सेनामा दुई रथी थप्ने तयारी

काठमाडौं, १७ वैशाख । नेपाली सेनाले दुई रथी लगायतका उच्च अधिकृत पदको संख्या बढाउन सम्बन्धित निकायमा पहल गरेको जनाएको छ ।
संसदको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा सेनाले वलाध्यक्ष रथीमा दुई जना सहित अन्य उच्च पदमा संख्या थप्ने योजनामा रहेको जनाएको छ । नेपाली सेनामा वलाध्यक्ष रथी नेपाल भुषण चन्द र गौरबशम्सेर जवरा मात्रै छन् । उनीहरु दुई मध्यबाटै वरिष्ठतमका आधारमा एक जना भावी प्रधानसेनापति हुने प्रावधान नेपाली सेनाको छ ।
बैठकमा नेपाली सेनाले आफ्नो पुनर्संरचना सम्बन्धी प्रतिवेदन समेत पेश गरेको छ । प्रस्तावमा कर्णेलदेखि रथीसम्मको संख्या थप्न प्रस्ताव छ ।
रथीमा दुई, उपरथीमा ६ र सहायक रथीमा १०, महासेनानीमा ११, प्रमुख सेनानीमा ५१ पद थप्न सेनाले प्रस्ताव गरेको समिति सभापति रामनाथ ढकालले जानकारी दिए ।
रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेको उपप्रधान तथा गृहमन्त्री विजय गच्छेदारले नेपाली सेनालाई लोकतान्त्रिक गर्नु अतिआवश्यक रहेको बताए । बैठकमा छोटो समय बसेका गच्छेदारले आफूलाई हतार छ भन्दै बैठकबाट बाहिरिएका थिए ।
उनी बाहिरिए पछि सेनाका बारेमा सरकारको आधिकारिक धारणामा छलफल हुन नपाएको सदस्यहरुले गुनासो गरेका थिए ।
यसैवीच, एमाओवादी सभासद तथा समिति सदस्य पम्फा भुषालले जनमुक्ति सेनालाई आपत्कालिन रुपमा हस्तान्तरण गरिएको विषयमा सोधपुछ गर्दै भावी बैठकमा छलफल गर्न माग गरेकी थिईन ।

प्रतिक्रिया