वृत्तान्त : रातो मच्छिन्द्रनाथ जात्रा

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ललितपुरको लगनखेलस्थित ‘बुँगद्य: न्हवं दवु’ अर्थात् मच्छिन्द्रनाथ स्नान डबलीमा ल्हुतीपूर्णिमाको भोलिपल्ट ‘बुँगद्य:’ अर्थात् रातो मच्छिन्द्रनाथको स्नान गरिन्छ । अहिले यही जात्रा भव्य रूपमा मनाइरहेका छन् पाटनवासी ।
मछिन्द्रनाथको स्नानलगत्तै पुल्चोकमा ३२ लक्षणले युक्त मच्छिन्द्रनाथको रथयात्राका लागि ३२ हात अग्लो रथको निर्माण सुरु गर्ने चलन छ । रथ विभिन्न किसिमका काठ तथा बेतको सहायताले बनाउने गरिन्छ । काठकै चुकुल राखी बेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ । पाटनको त:बहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित ३२ हात अग्लो रथमा आरोहण गराइने चलन छ । मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ । आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गा:बहाल  पुर्‍याइन्छ । प्रत्येक वर्ष अक्षय तृतीयाको भोलिपल्ट टंगालबाट मीननाथको समेत रथ तानी पुल्चोकसम्म पुर्‍याइन्छ । प्यागोडा शैलीमा निर्मित बत्तीस हात अग्लो रथलाई धूपी, ध्वजापताका आदिले सजाइन्छ । पुल्चोकबाट रथ गा:बहाल पुर्‍याई एक रात राख्ने चलन छ ।
०००
किंवदन्तीअनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथले नव नागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका  थिए । आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ ।
यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ । रथमा राखिएको तीन दिनपछि मच्छिन्द्रनाथको रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोकबाट सुरु हुने रथयात्राको पहिलो दिन रथलाई गा:बहाल पुर्‍याइन्छ । त्यहाँ एक दिन राखेर रथलाई सुन्धारातर्फ लगिन्छ । सुन्धारामा रथ लगिएपछि त्यहाँ देगु जात्रा मनाउने गरिएको छ । सुन्धारामा पुर्‍याइएपछि रथ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल पुर्‍याइन्छ । लगनखेल पुर्‍याइएपछि त्यहाँको दुलामाजु अर्थात् मच्छिन्द्रनाथकी आमा रहेको विश्वास गरिने स्थानमा एकपटक परिक्रमा गराएर रथलाई त्यहाँ राखिन्छ । लगनखेलमा रथलाई दुई दिन राख्ने गरिन्छ । लगनखेलबाट रथ तानिने दिनमा बलिपूजा गरिन्छ तर मच्छिन्द्रनाथले बलिपूजा स्वीकार नगर्ने भएकाले रथमा रहेका भैरवका लागि यो बलि दिइन्छ । लगनखेलबाट रथ लैजाने क्रममा दुलामाजुको दुईपटक परिक्रमा गराइन्छ ।
लगनखेलबाट रथलाई पोडेटोलमा पुर्‍याइन्छ । रथ पोडेटोल पुर्‍याइएको भोलिपल्ट साँझ रथको टुप्पाबाट नरिवल गुडाउने चलन छ । रथबाट खसालिएको नरिवल समात्ने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास छ । नरिवल गुडाउने दिनलाई जात्राको सफलताका लागि कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा पनि लिइन्छ । नरिवल गुडाइएको भोलिपल्ट बिहान एकल महिलाहरूले रथ तान्छन् र पोडेटोलकै चौदोबाटोसम्म पुर्‍याउँछन् । त्यहाँबाट रथलाई जावलाखेल लैजान साइत हेरिन्छ । रथलाई जावलाखेल लगिनु एकदिनअघिको राति रथबाट फेरि एकपटक नरिवल खसाल्ने चलन छ । जावलाखेलमा रथ पुर्‍याइएको तीन दिनपछि भोटो देखाएर जात्राको समापन गरिन्छ । त्यसको एक दिनअघि सातवटा गाउँका बासिन्दाले पूजा गर्ने चलन छ ।
अन्तिम दिनको बिहान अजिमाको पूजा गर्ने प्रचलन छ । त्यस्तै सोही राति एउटा तान्त्रिक पूजाको आयोजना गरिन्छ जसमा रथमा बस्ने पाञ्जुका पत्नीहरू पनि सहभागी हुन्छन् । भोटो जात्राको दिन साँझ पाञ्जुहरूले मच्छिन्द्रनाथको मन्दिरबाट भोटो ल्याई रथबाट चारै दिशामा देखाउने चलन छ ।
०००
लोककथन अनुसार, टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप सो रत्नजडित भोटो दिएका थिए । किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला  भोटो हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भिडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गरेको किंवदन्ती छ । दुईबीच भोटो खोसाखोस र विवाद परेपछि विवाद राजासँग पुर्‍याउँदा लिच्छवि राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाए र त्यसलाई देखाउने चलन बसाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन ‘यो भोटो कसको हो ?’ भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ ।
राजतन्त्र रहेको समयमा भोटो जात्राको अवलोकन राजाले गर्दै आएकामा हाल आएर राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले गर्ने गरेका छन् । मच्छिन्द्रनाथको सम्पूर्ण जात्रालाई जीवित देवीका रूपमा लिइने कुमारीले पनि अवलोकन गर्ने प्रचलन छ । प्रत्येक बाह्र वर्षमा एकपटक मच्छिन्द्रनाथको रथ ललितपुरको बुङ्मतीमा निर्माण गरी त्यहीँबाट रथयात्रा गर्दै पाटन नगर परिक्रमा गर्ने चलन पनि छ ।

प्रतिक्रिया