

काठमाडौं : उपत्यकाका पूर्वक्षेत्रका एक दर्जन पेट्रोलपम्प सञ्चालकले आइतबार नेपाल आयल निगमको थानकोट डिपोका प्रमुख वीरेन्द्र गोइतलाई ज्ञापनपत्र बुझाएका छन् । निगमको थानकोट डिपोबाट आºनो पम्पसम्म पेट्रोल ढुवानी गर्दा डिपोले दिएको परिमाणमा एक सय लिटर कम हुने गरेको भन्दै यसको प्राविधिक कमजोरी छानबिन गर्न माग गर्दै उनीहरूले डिपो प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वउपाध्यक्ष ध्रुव श्रेष्ठले थानकोट डिपोबाट चार हजार लिटर पेट्रोल ढुवानी गर्दा एक सय लिटर कम हुने गरेको भन्दै सोको छानबिन गर्न माग गरिएको जनाए । लामो समयदेखि व्यवसायीले तोकिएको परिमाणमा अपुग भएको जनाए पनि सम्बन्धितपक्षले वास्ता नगरेका कारण आफूहरू मारमा परेको भन्दै छानबिन गर्न माग गरेको उनले बताए ।
व्यवसायीले ज्ञापनपत्रमा डिपोबाट लोड भएका ट्याङ्कर सिधै आफूहरूको पम्पमा अनलोड गर्न आग्रह गरेको उनले बताए । यस विषयमा आवश्यक छानबिन नभए आगामी २५ वैशाखबाट पूर्वक्षेत्रका पम्पले पेट्रोलबिक्री बन्द गर्ने जनाएका छन् । उपत्यकाका पूर्वक्षेत्रमा १० वटा पेट्रोलपम्प सञ्चालनमा छन् । (सौस)

प्रतिक्रिया