जात्राजस्तो माहोल

काठमाडौं, १७ वैशाख । भक्तपुर जिल्ला शिक्षा कार्यालयमा शनिबार एसएलसीको उत्तरपुस्तिका परीक्षणको दृश्य जात्राभन्दा कम थिएन । ‘फलामे द्वार’को उत्तरपुस्तिका परीक्षण व्यवस्थित र सुरक्षित हुन्छ भन्ठान्नेहरू त जिल्ल पर्ने अवस्था थियो । नपरून् पनि किन ? परीक्षकहरू बस्ने ठाउँ नपाएपछि कोही गाडीको हुटमा, कोही मोटरसाइकलको सिटमा, कोही कार्यालयको छतमा उभिएरै त कोही पेटीमा बसेर उत्तरपुस्तिका जाँचिरहेका थिए ।
एसएलसीको उत्तरपुस्तिका गोप्य र सुरक्षित ढंगले परीक्षण गर्नुपर्नेमा जिशिका भक्तपुरमा वातावरण भद्रगोल र अत्यन्तै अस्तव्यस्त थियो । शिक्षकहरू सडकपेटीमा बसेर समेत जाँच गरिरहेका थिए । त्यति मात्र होइन, ठाउँ अभावले जिल्ला शिक्षा अधिकारीको गाडीको हुटमा बसेर केही शिक्षक काम गरिरहेका थिए । कतिपय शिक्षकले विद्यालय तहका पुस्तक ओछ्याएरसमेत उत्तरपुस्तिका जाँचिरहेका थिए ।
उत्तरपुस्तिका परीक्षण गरिरहेका शिक्षकहरूले भने, ‘कार्यालयले उचित बस्ने स्थानको व्यवस्था नगर्दा जुन ठाउँ पाइन्छ त्यहीँ बस्न बाध्य भएका हाँै ।’ ठाउँ नपाइने हुनाले कतिपय शिक्षक बिहान पाँच बजे नै शिक्षा कार्यालय आइपुगेका थिए ।
भक्तपुरका जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीले शनिबार शिक्षकहरू धेरै आएकाले केही भिडभाड बढेको बताए । ‘शिक्षक साथीहरूले अरू बार पढाउनुपर्छ, शनिबार फुर्सद हुनाले उत्तरपुस्तिका जाँच्न धेरै आउनुहुन्छ,’ जिशिअ क्षेत्रीले भने, ‘ठाउँ अभाव भएपछि केही साथी बरन्डामा पत्रिका ओछ्याएर बस्नुभएको हो ।’
जिशिअ क्षेत्रीले शिक्षकहरूले जे–जस्तो सुविधा भए पनि उत्तरपुस्तिका परीक्षण गर्न दिन आग्रह गरेपछि त्यस्तो अवस्था आएको बताए । ‘समयमै उत्तरपुस्तिका परीक्षण सक्नुपर्ने भएकाले पनि उपलब्ध स्रोत–साधन प्रयोग गरी शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिएका हौँ,’ उनले भने, ‘अघिल्लो वर्ष १० हजार उत्तरपुस्तिका आएकामा यस वर्ष १६ हजार आएका छन् । यो अवसर पनि हो ।’
क्षेत्रीले योग्य शिक्षकलाई मात्र उत्तरपुस्तिका परीक्षण गर्न दिइएको दाबी गरे । कक्षा १० मा  पढाइरहेको विद्यालयको पत्र र शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र मागेर मात्र उत्तरपुस्तिका परीक्षण गर्न अनुमति दिइएको जिशिअले बताए ।
शनिबारबाहेक बिहान ४ देखि ९ बजेसम्म र साँझ ४ देखि आठ बजेसम्म शिक्षकहरू उत्तरपुस्तिका परीक्षण गर्छन् । शनिबार र बिदाको दिनमा भने बिहान ४ देखि साँझ ७ बजेसम्म उत्तरपुस्तिका परीक्षण हुने गरेको छ । ‘बिहान उज्यालो हुँदा आउनुहुन्छ, आँखा देखुन्जेल परीक्षण गर्नुहुन्छ,’ क्षेत्रीले भने, ‘बत्ती हुँदा अलि ढिलोसम्म परीक्षण गर्नुहुन्छ ।’
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भक्तपुर जिशिकामा उत्तरपुस्तिका परीक्षण गर्नेको भिड बढेको सूचना आएको र के–कसरी परीक्षण भइरहेको छ भन्नेबारे तत्काल अनुगमन गरिने बताए ।

प्रतिक्रिया