नैनारेसम उपत्यकामा, भइहाल्छ नि देशभर

काठमाडौ,१५  वैशाख । अघिल्लो शुक्रबार इकु ब्याक अगेनले सिंगल रिलिजको अवसर पाए पनि यस हप्ता भने दुई चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । आज शुक्रबार चलचित्र नैनारेसम र भइहाल्छ निले दर्शक तान्न होडबाजी गर्ने भएका हुन्  । नैनारेसम आरबिके शरदले निर्देशन गरेका हुन् भने भइहाल्छ नि का निर्देशक एमएस अग्रज हुन् । यीमध्ये नैनारेसम काठमाडौं उपत्यकाबाहिर यसअघि नै प्रदर्शन भएको छ भने भइहाल्छ नि बिल्कुलै नयाँ हो । नयाँ र पुरानो दुवै धारलाई फ्युजन गरेर बनाइएको भनिएको यो चलचित्र  उपत्यकासहित देशभर प्रदर्शनमा आउने भएको हो । भइहाल्छ नि मा सुमन सिंह, गरिमा पन्त, सोनिया केसी, सुनिल थापा, अशान्त शर्मा, सुवास कार्की, कमलकृष्ण, नवनायक विशाल पोखरेललगायतका कलाकार मुख्य भूमिकामा छन् । कलर्स मुभी एन्टरटेमेन्ट प्रालिको ब्यानरमा आरके पाण्डे र दिनेश अधिकारीले यसको निर्माण गरेका हुन् भने गोविन्दमधुर शर्मा र यादव योगीको संगीत तथा हरि हुमागाईंको छायांकन छ । नेपाली समाजभित्रकै राम्रा/नराम्रा विषयलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएकाले चलचित्रले राम्रो व्यवसाय गर्नेमा ढुक्क रहेको निर्माण समूह बताउँछ ।
त्यसै गरी विराज भट्ट र निशा अधिकारीको मुख्य भूमिका रहेको नैनारेसम अजितजङ्ग राणाले निर्माण गरेका हुन् । मायाप्रेमका अलावा सामाजिक विषयवस्तु समेटिएको चलचित्रमा वसन्त सापकोटाको संगीत छ । मोफसलको प्रदर्शनकै क्रममा यसको ढल्क्यो ढल्क्यो गीतले निकै लोकप्रियता पाएको थियो । उपत्यकाबाहिर आंशिक सफल भएको दाबी गर्दै निर्माण पक्षले उपत्यकामा पनि राम्रै हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया