प्रेम व्यक्त गर्ने छापामार शैली

दाङ, १६ वैशाख । दैलेखका अन्जिरसिंह विक (२७) एक युवतीलाई कार्यक्रम प्रस्तोताका रुपमा मञ्चमा देखेपछि उनीप्रति आकर्षित भए । कुरो ०६० सालको हो । संकटकालका बेला तत्कालीन माओवादीको पार्टी एकतासम्बन्धी कार्यक्रम सञ्चालन हुंदै थियो । सल्यानको एक गाउँमा कार्यक्रम सञ्चालनको जिम्मा बटालियन कमान्डर संगीता चन्दले लिएकी थिइन् ।
अन्जिरले संगीतालाई त्यहीबेला चिठी लेखे, ‘तपार्इं र मेरो विचार एउटै छ कमरेड । हामी क्रान्तिमा होमिएका छाँै । देशमा परिवर्तन ल्याउने जोसका साथ बन्दुक बोकेका छौँ । कथंकदाचित भोलि एकअर्काबाट टाढा रहने अवस्था आयो भने पीडा नहुने गरी के हामी जीवनसाथी बन्न सक्छौँ ?’
उक्त चिठी आफ्नै कमान्डरमार्फत संगीताको हातमा पर्‍यो । संगीताले अन्जिरलाई एक सातापछि जवाफ फर्काइन्, ‘कमरेड नआत्तिनुस्, हामीसँग समय छ । हाम्रो यात्रा जारी छ, हामी क्रान्तिका क्रममा सँगसँगै हुनेछौँ । हाम्रो लक्ष्य एउटै, बाटो एउटै । त्यसैले केही समय पर्खनुस् । लालसलाम ।’
संगीताको चिठी आयो । अन्जिर खुसीले उफ्रिए । प्रेम प्रस्तावपछि ‘नआत्तिनुस्’ ‘हाम्रो यात्रा एउटै छ, केही समय बुझौँ’ वा ‘हामीसँग समय छ’ भन्ने उत्तर आउनाको अर्थ ‘म तिमीलाई माया गर्छु’ भन्ने हुन्थ्यो त्यसबेला । ‘बाहिरजस्तो ‘आई लभ यू’ त कसैले पनि भन्दैनथे,’ अन्जिर सम्झन्छन्, ‘हामीले पनि भनेनौँ ।’
‘एउटै चिठीले हाम्रो माया पक्कापक्कीजस्तो भयो,’ संगीता भन्छिन्, ‘तीन वर्षसम्म लगातार प्रेम गर्‍याँ ।’ त्यस अवधिमा उनीहरूले १४ वटा चिठी लेख्न भ्याएछन् । विस्तृत शान्ति सम्झौतापछि उनीहरू दुवैजना एउटै शिविरमा परेका रहेछन् ।
पाँचौ डिभिजनको शाखा दाङको दीर्घ स्मृति ब्रिगेड सक्राममा प्रेम झाँगियो । छुट्टिनु नपरे हुन्थ्यो भन्ने लाग्न थाल्यो । अनि दुवैले निवेदन लेखे, ‘कमरेड, हामी एकअर्काको जीवनसाथी बन्न चाहन्छौ । स्वीकार गरिदिनुहोला ।’ जहाँ दुवैजनाको व्यक्तिगत र पारिवारिक विवरण पनि लेखिएको थियो ।
कुरा ०६४ मंसिरको हो । प्लाटुन कमान्डरलाई परेका चिठीबाट छानेर एकैदिन २८ जोडीको विवाह भयो जहाँ अन्जिर र संगीताले पनि ‘जनवादी विवाह’ गरे । अहिले उनीहरू दुवैजना स्वेच्छिक अवकाश लिएर घोराहीमा बस्दै आएका छन् । उनीहरूसँग एक छोरी छिन् ।
युद्धमा लागेकाको अधिकांशको प्रेमकथा अन्जिर र संगीताको जस्तै रहेछ । ‘विवाह होस् वा एकअर्काबीचको प्रेम, लुकेर गर्न नपाइने पार्टीको नियम थियो,’ पाँचाँै डिभिजनका पूर्वसहकमान्डर दीपेन्द्रकुमार घर्ती भन्छन्, ‘कमान्डरसमक्ष सयौँ निवेदन पथ्र्योे ।’
घर्तीका अनुसार प्रेमका मात्र होइन धोकाको निवेदन पनि आउँथ्यो । युद्धका क्रममा महिला पनि धोकेबाज निस्कन्थे । श्रीमान्–श्रीमती भएका पनि अरुसँगै ‘अफेयर’ चलाउँथे । तब, समस्या आउँथ्यो । प्रेममा धोका दिनेलाई कारबाही के हुन्थ्यो त ? उनी भन्छन्, ‘श्रमको कारबाही, पद घटुवा आदि हुन्थ्यो ।’
पाँचाँै डिभिजनबाट अवकाश रोजेर बाहिरिएका काजेश चौधरी (२०) भने घर्तीको भनाइमा असहमति राख्छन् । प्रेम र धोकाकै कारण गरिएको भौतिक कारबाही सम्झिएर उनको आङ सिरिंग हुंदोरहेछ । ‘कुटाइ त कति खाए–खाए साथीहरूले, मर्ने गरी नै कुटिन्थ्यो,’ चौधरी भन्छन्, ‘त्यसैले मैले पार्टीभित्र रहँदा कसैसँग प्रेम गरिनँ, एउटा चिठी आएको थियो, मैले त नाइँ भनँ ।’
रुकुमकी लक्ष्मी केसी (२३) ले युद्धकै क्रममा एक युवकलाई मन पराइछन् । युवकले पनि उनलाई चाहन्थे रे † तर, शिविर बसाइ अवधिमा दुवैले विवाहको निवेदन लेख्न सकेनन् । केसी अहिले पाँचौँ डिभिजनबाट अवकाश रोजेर बाहिरिइसकिन् । उनको मनले खाएको मान्छे समायोजनमा गए । ‘अब सम्झिएर बस्नाको विकल्प छैन,’ उनी भन्छिन्, ‘न उनले भन्न सके, न त मैले नै ।’

प्रतिक्रिया