धेरै सभासदको संख्या मुलुकले धान्न सकदैन

काठमाडौं, १४ वैशाख । बिभिन्न राजनीतिक दलका नेताहरुले नयाँ संविधानमा व्यवस्था गर्न लागीएको सभासदको संख्या मुलुकले धान्न नसक्ने बताएका छन् । उनीहरुले सभासदको संख्या कम गराउनु पर्ने माग गरेका छन् ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ६ सय १ ‘जम्बो’ सभासदको आलोचना भैरहेका बेला फेरीपनि ३ सय ८५ जना सभासदको संख्या बनाएर मुलुकलाई गरिव बनाउन लागेको आरोप लगाए ।
राजधानीमा आज आयोजित कार्यक्रममा नेता केसीले ३ सय ८५ जना सभासदको भेँडी गोठलाई धान्न राज्यले नसक्ने रहेको बताए । उनले भने, ‘३ सय ८५ सभासद्लाई धान्न नसक्ने अवस्थामा १४  प्रदेश मुलुकका लागि अभिसाप हुन्छ ।’
उनले मुलुकका लागि संघीयता घातक हुने दावी गरे ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले शासकीय स्वरुप, निर्वाचन प्रर्णालीलगायतका विषयहरु प्रदेशको टुङ्गो लागेपछि मात्र छलफल गर्नुपर्ने बताएका छन् ।
उनले राज्य पुनर्संरचना गर्दा जातीयताको आधारमा नभै भौगोलिकताको आधार हुनुपर्ने जिकिर गरे ।
नेता श्रेष्ठले कांग्रेस बाबुराम भट्टराई नेतृत्वको सरकारमा नजाने बताएका छन् । उनले जेठ–१४ गते भित्र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।
एमाले प्रमुख सचेतक भीम आचार्यले लोकतन्त्रमा अग्राधिकार, आत्मनिर्णयको अधिकार तथा जातीय प्रदेश सम्भव नरहेको बताए ।
आचार्यले ३ सय ८५ जना सभासद संख्या ठूलो रहेको भन्दै कम गर्नुपर्ने बताए ।
सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले जातीय पहिचान नभएकै कारणले मधेशीहरुलाई भारतीय भनेर लखेट्ने गरेको बताए ।

प्रतिक्रिया