जुँगाले छेक्ला त ?

पुरानो उखान, खाने मुखलाई जुँगाले छेक्दैन † नयाँ समस्या, घुस खानेलाई जुँगाले छेक्ला त ? हाम्रा वर्तमान प्रधानमन्त्रीबाट यो देशका जनताले आवश्यकताभन्दा बढी नै आशा गरे, अपेक्षा गरे र क्यै नपाएपछि उपेक्षा पनि गरिछाडे । यसरी उपेक्षित भएपछि सम्माननीय प्रधानमन्त्रीले राजनीतिक संस्कृति र परम्पराअनुसार एउटा आयोग गठन गरे अनि हरेक समस्यामा फिट हुने फर्मुलाअनुसार प्रधानमन्त्री ढुक्क भएर बसे । यसरी गठित भ्रष्टाचार निवारण आयोगमा अदालतद्वारा प्रमाणित र दण्डित भइसकेका भूतपूर्व भ्रष्टाचारीहरूलाई ससम्मान समावेश गरियो । यस्ता भूपू ढाक्रे भ्रष्टाचारीहरू पनि पुन: ‘देशसेवा’ गर्न पाइयो भन्दै आयोगका आसनमा आसीन भए र मुख मिठ्याए ।
बेकम्मा संविधानसभाजस्तै यस आयोगले पनि थोरै काम र धेरै हल्ला गर्‍यो । बिचरा इमानदार र नैतिकवान् भनिने प्रधानमन्त्रीले बारम्बार आयोगको म्याद थप्दै गए । भत्ता भसक्कै हसुरिसकेपछि एउटा खोस्टो ‘प्रतिवेदन’ भनेर प्रमलाई बुझायो । यस्तो सारगर्भित र तुरुन्त लागू गर्नुपर्ने प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले मसक्क आफ्नै जुँगा मुसारेर हिसिलातिर हेरे । कर्मचारी नभएको कारणले हिसिलाले लिपिस्टिक लगाउनु नपर्ने कुरा सम्झे तर बाबुराम फेरि झस्किए । प्रतिवेदन बुझाउन गएकाहरू समक्ष डा. सा’बले सावधानीपूर्वक आयोगका महानुभावप्रति लक्षित हुँदै भने कि यति राम्रो प्रतिवेदन आजसम्म कसैले लेखेको थिएन ।
योभन्दा अगाडिका आयोगले तयार गरेका प्रतिवेदन सबै दराजमा सुरक्षित छन् । यसलाई पनि नयाँ दराज किनेर अति सुरक्षितसाथ राख्न मुख्य सचिवलाई निर्देशन दिन्छु । तपाईंहरूले परिश्रम र अमूल्य समय खर्च गरेर भ्रष्टाचारमा शून्य सहनशीलताको मेरो नीतिलाई मूर्तरूप दिन सहयोग गर्नुभएको छ । यसका लागि म तपाईंहरूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । उक्त प्रतिवेदनका मुख्य अंशहरू यहाँ जस्ताको तस्तै दिइन्छ ।
(क)    भ्रष्टाचार गर्नुलाई पहिले अत्याचार र दुराचार मानिन्थ्यो, अचेल भ्रष्टाचारलाई शिष्टाचार र सदाचार मानिन्छ । त्यसैले भ्रष्टाचारीसँग हामीले शिष्ट व्यवहार गर्नुपर्छ । तथापि भ्रष्टाचारीसँग हामीले शिष्ट व्यवहार गर्नुपर्छ ।
(ख)    अब उप्रान्त सबै पुलिंग कर्मचारीले जुँगा राख्नै पर्छ । चोर बिरालोको जुँगामा दूध, दही टाँसिएजस्तै घुस्याहा कर्मचारीको जुँगामा पनि घुसको क्यै न क्यै अंश अवश्य टाँस्सिएकै हुन्छ । यसले गर्दा भ्रष्टाचारीका विरुद्धमा अनुसन्धान गर्न सरकारलाई सजिलो हुन्छ । यसले गर्दा भ्रष्टाचार गर्ने कर्मचारी आफ्नो कुकर्मबाट सजिलै उम्कन सक्ने अवस्था रहँदैन ।
(ग)    महिला कर्मचारीको हकमा अलिकति भिन्न व्यवस्था गरिएको छ । महिला कर्मचारी सबैले अनिवार्य रूपमा लिपिस्टिक लाउनैपर्छ । कार्यालयबाट बाहिर निस्कँदा महिला कर्मचारीको ओठमा लिपिस्टिक छैन भने महिला कर्मचारीले पनि घूस खाएको ठहर्छ । सोहीअनुसार ती महिला कर्मचारीलाई पनि कानुनी कारबाही भई जानेछ ।
(घ)    जुँगादार पुरुषले घुस खाँदा जुँगाबाट फिल्टर नभएर घुस भित्र जाने हुनाले घुस्याहाको स्वास्थ्य राम्रो भए पनि राष्ट्रको स्वास्थ्य बिग्रने हुनाले जुँगा जाँच्नलाई आवश्यक मेसिनको प्रयोगसमेत गर्न सकिन्छ । त्यति गर्दा पनि पत्ता लाग्न सकेन भने जुँगाको ‘वायप्सी’ पनि गर्न सकिन्छ ।
(ङ)    महिला कर्मचारीको हकमा भने निजका श्रीमान् सोही कार्यालयमा कार्यरत छन् भने समय–समयमा एक्सरे गरी श्रीमान्को भुँडीभित्र कति लिपिस्टिक जम्मा भएको छ । सोको जाँच गरी आवश्यक कारबाही हुनेछ ।
(च)    कर्मचारीको शारीरिक र आर्थिक स्वास्थ्यमा अकस्मात् अप्रत्यासित सुधार देखियो भने पुरुष भए निजको जुँगा, आँखीभौँ र शिरको केशसमेत खौरेर सूक्ष्म परीक्षणका लागि विदेशका साधनसम्पन्न प्रयोगशालाहरूमा पठाइनेछ । यसरी देशको ‘अर्थतन्त्रको ठूलो शत्रु भ्रष्टाचारको उछित्तो गर्न सकिनेछ ।
(छ)    पुरुष कर्मचारीको जुँगा जति बाक्लो हुन्छ, अर्थात् कर्मचारी जति बढी जुँगामुठे हुन्छ उसको प्रमोसन हुने सम्भावना भयंकर रूपमा हलक्क बढेर जान्छ, मानव मलले फस्टाएको लामघारे मूला जस्तै ।
(ज)    पुरुषले आफ्नो जुँगा विभागीय अनुमतिविना नै खौरिएको प्रमाणित भएमा सो पुरुष कर्मचारी भ्रष्टाचारको ठाडो कारबाहीमा पर्नेछ । यसमा भनसुन लाग्ने छैन ।
(झ)    तर किरियापुत्रीका लागि भने दफा ज लागू हुने छैन ।
(ञ)    यति गर्दा पनि भ्रष्टाचार रोकिएन भने हामी आयोगमा बसेका सबैले सामूहिक रूपमा आ–आफ्नो जुँगा खौरेर फ्याँक्ने छौँ ।

प्रतिक्रिया