भिआइपीको घर फोर्दा जिल्लिन्छन् चोर

काठमाडौं, १६ वैशाख । मन्त्री वा सभासद्को घर फोर्न पाए ठूलै ‘माल’ हात पार्ने ठानेका हुन्छन् चोरहरूले । तर, कहिलेकाहीँ उनीहरू नराम्रोसित जिल्लिन पुग्छन् ।
‘खोदा पहाड, निकला चुहा’ भनेझैँ भएका छन् केही चोरीका घटना । भिआइपीहरूले घरमा पैसा र बहुमूल्य सामग्री नराख्ने भएकाले चोरले सोचेजस्तो धनराशि हात पार्न सक्दैनन् ।
विनाविभागीय मन्त्री राजलाल यादवको सानेपास्थित डेरामा चोरी भयो । १८ वर्षीय सरोज यादवसहित चारजनाको समूह लामो योजनापछि मन्त्री बस्ने डेरा प्रवेश गरेका थिए । कुनाकाप्चा सबै खोज्दा पनि कोठामा एउटा डेस्कटप कम्प्युटरबाहेक लैजान मिल्ने केही धनमाल फेला परेन । रन्थनिएका चोर बाथरुममा छिरे । मिहिनेत खेर जाने देखेपछि उनीहरू धाराकै टुटी टप्काउने निधोमा पुगे । अन्तत: एक सेट डेस्कटप कम्प्युटर, धाराको टुटी लिएर उनीहरू भागे । जम्माजम्मी उनीहरूले लगेका सामग्रीको बजारमूल्य ७५ हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ ।
सभासद् तिलक परियारको बानेश्वरस्थित डेरामा दिउँसै चोरी भयो । निकै दिनको जासुसीपछि सभासद् बस्ने डेरा पत्ता लगाएका थिए चोरले । डेरामा दिउँसो कोही नबस्ने भएकाले उनीहरूले दिउँसै कोठाको ढोका फोरे ।
कोठाको सबै झिटिगुन्टा खोलियो । सिरानीदेखि डस्नासम्म खानतलासी गर्दा कुनै गतिलो कुरा भेटिएन । फेला पर्‍यो नगद तीन सय रुपियाँ । लामो मिहिनेत खेर जाने देखेर रन्थनिए चोर । कोठाभित्र उनीहरूले पहिले देख्दै नदेखेको विदेशी रुपियाँ फेला पारे । त्यही भए पनि बोकेर हिँडे । प्रहरीका अनुसार चोरी भएको त्यो रकम भियतनामी वान थियो । उनीहरूले अन्तत: एक थान डिजिटल क्यामेरासहित करिब ५० हजार रुपियाँबराबरको धनमाल लगेको प्रहरीले जनाएको छ ।
सभासद् बिना ज्ञवालीको अनामनगरस्थित डेरामा दिउँसै चोरी भयो । घर सुनसान भएको मौकामा योजनाबद्ध रूपमा चोरहरू आएका थिए । ठूलै मिहिनेत लगाएर उनीहरूले ढोका फोरे । कोठाको दराजदेखि पलङको डस्नासमेत उचालेर धनमाल खोजी भयो । चोरले करिब एक तोलाबराबरको सुनको बाला र १७ हजार नगदबाहेक तत्काल लान मिल्ने धनमाल भेट्टाएन । अन्त्यमा टेबुलमा रहेको ल्यापटप बोकेर हिँडे । प्रहरीको अनुमानमा चोरले करिब साढे दुई लाख रुपियाँ चोरे ।
अर्का सभासद् रम्भादेवी यादवको गैरीगाउँस्थित डेरामा पनि चोरी भयो । प्रहरीका अनुसार आºनै भतिजाले यादवको ह्यान्डब्याग नै लिएर गायव भएका थिए । सभासद् यादवले एक लाख १५ हजार रुपियाँ, ३१ तोला सुन र ८ तोला चाँदी चोरेको दाबी गरेकी छन् । तर, उनीनिकटस्थ स्रोतका अनुसार दाबी गरिएजति चोरी भएको थिएन । स्रोतको तर्क छ, ‘ह्यान्डब्यागमा पनि त्यति धेरै धनमाल राखेर कोही हिँड्छन् ?’
दुई वर्षअघि वर्तमान उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको झम्सिखेलस्थित भुइँ तल्लाको कोठामा चोरी भएको थियो । चोर कोठाको दक्षिणतर्फको झ्यालको डन्डी झिकी बडो सावधानीका साथ कोठामा प्रवेश गर्‍यो । दराजको खापादेखि टेबुलको घर्रासम्म खोलियो । फेला पर्‍यो, सानो परिमाणमा नगद । प्रहरीका अनुसार उनीहरूले करिब ७५ हजार रूपियाँको धनमान लुटेका थिए ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी हिमालय श्रेष्ठले विशिष्ट व्यक्तिहरूले घर तथा डेरामा बहुमुल्य सामग्री नराखेकाले चोरले चाहेर पनि धनमाल लैजान नपाएको बताए । उनले भने, ‘भिआइपीहरू नगद कारोबार बैंकबाटै गर्छन्, त्यसैले उनीहरूको डिपोजिट बैंकमै हुन्छ ।’
डिएसपी श्रेष्ठका अनुसार कतिपय अवस्थामा सर्वसाधारण चोरी भएपछि वास्ताविकताभन्दा धेरै बिगोको मागदाबी गर्छन् । ‘तर भिआइपीहरूबाट त्यस्तो नभएकाले पनि थोरै बिगो देखिएको हुन सक्छ,’ डिएसपी श्रेष्ठले भने ।
मन्त्री तथा सभासद्का घरबाट चोरी भएका धनमाल फिर्ता हुन सकेका छैनन् । घटनामा संलग्न एक–दुईबाहेक कोही पनि पक्राउ परेका छैनन् ।

प्रतिक्रिया