सुगाहरूको सम्मेलन

एकपटक सुगाको सम्मेलन हुने भएछ । यसका लागि नेपालका विभिन्न प्रजातिका सुगाहरू चुरेको जंगलमा भेला हुने निधो भयो ।
सुगा सम्मेलनको नाइके कण्ठे सुगा बन्यो । कण्ठेले नेपालभरि छरिएका सुगाको मोबाइल नम्बर र इमेल पत्ता लगायो । अनि सबैलाई इमेल, फोन र एसएमएस गर्ने विचार गर्‍यो ।
नदी तटीय जंगलमा कर्रा सुगा बस्थ्यो । मोबाइलको घन्टी बजेपछि कर्रा सुगा चर्को बोलीमा बोल्यो, ‘को बोलेको ? को बोलेको ?’
उताबाट कण्ठे सुगाले विनम्र स्वरमा भन्यो, ‘कर्रा दाजु † हाम्रो सुगा सम्मेलनको अतिथि बनेर हजुर आइदिनुपर्‍यो ।’
‘फुर्सद छैन † फुर्सद छैन †’ कर्रा सुगाले आफ्नो स्वभावअनुसार रुखो स्वरमा भन्यो ।
कण्ठेले निकै बिन्तीभाउ गरेपछि कर्रा सुगा सम्मेलनमा आउने भयो ।
त्यसपछि कण्ठेले टुइँसी सुगालाई फोन लगायो । तर, टुइँसीको फोन लाग्दै लागेन । कण्ठेले सोच्यो, ‘टुइँसी सुगा चौडापाते जंगल र रूखले ढाकेको क्षेत्रमा बस्छ । त्यसैले फोन नलागेको होला ।’
कण्ठेले टुइँसी सुगालाई एसएमएस गरेर  सम्मेलनको निम्तो दियो । यसैगरी कण्ठेले सुक्खा र चौडापाते जंगलमा बस्ने पर्ण सुगालाई इमेलबाट निम्तो दियो । सानो हरियो पर्ण सुगाले इमेलबाट नै सुगा सम्मेलनमा आउँछु भनी जवाफ फर्कायो ।
कागभेला सुगा भने खुला चौडापाते जंगलमा बस्थ्यो । ऊसँग मोबाइल थिएन । उसले इमेल पनि चलाउन जानेको थिएन । त्यसैले कण्ठे सुगाले कागभेला सुगालाई चिठी पठाएर निम्तो गर्‍यो । चिठी पुर्‍याउने काममा कण्ठेलाई ठूलो वन परेवाले सहयोग गर्‍यो ।
तोकिएको समय र स्थानमा सबै सुगा आइपुगे । सम्मेलनमा बस्नका लागि विभिन्न रूखमा टोड्काहरू बनाइएका थिए । टोड्कामा नअटाएकाहरू अन्य चराका गुँडमा बस्ने व्यवस्था मिलाइएको थियो । यसै गरी खानका लागि जंगली फलफूल जम्मा पारिएको थियो । सुगा सम्मेलन सुरु भयो । साना सुगाहरू सबैभन्दा अगाडि लहरै बसेका थिए । कोही रूखको हाँगा र लहरामा पनि बसेका थिए । सबैभन्दा बूढा र पाका सुगाहरू मञ्चमा बसेका थिए ।
कण्ठे सुगा बोल्यो, ‘सुगा सम्मेलनमा आउनुभएका सबै सुगा दाजुभाइ, दिदीबहिनीहरूलाई म स्वागत गर्दछु ।’ सबै सुगाहरूले परर ताली बजाए ।
त्यसै बेला खिरिलो बोली हुने मदना सुगा बोल्यो, ‘पर्खनुस् कण्ठे दाइ † सबैभन्दा पहिला म तपाईंलाई एउटा प्रश्न सोध्छु ।’
सबै अलमल्ल परे । कण्ठे सुगाले भन्यो, ‘हुन्छ । सोध्नुस् न । नबुझिएको कुरा सोध्नु राम्रै कुरा हो ।’
मदना सुगाले गाढा फुस्रो टाउको हल्लाउँदै भन्यो, ‘यो सुगा सम्मेलनको निम्तो सबै प्रजातिका सुगाकहाँ पुग्यो । मकहाँ भने किन पठाइएन ? मलाई किन हेपेको ? धर्के ढुकुरले नभनेको भए थाहा नै पाउँदिनथेँ ।’ मदना सुगालाई कण्ठेले निकै ठाउँमा खोजेको थियो । तर, कतै नभेटेपछि उसलाई निम्तो गएन । कण्ठेले यो कुरा बतायो । त्यसपछि सुगाहरूले सम्मेलनमा आफ्ना समस्याबारे छलफल चलाए । उनीहरूले सुगाहरूको हक र हितका लागि के–कस्तो कार्य गर्न सकिन्छ  भनी आ–आफ्ना विचार राखे । टुइँसी सुगाले भनी, ‘मानिसहरूले रूखको टोड्काबाटै हाम्रा बच्चा चोरेर लैजान्छन् । यसले गर्दा हामीले अग्लो र नदेखिने टोड्कामा बच्चा कोरल्नुपर्छ ।’
टुइँसीको कुरामा सबै सहमत भए । त्यसपछि पर्ण सुगाले भन्यो, ‘हाम्रा प्रजातिका सुगाहरू ज्यादै साना हुन्छौँ । त्यसैले अरू साना चराहरूले समेत हामीलाई हेप्ने गर्छन् । यसका लागि ठूला खाले सुगाहरूले उनीहरूलाई सम्झाइबुझाइ गरिदिनुपर्‍यो ।”
पर्ण सुगाको कुरा ध्यान दिएर सुनिरहेको ठूलो खाले कागभेला सुगाले भन्यो, ‘पर्णेको कुरा मनासिब हो । म यसमा सहयोग गर्न तयार छु ।’
बोल्ने पालो गुलाफीटाउके सुगाको थियो । गुलाफीटाउकेले भन्यो, ‘हाम्रो अभिलेखन उन्नाइसौँ शताब्दीमा मानिसहरूले गरेका छन् । हाम्रो संख्या थोरै छ । हामी चितवन र कोसी वरपरका क्षेत्रमा मात्रै बस्छौँ । अब सुगाको बारेमा पनि सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ । संसारमा धेरै चराका प्रजातिहरू लोप भइसके । हाम्रो संरक्षण कार्यमा पनि ध्यान पुर्‍याइयोस् ।’
गुलाफीटाउके सुगाले ज्यादै महत्त्वपूर्ण कुरा उठाएकामा सबैले उसको प्रशंसा गरे । यसरी पालैपालो सबै सुगाले आफ्ना कुरा राखे ।
सबैको कुरा सुनिसकेपछि प्रमुख अतिथि बनेको कर्रा सुगाले भन्यो, ‘साथीहरू † अहिलेको आधुनिक जमानामा हामीले नयाँ तरिकाले सोच्नुपर्छ । हामीले सञ्चारका साधनहरू मोबाइल र इमेलबाट पनि यस विषयमा कुराकानी जारी राख्नुपर्छ । हामीलाई गोठाला, मानिस, सर्प र अन्य कुराहरूले हानि पुर्‍याउन सक्छन् । जोखिम र शत्रु आउन लागेका बेला थाहा पाउनेहरूले एकले अर्कालाई जानकारी गराउनुपर्छ ।’
कर्राको कुरामा सबैले समर्थनमा ताली बजाए ।
सुगा सम्मेलन सकियो । सुगा सम्मेलन निकै उपयोगी भएको सबैले निष्कर्ष निकाले । सुगा सम्मेलन सकिएपछि सबैले आ–आफ्ना मोबाइल र इमेल साटासाट गरे । अनि छिट्टै फेसबुकमा भेट्ने वाचा गर्दै छुट्टिए ।

प्रतिक्रिया