‘आर्थिक वृद्धिदर पाँच प्रतिशत’

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर पाँच प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । कृषि तथा पर्यटन, यातायत, सञ्चारलगायत मुलुकको समग्र आर्थिक अवस्थामा सुधार देखिएकाले आर्थिक वृद्धिदर विगतका तुलनामा बढ्ने भन्दै राष्ट्र बैंकले त्यस्तो प्रक्षेपण गरेको हो ।
गत आवमा मुलुकको आर्थिक वृद्धिदर तीन दशमलव आठ प्रतिशत थियो । एसियाली विकास बैंक, केन्द्रीय तथ्यांक विभाग र अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आवमा नेपालको आर्थिक वृद्धिदर करिब साढे चार प्रतिशतमा सीमित रहने जनाइरहेको समयमा मुलुकको केन्द्रीय बैंकले सो प्रक्षेपण गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको विश्वअर्थतन्त्र अनुमान ०१२ मा नेपालको आर्थिक वृद्धिदर सन् ०१२ मा चार दशमलव दुई प्रतिशत रहने अनुमान गरेको छ भने सरकारकै अर्को निकाय केन्द्रीय तथ्यांक विभाग र एसियाली विकास बैंकले साढे चार प्रतिशत रहने फरकफरक प्रक्षेपण गरेका छन् । सन् ०१३ मा यो दर घटेर तीन दशमलव आठ प्रतिशतमा सीमित हुने उसको अनुमान छ ।
नेपाल राष्ट्र बैंकको ५७ आँै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर डा. युवराज खतिवडाले समग्र मुलुकको आर्थिकस्थिति सकारात्मक विन्दुमा अघि बढिरहेको भन्दै आर्थिक वृद्धिदर बढ्ने बताए । सरकारले प्रस्तुत गरेको चालु आवको बजेटमा साढे पाँच प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखिए पनि मध्यावधि बजेट समीक्षामा सच्याएर पाँच प्रतिशत गरिएको थियो ।
गभर्नर खतिवडाले चालु आवको आठ महिनामा उपभोक्ता मुद्रास्फिति सात प्रतिशत र थोक मूल्य सूचकांकको वार्षिक विन्दुगत वृद्धिदर ६ दशमलव तीन प्रतिशत रहेको जनाए । गत वर्ष यी दरहरू क्रमश: १० दशमलव सात र १२ दशमलव चार प्रतिशत रहेका थिए । नेपाल राष्ट्र बैंकले मुद्रास्फिति सात प्रतिशतमा कायम राख्ने बताइरहेका बेला आइएमएफले भने मूल्यवृद्धि सात दशमलव आठ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
यस्तै, मुलुकको शोधनान्तर स्थिति हालसम्मकै उच्च ७९ अर्ब ९० करोडले बचतमा रहेको गभर्नर खतिवडाले जनाए । चालु आवको आठ महिनामा कुल वस्तु निर्यातमा १४ प्रतिशतले बढेको तथा आयात भने करिब १७ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । अहिले बैंक तथा वित्तीय क्षेत्रको निक्षेप परिचालन ९४ अर्बले वृद्धि भई चालु आवको फागुन मसान्तसम्म नौ सय १७ अर्ब पुगेको र कर्जाप्रवाह तथा लगानी ७३ अर्ब विस्तार भई नौ सय २८ अर्ब पुगेको गभर्नर खतिवडाले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले चालु आवको आठ महिनामा विदेशी विनिमय संचिति ०६८ असार मसान्तको तुलनामा ३५  दशमलव तीन प्रतिशतले वृद्धि भई तीन सय ६८ अर्ब १० करोड पुगेको जनाएको छ । यो संचितिको वर्तमान स्तरले १० महिनाको वस्तु आयात र नौ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने जनाएको छ ।
चालु आवको नौ महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट २४ अर्ब ६० करोडले बचतमा रहेको खतिवडाले जनाए । राजस्व परिचालनका तुलनामा कुल सरकारी खर्च न्यून रहन गएकाले सरकारी बजेट बचतमा रहेको हो । कार्यक्रममा डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रलाई सहज बनाउनेतर्फ केन्द्रीय बंैकले कुनै कसर बाँकी नराखेको बताए ।

प्रतिक्रिया