धनी बन्ने लोभमा साथीको हत्या

काभ्रे, १६ वैशाख ।  ‘सानै उमेरमा धेरै पैसा कमाउने रहरले साथीको हत्या गरेँ,’ वाल्टिङ–७ का १९ वर्षीय विष्णु ठकुरीले भने, ‘योजना बनाएर नै हत्या गरेको हुँ ।’
शाहीले ९ वैशाखमा वाल्टिङ–८ का १६ वर्षीय श्याम भोम्जनलाई घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी गाउँमै तेजबहादुर ठकुरीको दूध डेरीमा दूध संकलन गर्थे भने भोम्जन एकरत्न घलानको  डेरीमा काम गर्थे । गाउँमा भोम्जनलाई सबैले विश्वास गरेको पनि शाहीलाई मन परेको थिएन । ९ वैशाखमा शाही दूध पुर्‍याएर फर्कदै गर्दा वाल्टिङकै टोप्लाङ ठूलो खोरिया जंगलमा साथीको हत्या गरेका हुन् । उनले भने, ‘भोम्जनलाई मार्न घरबाटै चक्कु लिएर गएको थिएँ, एकान्त जंगलमा उसलाई लडाएँ र घाँटी रेटेर मारिदिएँ ।’ भोम्जनले एकरत्न घलानको दुई लाख रुपियाँ र शाहीले तेजबहादुर ठकुरीको ६६ हजार चार सय ९७ रुपियाँ बोकेका थिए । साथीको हत्या गरेर शाहीले शव जंगलनजिकै फालेका थिए भने रकम घरमा लुकाएर राखेका थिए ।
गाउँमा दूध संकलन गर्ने भोम्जन नदेखिएपछि खोजी हुँदा जंगलनजिकै शव फेला परेको हो । प्रहरीले शाहीलाई नै प्रयोग गरेर हत्या भएको स्थान, संलग्न हतियार र लुटिएको रकम पत्ता लगाएपछि हत्याको आरोपमा पक्राउ गरेको हो । साथीलाई मारेर लुटेको रकममध्ये उनले दुई हजार रुपियाँमात्र खर्च गरेका थिए । काभ्रेका डिएसपी सुरेन्द्र मैनालीले भने, ‘एउटै काम गर्ने दुईमध्ये गाउँलेले भोम्जनलाई विश्वास गरेकामा शाहीलाई ईष्र्या भएको रहेछ र धनी बन्ने सपनाले हत्या गरेको पाइयो ।’ पैसाका लागि साथीको हत्या गरे पनि शाहीले पछुतो मानेका छैनन् ।

प्रतिक्रिया