महानगरपालिकाको योजना घोषणामै सीमित

काठमाडौं, १६ वैशाख । आर्थिक वर्ष २०६८/६९ मा सबै वडा कार्यालयबाट सवारीसाधन कर संकलनको व्यवस्था गर्ने काठमाडौ महानगरपालिकाको घोषित कार्यक्रम यस वर्ष पूरा नहुने भएको छ । महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा चालु आवभित्र सवारीसाधन कर वडा कार्यालयबाटै संकलनको व्यवस्था मिलाउने उल्लेख थियो । तर, चालु आवको अन्त्य हुन लागे पनि महानगरपालिकाले यसका लागि काम अघि बढाएको छैन ।
यो घोषणा कार्यान्वयन गर्न नसक्दा र कर संकलनमा जटिलता भएका कारण वार्षिक ६० लाख रुपियाँ मात्र सवारीसाधन करबापत राजस्व संकलन भइरहेको छ । सबै वडा कार्यालयमा कर बुझाउन अनिवार्य र सरलीकरण गरिदिने हो भने सामान्य अवस्थामा पनि एक करोडभन्दा बढी राजस्व संकलन हुने महानगरपालिका राजस्व शाखाका अधिकृत नमराज ढकाल बताउँछन् ।
हाल कर संकलन कार्य दोहोरो भएकाले सवारीधनीहरू कर तिर्न उत्साहित नभएको ठहर महानगरपालिकाको छ । यातायात व्यवस्था कार्यालय र महानगरपालिका दुवैतिर सवारीसाधन कर तिर्नुपर्ने भएकाले समस्या देखिएपछि त्यसलाई विकेन्द्रीकरण गरी वडा कार्यालयमै बुझाउन सकिने व्यवस्था गरिने योजना थियो ।
महानगरपालिकाले मोटरसाइकल र ठूला सवारीसाधनबाट एक सयदेखि तीन हजार रुपियाँसम्म सवारी कर लिन पाउँछ ।
सवारीधनीलाई कर तिर्न सजिलो होस् र कर रकम पनि वृद्धि होस् भनेर महानगरपालिकाले वडा कार्यालयमै कर बुझाउन सकिने व्यवस्था गर्ने भने पनि एक आर्थिक वर्ष छलफलमै बितेको छ । कर संकलनमा केही अनिवार्य र सरलीकरण गरिदिएर सरकारले सघाए सवारी कर राम्रोसँग संकलन हुने अपेक्षा कर्मचारीले गरेका छन् । ‘तर सरकारले यस विषयमा वास्ता गरेन,’ एक कर्मचारीले सौर्यसँग भने ।
सवारीधनीले कर स्थायी ठेगानाका आधारमा तिर्ने भएकाले पनि महानगरपालिकाको सवारीसाधन कर कम उठेको हो । कर शाखाका अधिकारीका अनुसार बाहिरी जिल्ला घर भएकाहरू महानगरपालिका क्षेत्रमा धेरै छन्, जसकारण कर रकम थोरै संकलन भएको हो ।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले यातायात व्यवस्था कार्यालय र महानगरपालिका मिलेर एकीकृत रूपमा एकै ठाउँबाट कर संकलनको पहल आफूले गरिरहेको बताए । वडा–वडामा गएर कर तिर्ने सम्भावना कम हुने भएकाले आफूले त्यसलाई महानगरपालिका वा यातायात दुईमध्ये एक ठाउँबाट कर संकलनका लागि प्रयास गरिरहेको बताए ।
चालु आवको नीतिमा त वडा कार्यालयमै सवारीसाधन कर बुझाउने व्यवस्था मिलाउने भन्ने थियो नि भनेर सौर्यले सोधेको प्रश्नमा कार्यकारी अधिकृत अधिकारीले त्यतातिर नजान आग्रह गरे । ‘जसरी बढी कर संकलन गर्न सकिन्छ त्यतातिर जाने हो, त्यसतिर म प्रयत्नशील छु ।’

प्रतिक्रिया