जगेडा कर्मचारीको कुराकटाइ

काठमाडौं, १६ वैशाख । दिनभरि कुनै काम नगरी कुरा काटेर बसेको भरमा खुरुखुरु तलब खान पाइने सुविधा कहाँ होला ? उत्तर हो, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त (जगेडा) समूहमा । निजामती प्रशासनको ‘डम्पिङ साइट’ मानिने जगेडा समूह अल्छे र अकर्मण्य कर्मचारीका लागि स्वर्गतुल्य छ भने कामकाजी कर्मचारीका लागि नर्कबराबर ।
उपसचिव नारायणराज तिमिल्सिनालाई केही दिनअघिसम्म कामको चापाचाप हुन्थ्यो । प्रधानमन्त्री कार्यालयमा आर्थिक पूर्वाधार विकास महाशाखामा छँदा अतिरिक्त कमाइ पनि मनग्गे थियो । तर, आºनै कार्यालयमा चोरी गरेको काण्डपछि उनी जगेडामा फालिए । त्यहाँ न काम छ न त अतिरिक्त आम्दानी ।
तिमिल्सिनाको दैनिकी आजकाल सामान्य प्रशासन मन्त्रालयको क्यान्टिनमा गफिएरै बित्छ । बिहान ११ बजेपछि मन्त्रालय पुगेर अतिरिक्त समूहको कक्षमा प्रवेश गर्छन् र हाजिरीकपीमा हस्ताक्षर धस्काएर सोझै क्यान्टिनतिर लाग्छन् । क्यान्टिनमा उनीजस्तै फुर्सदिला कर्मचारीको जमात तयार हुन्छ । दुई/तीन घन्टा कुरा काट्दै बसिबियालो गरेपछि सबै घरतिर लाग्छन् । उपसचिव तिमिल्सिना भन्छन्,

