सुझाब लिन एमाले बैठक आज

काठमाडौं : एकीकृत नेकपा (माओवादी)ले पूर्वसहमतिविपरीत बिहीबार राज्य पुन:संरचनाको नयाँ प्रस्ताव ल्याएपछि नेकपा (एमाले)ले शुक्रबारका लागि केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको छ ।
राज्य पुन:संरचना र शासकीय स्वरूपबारे केन्द्रीय सदस्यहरूसँग अन्तिमपटक सुझाब मागेर दलीय वार्तामा जाने तयारीस्वरूप बैठक बोलाइएको सचिव युवराज ज्ञवालीले बताए । ‘राज्य पुन:संरचना र शासकीय स्वरूपबारे अन्तिम सुझाब लिएर वार्तामा जाउँm भनेर बैठक बोलाइएको हो,’ ज्ञवालीले सौर्यसँग भने ।
प्रमुख दलहरूबीच निर्वाचन प्रणालीमा भएको सहमतिबारे पनि पार्टीमा असन्तुष्टि छ । नयाँ संविधानमा ठूलो आकारको संसद्को व्यवस्था राख्ने गरी दलहरूबीच भएको तयारीप्रति सभासद् र केन्द्रीय सदस्यहरूले आपत्ति जनाउँदै आएका छन् । पहिचान र सामथ्र्यका आधारमा ६ देखि ८ प्रदेश बनाउने गृहकार्य भएपछि आदिवासी जनजाति पृष्ठभूमिका नेताहरूले भने पहिचानका आधारमा प्रदेश नबनाए विद्रोह गर्ने चेतावनी दिइसकेका छन् ।
यस्तै, मुलुकमा दुई शक्तिकेन्द्र हुने गरी मिश्रित शासकीय स्वरूपमा नजान पनि नेतृत्वलाई एमाले सभासद्हरूले दबाब दिएका छन् । पार्टीका सभासद्हरूले संसद्को आकार घटाउनुपर्नेलगायतका माग राखी नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाउने तयारीसमेत गरेका छन् । प्रत्यक्ष निर्वाचित आलंकारिक राष्ट्रपति र संसद्बाट निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीमा शीर्ष नेताहरूबीच अनौपचारिक सहमति भएपछि सबै दलमा असन्तुष्टि बढेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्ले निर्वाचित गरेको आलंकारिक राष्ट्रपतिको आधिकारिक लाइन भए पनि मिश्रित प्रणालीमा जान नेताहरू तयार देखिएपछि एमालेमा पनि असन्तुष्टि बढेको हो ।
‘सहमतिका नाममा उँटजस्तो प्रणालीमा गएर मुलुकमा दुई शक्तिकेन्द्रको झगडा गराउनुहुँदैन,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘बरु प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई नै कार्यकारी बनाए हुन्छ ।’ (सौस)

प्रतिक्रिया