दाहालले हिसाब मागेपछि कमान्डर रिसाए

काठमाडौं, १८ वैशाख । शिविरमा रहेका लडाकुबाट मासिक रूपमा उठाइएको रकमको हिसाब–किताबका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र लडाकु कमान्डरहरूबीच तनाव भएको छ । विगत पाँच वर्षमा लडाकुबाट उठाइएको रकममध्ये करिब ६७ करोड रुपियाँको हिसाब नआएको भन्दै अध्यक्ष दाहालले कमान्डरहरूसित आक्रोश पोखेका छन् ।
अध्यक्ष दाहालले लडाकुबाट उठाइएको सबै रकमको हिसाब–किताब हेडक्वार्टर (आफू)लाई बुझाउन कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले बतायो । कमान्डरहरूले भने अहिले आएर अध्यक्षले हिसाब मागेको भन्दै असन्तुष्टि जनाएका थिए । शिविरबाट बाहिरिएका संस्थापन पक्षधर लडाकुहरूलाई संगठित गर्ने काम पनि त्यही विवादका कारण ढिलो भएको स्रोतको दाबी छ ।
माओवादीले शिविरमा रहेका लडाकुबाट मासिक हजार रुपियाँका दरले रकम उठाउँदै आएको थियो । सम्बन्धित शिविरका कमान्डरले नै रकम उठाउने गरेका थिए । पाँच वर्षको अवधिमा माओवादीले लडाकुबाट कम्तीमा २ अर्ब ३८ करोड ८१ लाख २० हजार रुपियाँ उठाएको छ ।
करिब एक साताअघि कमान्डरहरूसितको भेटमा अध्यक्ष दाहालले लडाकुबाट उठाइएको रकममध्ये ६७ करोड रुपियाँको हिसाब अझै पनि हेडक्वार्टरमा नआएको बताएका थिए । लडाकुबाट उठाइएको रकम वाइसिएललाई दिने निर्णय पार्टीले गरेकाले सो रकम तत्काल हेडक्वार्टरमा बुझाउन उनले कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ । ‘करिब ६७ करोड रुपियाँ अझै पनि हेडक्वार्टरमा आएको छैन, त्यो रकम वाइसिएलका साथीहरूलाई दिने निर्णय गरेका छौँ, त्यसैले चाँडो बुझाऔँ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
तर, लडाकु कमान्डरहरूले भने अध्यक्ष दाहालले भनेअनुसारको रकम खातामा नरहेको जिकिर गरेका छन् । ‘खातामा पैसा नै छैन त कहाँबाट बुझाउने ?’ भन्दै कमान्डरहरूले रकम दिन अस्वीकार गरेको स्रोतले जनाएको छ । पैसाको विषयमा अध्यक्ष दाहाल र कमाडरहरूबीच अविश्वासको वातावरण बनेको स्रोत बताउँछ । स्रोतका अनुसार तुलनात्मक रूपमा धेरै लडाकु रहेको चितवनस्थित तेस्रो डिभिजन, नवलपरासीस्थित चौथो र सुर्खेतस्थित छैटौँ डिभिजनबाट उठाइएको रकमको पूरा हिसाब–किताब अझै हेडक्वार्टरमा आइसकेको छैन । छलफलमा अध्यक्ष दाहालले ती तीनवटै शिविरका कमान्डरहरूको मुखमा हेर्दै ‘हिसाब आएन नि’ भन्दै जिज्ञासा राखेका थिए । लडाकुबाट उठाइएको रकममा तेस्रो, चौथो र छैटाँै डिभिजनमा धेरै हिनामिना भएको समाचार सौर्य दैनिकले यसअघि नै प्रकाशन गरेको थियो ।
रकम हिनामिना गरेको आरोप लागेका चौथो डिभिजनका कमान्डर तेजबहादुर ओली र छैटौँका कमान्डर महेन्द्रबहादुर शाहीले दोस्रो चरणको वर्गीकरणबाट स्वैच्छिक अवकाश लिइसकेका छन् । स्रोतका अनुसार लडाकुबाट मासिक रकम उठाउनुअघि अध्यक्ष दाहालले कमान्डर नन्दकिशोर पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाललगायतसित उठेको रकममध्ये केही अंश कमान्डरहरूले निजी प्रयोजनमा खर्च गर्न सक्ने मौखिक सहमति गरेका थिए । तर, अनुमान गरेभन्दा धेरै रकमको हिसाब नआएपछि दाहालले सोधखोज सुरु गरेका हुन् ।
उता, कमान्डरहरूले भने अध्यक्ष दाहालले एक/एक रुपियाँको हिसाब मागेपछि चित्त दुखाएका छन् । ‘शिविर बनाउँदा, घाइतेहरूको उपचार गर्दा, चार हजारभन्दा बढी अयोग्य भनिएका लडाकुलाई चार वर्षसम्म पाल्दा लेबीबापत उठेको रकम खर्च भएको छ । अहिले रकम चाहियो भनेर मागेपछि हामीले कहाँबाट दिने ? हिसाब चाहियो भन्दा चित्त दुख्छ,’ एक कमान्डरले सौर्यसँग भने । स्रोतका अनुसार शिविरबाट भागेका लडाकुको मासिक तलब–भत्ताबापतको रकम लडाकु कमान्डरहरूले संकलन गरेको जानकारी पाएपछि त्यतिबेलै शीर्ष नेताहरूबीच त्यो रकम हेडक्वार्टरमा बुझाएर पछि दामासाहीले बाँड्ने सहमति भएको थियो । तर, लडाकु कमान्डरहरूले एकतिहाइ रकम मात्र माथि बुझाउने र बाँकी आफैँले चलाउने गरेको तथा हिसाब चुस्त–दुरुस्त नराखेको पाइएपछि अध्यक्ष दाहाल र कमान्डरहरूको दूरी बढ्न थालेको हो ।
पूर्वलडाकुहरूलाई कमान्डमा ल्याएर रकमबारे सोधीखोजी गर्न सजिलो हुने भएकाले पनि ‘पूर्वजनमुक्ति सेना संघ’ गठन गरिएको एक माओवादी पोलिटब्युरो सदस्यले बताए । ‘कमान्डरहरूलाई चेन अफ कमान्डमा ल्याएपछि हिनामिनाबारे लाग्दै आएको आरोप के हो बुझ्न सजिलो हुन्छ,’ अध्यक्ष दाहालनिकट ती पोलिटब्युरो सदस्यले भने । माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले लडाकु र अध्यक्षबीच भएको छलफलबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई त्यसबारे केही जानकारी छैन, बुझेर भनौँला,’ उनले सौर्यसँग भने ।

प्रतिक्रिया