‘सरकारले काम दिएको छैन, बस्ने कुर्सी छैन, अनि गफ नगरेर कसरी दिन बिताउने ?’ काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख सहसचिव गणेश राईको दिनचर्या पनि उपसचिव तिमिल्सिनाको भन्दा फरक छैन । सामान्यका एक अधिकारीका अनुसार राई सामान्यतया मध्याह्न १२ बजेपछि मात्र मन्त्रालय पुग्छन् । कार्यालय पुगेर हाजिर ठोकेपछि एक तला माथि उक्लेर सामान्य मन्त्रालयका सचिव तथा प्रवक्ताको कोठामा छिरेर आफूले कुनै काम नपाएको भन्दै गनगन गर्छन् । त्यसपछि उनी पनि क्यान्टिनतिरै लाग्छन् र चिया पिउँदै गफ चुट्न थाल्छन् ।
सामान्यको क्यान्टिनमा बसेर एक/दुई घन्टा भट्टराई नेतृत्व सरकारलाई सत्तोसराप नगरी धीत मर्दैन राईको । ‘यो सरकार छिट्टै ढल्छ,’ साथीहरूसँग उनी टेबुल ठटाइ–ठटाई भन्ने गर्छन्, ‘माओवादी नेताहरूको अब पत्तासाफ हुन्छ, यो मेरो अन्तरमनको आवाज हो ।’ उनको आक्रमणको तारो प्राय: प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्रकार हुने गर्छन् । ‘गोर्खाका बाहुन र केही पत्रकारले मलाई देखिसहेनन्, हेराँै कति दिन खनिँदा रहेछन् मविरुद्ध । मेरो पनि त दिन आउला नि,’ राईको चेतावनी हुन्छ । महानगरपालिकामा आर्थिक अनियमितता गरेको आरोपमा प्रधानमन्त्री भट्टराईले उनलाई केही महिनाअघि जगेडामा पठाएका थिए ।
सहसचिव राई अरू काम नभएपछि सरकारविरुद्ध साथीहरूसँग कुरा गरेर दिन कटाउनु अनौठो नभएको हाकाहाकी बताउँछन् । राईले सौर्यसँग भने, ‘काम नपाएको कर्मचारीले क्यान्टिनमा बसेर गफ गर्नु गलत होइन, भोलि तिनै कर्मचारीले सरकारविरुद्ध लाठी, मुंग्री, ढुंगा बोकेर आन्दोलनमा उत्रे भने के हुन्छ ?’ सहसचिवजस्तो व्यक्तिलाई बस्ने कुर्सीसमेत नभएको उनले गुनासो गरे । ‘अरूको कोठामा गएर बस्ने कुरा भएन,’ राईले भने, ‘सरकारले नै मासिक तलब दिएर आºनै कुरा काट्न लगाएपछि हामीले के गर्ने ?’
विभिन्न अभियोग लागेर कारबाहीमा परेका तथा राजनीतिक आस्थाका आधारमा जिम्मेवारीबाट वञ्चित गरिएका तीन सयभन्दा बढी कर्मचारी जगेडा समूहमा छन् । सामान्य प्रशासन मन्त्रालयभित्र जम्मा दुईवटा कोठा उनीहरूलाई दिइएको छ । दुई कोठामा ६ वटा टेबुल–कुर्सी छन्, ती पनि प्राय: खाली हुन्छन् । प्राय: कर्मचारी ११ बजेपछि आउँछन् । हाजिर गर्ने बेलामा भिडभाड भएर लाइनमै बस्नुपर्छ ।
हाजिर गरेपछि सबै कर्मचारी मन्त्रालयको क्यान्टिन तथा सँगै रहेको बगैँचामा टहलिएर समय बिताउँछन् । उनीहरू मन्त्रीले गैरकानुनी काम गरेको, हाकिमले घुस खाएको, कर्मचारीले जाँड खाएर होहल्ला गरेकोदेखि महिला कर्मचारी र अर्काको छोरी–बुहारीलाई आँखा लगाएको सम्मका गफ गरेर क्यान्टिन र बगँैचालाई गुञ्जायमान बनाउँछन् । क्यान्टिनका एक कर्मचारीका अनुसार जगेडामा रहेका कर्मचारीले विभागीय प्रमुखहरूको कुरा नकाटेको त दिनै हँुदैन । ती कर्मचारीले भने, ‘जगेडाका कर्मचारीका कारण हाम्रो व्यापार फस्टाएको छ, उनीहरूबारे किन नराम्रो कुरा गर्नु ?’
सामान्य मन्त्रालय स्रोतका अनुसार आर्थिक अनियमिता गरेको, कार्यालयमै मादक पदार्थ सेवन गरेको, काममा ढिलासुस्ती गरेको, कार्यालयको नेतृत्व गर्न नसकेको, कार्यालय प्रमुखलाई बिच्क्याएको, दलीय आस्थाका आधारमा मात्र काम गर्ने गरेको जस्ता अभियोगमा विभागीय कारबाही भोगिरहेका सह–सचिवदेखि सवारी चालकसम्मका कर्मचारी जगेडामा छन् । मन्त्रालयका अनुसार हाल जगेडामा रहेका सहसचिवमा विष्णुहरि पौडेल, कृष्णप्रसाद पौडेल, गणेश राई, रवीन्द्रमोहन भट्टराई, राजेन्द्र बज्राचार्य, पूर्णभक्त तण्डुकार, हिमनाथ दवाडी, गणेश पाण्डे, विनिता भट्टराई, हरि श्रेष्ठलगायत झन्डै दुई दर्जन छन् । त्यस्तै, रामप्रदास वाग्ले, जनकराज भट्ट, नारायणराज तिमिल्सिना, विष्णुप्रसाद कोइरालालगायत ६० जनाभन्दा बढी उपसचिव छन् ।
‘कामै नगरी तलब बुझ्ने बानी लाग्यो,’ हाजिरीपुस्तिका हस्ताक्षर गर्दै सहसचिव विष्णुहरि पौडेल अर्का कर्मचारीसँग भन्दै थिए, ‘अब कुनै कार्यालयमा गएर पनि राम्रो काम गरिएलाजस्तो छैन ।’ पौडेलको भनाइमा सही थाप्दै अर्का सहसचिव हिमनाथ दवाडीले भने, ‘कामै नगरी गफकै भरमा तलब बुझ्न पाएपछि किन काम गर्ने ?’
उपसचिव विष्णुप्रसाद कोइराला पनि सरकारको अकर्मण्यताले गर्दा आफूहरू जगेडामा थन्किनुपरेको दुखेसो सहकर्मीसँग पोखे । उनी भन्दै थिए, ‘हाकिमहरूले भनेअनुसार काम गरे राम्रो हुने, नत्र नहुने कसरी हुन्छ ? यो मुलुकमा राम्रो होइन हाम्रो मात्र हेरिन्छ ।’
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता केवलप्रसाद भण्डारीले अभियोग पुष्टि हुन बाँकी रहेका कर्मचारीलाई अतिरिक्तमा राखिने गरेको बताए । उनले भने, ‘अभियोग पुष्टि भएर कारबाहीमा परेकालाई भने अतिरिक्तमा राखिँदैन ।’ भण्डारीका अनुसार बढुवा भएर जिम्मेवारी नपाएका, लामो बिदामा बसेका, अध्ययनका लागि बिदेसिएका तथा दरबन्दी मिलान हुन बाँकी रहेका कर्मचारी पनि अतिरिक्तमा राख्ने प्रचलन छ । ‘नयाँ जिम्मेवारीमा पदस्थापन नहुन्जेल पनि कर्मचारी अतिरिक्त समूहमा आएर हाजिर गर्छन्,’ उनले भने ।
अतिरिक्तमा रहेका कर्मचारी व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘अतिरिक्तमा विभिन्न थरीका कर्मचारी छन्, कहाँ व्यवस्थापन गर्ने भन्ने समस्याले पिरोलिरहन्छ,’ उनले थपे, ‘एक त अतिरिक्तमा कामै हँुदैन, फाट्टफुट्ट भए पनि कर्मचारीहरू पन्छिन खोज्छन् । उनीहरू काम नगरी तलब खान बानी परेका हुन्छन् ।’
कर्मचारी नियमावलीअनुसार कुनै पनि सरकारी कर्मचारीलाई एक महिनाभन्दा बढी कामविहीन बनाएर राख्न पाइँदैन । तर, सामान्यमा एउटै ६ वर्षभन्दा बढी समय जगेडामा रहेको रेकर्ड छ । प्रवक्ता भण्डारीले भने, ‘कुनै कर्मचारी अध्ययन बिदामा जाँदा अतिरिक्त समूहमा राखिएको छ भने उसको हकमा लामो समय हुन्छ ।’ तर, स्वदेशमै रहेर पनि थुपै्र कर्मचारी दुई वर्षदेखि कामविहीन भएर जगेडामा थन्किएका छन् ।

प्रतिक्रिया