ठमेलमा रात्रिकालीन व्यवसाय २ बजेसम्म सञ्चालनमा रोक

काठमाडौं, १७ वैशाख । बिहान २ बजेसम्म खोलिने भनिएका ठमेल क्षेत्रका रात्रिकालीन व्यवसाय सुरक्षाका कारण रोकिने भएको छ । थप पूर्वाधार तयार नगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा शान्ति–सुरक्षामा असर पर्ने देखिएपछि २ बजेसम्म खोल्न भनिएका  रात्रिकालीन व्यवसाय तत्कालका लागि रोकिएको हो ।
ठमेल पर्यटन विकास परिषद्मार्फत रात्रिकालीन व्यवसायीले बिहान २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै १५ पृष्ठ लामो प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदन गत ७ चैतमां जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको थियो । प्रतिवेदनका केही बुादा संशोधन गरेलगत्तै कार्यान्वयनका लागि गृह मन्त्रालयमा लगिएको सहायक सिडिओ बलबहादुर मल्लले जनकारी दिए ।
प्रतिवेदनमा गजल बार, डान्स रेस्टुरेन्ट, लाइभ ब्यान्ड र अन्य रेस्टुरेन्ट एन्ड बार बिहान १ बजेसम्म खोलिने र डिस्को थेग भने बिहान २ बजेसम्म खोलिने उल्लेख छ । प्रतिवेदनमा व्यवसाय सञ्चालनका लागि व्यवसायीले तयार गर्नुपर्ने पूर्वाधार सूची पनि समावेश छ । प्रतिवेदनअनुसार पत्येक व्यवसायीले सिसिटिभी अनिवार्य जडान गरिने, ध्वनि प्रदूषण रोक्न साउन्डप्रुफ सिस्टम राखिने, पसलवरपर सडकबत्ती राखिने, व्यवसायआसपासका सडक २५ फिटसम्म चौडा गरिने, व्यवसायस्थलमा अग्नि नियन्त्रक ग्यास सिलिन्डर राखिने, खाद्यपदार्थमा मूल्यसूची टाँस गरिने भनिएको छ ।
व्यवसायीले पेस गरेका विवरणले मात्रै ठमेल क्षेत्रको शान्ति–सुरक्षा बहाली नहुने प्रहरीको दाबी छ । आपराधिक गतिविधिमा ८० प्रतिशत रात्रिकालीन व्यवसायबाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यस तथ्यलाई परिषद्ले पनि स्वीकार गरेको छ । प्रहरीका अनुसार रात्रिकालीन व्यवसाय २ बजेसम्म सञ्चालन गर्ने हो भने दुई सयको हाराहारीमा प्रहरी थप गरिनुपर्छ, त्यहीअनुसार आधुनिकीकरणसमेत गराउनुपर्छ ।
महानगरीय प्रहरीपरिसर काठमाडांैका प्रमुख एसएसपी राजेन्द्र श्रेष्ठले सुरक्षासाग सम्बद्ध बलियो आधार तयार नभई ठमेललाई २ बजेसम्म खोल्न दिन नहुने बताए । उनले भने, ‘आधार तयार नभई सञ्चालन गर्न दिए असुरक्षा बढ्छ ।’
प्रहरीका अनुसार राजधानीमा भएको संगठित अपराधको जालो ठमेलसँग जोडिन्छ । परिषद्का अध्यक्ष तेजेन्द्र श्रेष्ठ पनि ठमेलका मसाज सेन्टरमा यौन व्यवसायको रूपमा महिला बेचबिखन हुने बताउँछन् ।
प्रहरीका अनुसार मिर्जा दिलसाद वेग, जमिम साहलगायत व्यक्तिको हत्यामा संलग्न हुनेहरूले ठमेलमा नै बसेर योजना बनाएका थिए । एसएसपी श्रेष्ठले यही अवस्थामा रात्रिकालीन व्यवसाय २ बजेसम्म खोल्न दिइए अपराध अझ बढ्ने दाबी गरे ।
तथ्यांकअनुसार ठमेलमा अहिले दुई सय ५० देखि तीन सयको संख्यामा डान्सबार छन् । एक सयको हाराहारीमा क्याबिन सञ्चालनमा छन् । दोहोरी साँझको संख्या दुई सयजति छ । मसाज सेन्टर एक सय १५ वटा छन् ।

प्रतिक्रिया