न्युडायमन्ड र धनकुटा फाइनलमा

मन्थली : पाहुना टिम न्यु डायमन्ड एकेडेमी र धनकुटा जिल्ला खेलकुद विकास समिति प्रथम चण्डेश्वरी कप खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नेपालकी चर्चित खेलाडी रमिला तण्डुकारको कप्तानीमा न्यु डायमन्डले आयोजक चण्डेश्वरी युवा क्लबलाई ३–० को सोझो सेटले हराउँदै उपाधिनजिक पुगेको हो । न्यु डायमन्डले सहज जित हात पार्ने क्रममा २५–९, २५–७ र २५–६ ले नतिजा आफ्नो पक्षमा पारेको हो । यसअघि न्यु डायमन्ड लिगको अन्तिम खेलमा गोकुलगंगा उमाविलाई २५–८, २५–९ र २५–७ ले पाखा लगाउँदै समूहविजेताको हैसियतले सेमिफाइनलमा प्रवेश गरेको थियो ।
रामेछापको मन्थली बजारको जिविस मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा धनकुटा जिल्ला खेलकुद विकास समितिले गोकुलगंगा उमाविलाई ३–१ को सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । धनकुटाले पहिलो र दोस्रो सेट २५–११ र २५–५ ले आफ्नो पक्षमा पर्न सफल भए पनि तेस्रो सेट २२–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–११ खेल्दै नतिजा आफ्नो पक्षमा पार्दै न्यु डायमन्डसँग उपाधिका लागि भिड्ने भएको छ । यसअघि आयोजक चण्डेश्वरी युवा क्लबलाई लिगचरणको अन्तिम खेलमा २५–६, २५–९ र २५–७ ले हराउँदै समूहविजेताको रूपमा धनकुटा सेमिफाइनलमा प्रवेश गरेको थियो । (सौस)

प्रतिक्रिया