माओवादी प्रस्तावको विरोध

काठमाडौं : प्रदेश बनाउँदा सुदूरपश्चिमलाई नटुक्रयाउन प्रमुख तीन दलसम्बद्ध सुदूरपश्चिमका नेताहरूले नेतृत्वलाई दबाब दिएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा माओवादी, कांग्रेस र एमालेमा आबद्ध नेताहरूले दलहरूले आफ्नो स्वार्थअनुकूल प्रदेश बनाए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिए । ‘काठमाडौंमा बसेका दुई/चारजना नेताले दिएको दान सुदूरपश्चिमेली जनता लिने पक्षमा छैनन्,’ माओवादी पोलिटब्युरो सदस्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘सेती–महाकालीलाई विभाजन गरी कसैले राजनीतिक स्वार्थ लिन खोजेको हो भने त्यो कल्पना मात्र हुनेछ ।’
एमाले केन्द्रीय सदस्य तथा महाकाली इन्चार्ज उर्वादत्त पन्तले सुदूरपश्चिमको मौजुदा संरचनालाई कसैले स्वार्थपूर्तिका लागि खण्डित बनाउन खोजे उसका लागि घातक हुने बताए । थरुहट वा एक मधेस एक प्रदेशका नाममा सुदूरपश्चिम विभाजित हुन नसक्ने दाबी उनले गरे । ‘सुदूरपश्चिमको मौजुदा संरचनालाई कसैले स्वार्थवश खण्डित गर्न खोज्छ भने त्यो उनीहरूकै लागि घातक हुनेछ,’ नेता पन्तले भने ।
कांग्रेस सभासद् रमेश लेखकले सुदूरपश्चिमको आफ्नै पहिचान भएकाले अविभाज्य रहनुपर्ने बताए । उनले सुदूरपश्चिमलाई खण्डित गरेर प्रदेश बनाउन प्रस्ताव गर्ने नेताहरूलाई मूर्खको संज्ञा दिए । ‘पहिचान र सामथ्र्यका आधारमा प्रदेश निर्धारण गर्ने कांग्रेसको बटमलाइन हो,’ सभासद् लेखकले भने, ‘सुदूरपश्चिम अविभाज्य हुनुपर्छ, विखण्डन गर्छु भन्नु नेताहरूको मूर्खता हो ।’
माओवादीले गरेको १० प्रदेशको प्रस्तावमा सुदूरपश्चिमलाई विभाजित गरिएको छ । उक्त प्रस्तावको विरोधमा सुदूरपश्चिमका बासिन्दा शुक्रबारदेखि सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया