पहिले कालोमोसो अहिले अबिर–माला

मोतीराम तिमल्सिना

काभ्रे, १८ वैशाख । सात दिनअघि नगरपालिकाका कर्मचारीलाई कालो मोसो दलेर गाउँ परिक्रमा गराउने पनौती–१३ मकैटारका स्थानीयले आइतबार तिनै कर्मचारीसँग माफी माग्दै पाँचबुँदे सहमति गरेका छन् । राजनीतिक दलसहित गाउँ पुगेका कर्मचारीसँग माफी माग्दै उनीहरूले अबिर, मालासहित बिदाइ गरेका थिए ।
आइतबार राजनीतिक दलका प्रतिनिधिसहित मकैटार पुगेका कर्मचारीलाई गाउँलेले गम्भीर गल्ती भएको भन्दै क्षमायाचना गरेका हुन् । क्षमायाचनापछि स्थानीय, कर्मचारी र दलहरूबीच पाँचबुँदे सहमति भएको छ । सहमतिमा नगरपालिकाले बनाउने तयारी गरेको डम्पिङ साइटको निर्माण स्थगित गर्ने, नगरपालिकाले दर्ता गरेको किटानी जाहेरी फिर्ता गर्ने, कर्मचारी र स्थानीयबीच भएको असमझदारी हटाएर सुमधुर सम्बन्ध विकास गर्ने, बन्द नगरपालिका तत्काल खोल्ने उल्लेख छ ।
वडावासीका तर्फबाट नवराज महत, कर्मचारी इन्द्रप्रसाद अधिकारीले मोसो दलेपछि भएको असमझदारीबारे बोलेका थिए । क्षमायाचना कार्यक्रममा एमालेका वेदप्रसाद बन्जारा, एनेकपा (माओवादी)का सन्तोष केसी, नेपाली कांग्रेसका केदारबहादुर भण्डारीलगायतले वडावासी र कर्मचारीबीच भएको असमझदारी टुंग्याउन जरुरी भएको बताए । वडावासीले कर्मचारीलाई अबिर र मालाले स्वागत गरेपछि आइतबारबाट कर्मचारीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
लोकतन्त्र दिवसका दिन ११ वैशाखमा नगरपालिकाले निर्माण गर्न लागेको डम्पिङ साइट जान पहुँच मार्गका लागि उपभोक्ता समिति गठन गर्न आएका पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, निमित्त कार्यकारी अधिकृत तथा इन्जिनियर प्रेमकुमार सोनामलगायतलाई स्थानीयले मोसो दलेका हुन् ।
मोसो दलेको विरोधमा जिल्लाका सबै कर्मचारी आन्दोलित थिए । पनौती नगरपालिका ६ दिनसम्म बन्द भएको थियो । नगरपालिकाका तर्फबाट स्थानीय आठलाई सार्वजनिक मुद्दा दर्ता गरे पनि प्रहरीले शनिबार साँझसम्म पक्राउ गर्न सकेको थिएन । आइतबार जिल्लाका सबै सरकारी कार्यालय बन्द गर्ने चेतावनी कर्मचारी संगठनले दिएका थिए । नगरपालिका बन्द हुँदा स्थानीयले सुविधा पाएका थिएनन्, पनौती फोहोरले दुर्गन्धित भएको थियो ।

प्रतिक्रिया